हेटौँडा : चितवान जिल्लाको भरतपुर महानगरपालिका–२९, चौधकिलोस्थित त्रिशूली नदीमा कोइला बोकेको ट्रक अनियन्त्रित भई खस्दा चालकको मृत्यु भएको छ । मंगलबार बिहान ६ बजेर ३५ मिनेटको समयमा मुग्लिङ–नारायणगढ सडक खण्डमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख ४८०४ नम्बरको ट्रक अनियन्त्रित भई त्रिशुली नदीमा खसेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा चालक रौतहट जिल्ला सखुवाका ३५ वर्षीय रामनारायण यादव सिटमा च्यापिएको अवस्थामा फेला परेका थिए भने सह–चालक रौतहटको गरुडा नगरपालिका–५ का १९ वर्षीय असुन्द्र कुमार यादव नदिमा डुबेको अवस्थामा फेला परेका थिए । चालक र सह–हचालक दुवैलाई उपचारका लागि चितवनस्थित सरकारी अस्पताल भरतपुर लगिएको थियो । उपचारको क्रममा चालक यादवको बिहान ८ बजेर २० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सह–चालकलाई थप उपचारका लागि नयाँ मेडीकल कलेज भरतपुर रिफर गरिएको छ ।