हेटौंडाः हेटौंडामा जारी दोस्रो संस्करणको एएफयु ७ ‘ए’ साइड महिला फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । आयोजक टिम हेटौंडास्थित वन विज्ञान संकाय र कास्कीको प्राकृतिक श्रोत व्यवस्थापन क्याम्पस पुरनचौरबिच फाइनल खेल हुने भएको हो ।

मंगलबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेलमा प्राकृतिक श्रोत व्यवस्थापन क्याम्पस पुरनचौरले प्राकृतिक श्रोत व्यवस्थापन क्याम्पस मरिणलाई टाइब्रेकरमा हराउँदै फाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा वन विज्ञान संकायले प्राकृतिक श्रोत व्यवस्थापन क्याम्पस पाख्रिबासलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । प्राकृतिक श्रोत व्यवस्थापन क्याम्पस पाख्रिबासलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले हराउँदै आयोजकले जीत निकालेको हो । प्लेयर अफ द म्याच आयोजक टिमका गोलकिपर मोनिका पल्ली मगर भइन् ।

नकआउट प्रणालीमा भएको प्रतियोगितामा वनविज्ञान संकाय अन्तर्गत रहेका आंगीक र सम्बन्धन प्राप्त ९ वटा कलेजको महिला टिमको सहभागिता रहेको छ । गतवर्ष पहिलो संस्करणको प्रतियोगिता चितवन जिल्लामा सञ्चालन भएको थियो । प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।