हेटौंडाः मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१२ स्थित धेद्रे खोलामा निर्माण गरिएको झोलुङ्गे पुल उद्घाटन गरिएको छ । स्थानीय कालभैरब आधारभूत विद्यालयका विद्यार्थीको सुविधाका लागि निर्माण गरिएको झोलुङ्गे पुल सोमबार उद्घाटन गरिएको हो ।
गत वर्ष चाइल्ड रेस्क्यु नेपाल युकेको ४० लाख रुपैयाँ सहयोगमा पुल निर्माण गरिएको हो । पुल निर्माणका लागि बकैया गाउँपालिकाले प्राविधिक सहयोग गरेको छ । गत वर्ष संस्थाका पदाधिकारी कालभैरब विद्यालय अनुगमनमा आउँदा विद्यार्थी र स्थानीयबासीलाई वर्षायाममा आवतजावत गर्न कठिन भएको देखेपछि गत भदौमा पुल निर्माण सुरु भएको थियो ।
‘विद्यालय आउने जाने बाटोमा पुल नहुँदा वर्षायाममा विद्यार्थीलाई खोलाले बगाउने हो कि भनेर अभिभावक चिन्तामा बस्नुपर्ने अवस्था अन्त्य भएको कालभैरब आधारभूत विद्यालयका प्रधानाध्यपक चेतबहादुर घलेले बताउनुभयो । छोटो समयमा पुल निर्माण गरिदिएको भन्दै उहाँले सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । हाल विद्यालयमा २० जना विद्यार्थी र ३ जना शिक्षक छन् ।
वडा अध्यक्ष ज्ञानेन्द्र बजगाईंको सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्री, पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, चाइल्ड रेस्क्यु नेपाल युकेका कार्यकारी प्रमुख जोअना बेगालको विशिष्ट आतिथ्य थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पालिका अध्यक्ष लामिछानेले स्थानीय सरकारको दायित्व धेरै भएको तर केन्द्रीय सरकारले काम गर्ने वातावरण नबनाएको बताउनुभयो । स्थानीय सरकार र जनताको प्रत्यक्ष सम्पर्क हुने भएकाले स्थानीय सरकारसमक्ष सबै खालका समस्या आउने भएकाले सकेको समाधान गर्ने र नसकेको माथिलो निकायसम्म र्पुयाउने उहाँले बताउनुभयो ।
चाइल्ड रेस्क्यु नेपाल युकेका कार्यकारी प्रमुख बेगाले विद्यालयका विद्यार्थीलाई काँधमा बोकेर खोला तारिरहेको तस्वीर देखेपछि संस्थाले पुल निर्माणका लागि सहयोग गरेको जानकारी दिनुभयो । संस्थाले विद्यालय भवन निर्माण गरेर शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको उहाँको भनाइ छ ।