खाद्यान्न सामग्री हस्तान्तरण गरिँदै ।

हेटौंडाः नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् कांग्रेस मकवानपुरका पार्टी सभापति ईन्द्रबहादुर बानियाँले ज्याला मजदुरी गर्ने र घरेलु हिंसाबाट प्रभावित १५ जना महिलाहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ । कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण दैनिक गुजारा गर्न समस्या परेकाहरुलाई लक्षित गरी माईती नेपाल हेटौंडाको संयोजनमा नेता बानियाँले सोमबार खाद्यान्न सहयोग गर्नुभएको हो ।

प्रतिपरिवार चामल २५ किलो, तेल २ लिटर, नुन दुई प्याकेट, दाल ३ किलो, चना २ किलो, चिउरा ५ किलो, चिनी ३ किलो, चियापती एक प्याकेट, मस्यौरा दुई प्याकेटलगायतका खाद्य सामग्री सहयोग गरिएको छ । खाद्य सामग्री हस्तान्तरण गर्नुहुँदै नेता बानियाँले कोरोना महामारीको विषम् परिस्थितिमा श्रम गरेर खाने महिलाहरुलाई परेको असरलाई थोरै भएपनि राहत होस् भनेर माईती नेपाल मकवानपुरको समन्वयमा सहयोग गरेको बताउँदै आगामी दिनमा यसरी ज्याला मजदुरी गर्ने र घरेलु हिंसाबाट प्रभावित महिलाहरुलाई रोजगारीका लागि विशेष पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा माईती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामा, फिल्ड सुपरभाइजर मन लामा, महिला मुक्ति मञ्च मकवानपुरकी अध्यक्ष उर्मिला लटौलालगायतले नेता बानियाँलाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै मकवानपुरमा ज्याला मजदुरी गर्ने र घरेलु हिंसाबाट प्रभावित महिलाहरुको अवस्था बारे जानकारी गराउनुभएको थियोे ।