वंशगोपाल मावि हेटौंडाका प्रधानाध्यापक (प्रअ) रमेशप्रसाद लामिछान

१. सन २०१९ डिसेम्वरको अन्तिम सातामा चिनको वुहान शहरमा उब्जिएको कोरोना भाईरस पछि कोभिड—१९ नामाकरण गरिएको हो । यस भाईरसकै कारणबाट झण्डै १६ महिनाको अवधिमा ३२ लाख ६० हजार भन्दा बढि मानिसको ज्यान लिईसकेको तथ्याङ्क बाहिर आएको छ । नेपालमा २०७६ साल चैत्र ११ गतेबाट लकडाउन गरिएको थियो । उक्त लकडाउनको ५४औं दिनमा २०७७ जेठ ३ गते कोरोना भाईरसको कारणबाट काभ्रे, धुलिखेलकी महिलाको मृत्यु घोषणा नै पहिलो केस भए पश्चात लगभग १ वर्ष पुग्नै लाग्दाको अवस्थामा आईपुग्दा यो भाईरसको दोश्रो भेरियण्ट समेतको कारणले नेपालमा ३७ सय भन्दा बढि ब्यक्तिको निधन भै सकेको छ । झण्डै पौने चारलाख ब्यक्ति संक्रमित भएको भनिए पनि पौने लाख मात्र सक्रिय संक्रमित केस रहेको र तिन लाख भन्दा बढि ब्यक्ति निको भैसकेको सरकारी तथ्याङ्क बाहिर आएको छ ।

२. कोभिड—१९ को विश्वब्यापि महामारीले नेपाल मात्र नभै भारत, अमेरिका, ब्राजिल, मेक्सिको, ईरान, रसिया,युके, फ्रान्स लगायतका राष्ट्रहरुमा ठूलो मानविय क्षतिको अतिरिक्त शिक्षा, स्वास्थ्य, उद्योग, ब्यवसाय, पर्यटन, समेत विकास निर्माणका कामहरु अस्तब्यस्त भएका छन् । मानविय क्षति न्यून गर्ने तर्फ सबैको ध्यान गएको छ र जानुपर्छ । मानव स्वास्थ्य सबैभन्दा महत्वको अहम सवाल हो । जिवन नै नरहे अरु कुराको अर्थ रहँदैन । यस विषम र पिडाजनक अवस्थामा सरकारको जिम्मेवारपूर्ण अभिभावकत्वको अपेक्षा आम नागरिकको स्वभाविक आवाज हो ।

स्वास्थ्य सावधानीका सवालहरु, आवश्यक औषधीहरुको उपलब्धता, पर्याप्त डाक्टर तथा नर्सहरुको ब्यवस्था, अस्पतालहरुको प्रभावकारि ब्यवस्थापन लगायतका विषयहरु यसबेला राज्यको प्राथमिकतामा पर्नुपर्छ । नागरिक सचेतना र सावधानीको भूमिका अर्को सामयिक शिर्ष सवाल हो । प्रत्येक स्थानिय तहमा महामारीको लागि भिन्न अस्थायी सेवाकेन्द्र ब्यवस्थापन र संचालन गर्नैपर्छ । स्वास्थ्यकर्मीहरुको सेवा र पहुँचमा तिनैतहका सरकारको समन्वयकारी भुमिका देखिनु पर्दछ । अहिले कुरा र भाषण हैन, काम र ब्यवहारबाट नतिजा देखाउनु पर्दछ । अत्यावश्यक बाहेकका खर्च कटाएर स्वास्थ्य सेवाका शिर्षकहरुमा खर्च गर्ने तत्परता हुनैपर्दछ ।

३. अक्सिजनको अभावमा अनि अस्पतालमा बेड नपाएर छटपटिएर ज्यान गुमाउन बाध्य भएकाहरुको समाचारले सरकारको ध्यानाकर्षण हुनुपर्दछ । तिनवटा सरकारको अस्तित्व नागरिकले महसुस गर्ने गराउने बेला पनि हो यो । अझ कोरोना विरुद्धको खोपमा कमिशनको खेलले वार्गेनि¨ नमिलेर बिलम्व भएको समाचार सम्वन्धित मन्त्रालयबाटै बाहिर आउनु भनेको राष्ट्रिय लज्जाको विषय हो । यो महामारीको विषम परिस्थितिमा स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारले कार्य बिभाजन गरेर अक्सिजनको उपलब्धता, अस्पतालमा सहज पहुँच र आवश्यक जनशक्ति सहितको औषधि ब्यवस्थापनमा जुट्ने बेलामा नागरिक दायित्वप्रति पूर्ण बेवास्ताका साथ कमिशन, कालोबजारी र तस्करीमा सरकारकै प्रत्यक्ष अप्रत्यक्ष संलग्नता र साझेदारीको समाचारले आम नागरिकमा पिडा र ग्लानि भएको छ ।

४. बजारमा दैनिक उपभोग्य वस्तु देखि औषधि लगायतका अत्यावश्यक सामग्रीहरुको कम्तिमा बिस प्रतिशत देखि दुईसय प्रतिशत सम्म मूल्य बृद्धि गरिएको छ । महामारीमा कमाउने मौका बनेको छ । सामान्य नागरिकले बाँच्न पाउने अधिकारको सिधा हनन् भएको छ । संविधान, मौलिक अधिकार, मानव अधिकार र प्रचलित विधि विधानको ठाडै उलङ्घन भएको छ । यस्ता यथार्थ कुराहरु गर्ने सरकारको विरोधि बन्दछ । सत्य बोल्ने र सहिकाम गर्नेहरु विपक्षि बनेको , विरोध गरेको र आफ्नै नेता र नेतृत्वको खिलाफमा जाने अपराध गरेको भन्ने विशेषणको ओईरो लाग्ने गरेको छ । दिनलाई दिन र रातलाई रात भन्न अनुमति चाहिने बेला भएको छ । चाकडि र चाप्लुसि नगर्ने र स्वाभिमानपूर्वक बाँचेर राष्ट्रभक्तिको काम र कुरा गर्ने छुटको स्थिति टाढा बनेको छ ।

राज्यकोषको लुटमा रमाउनेहरु शिक्षा स्वास्थ्य लगायतका विकास निमार्णका शिर्षकहरुमा लगानि गर्नुपर्दा निजि सम्पत्ति दिनु परेको जस्तो प्रचार गर्दै फलानोले दिएको भन्ने भनाउनेमा प्रतिस्पर्धा देखिन्छ । आखिर ती पदाधिकारी वा कर्मचारीको जिम्मेवारी सोहि कामको लागि भएको हुन्छ । खोला नदी नै नभएको ठाउँमा पुलको , विद्यार्थी नै नभएको ठाउँमा स्कूल कलेजका भवन निर्माणको, निजि अझ नाम मात्रको कृषिजन्य फर्महरुमा प्रमोशनका लागि र झोले उद्योग तथा झोले हाईड्रो पावरका नाममा बजेट छुट्याएर निर्णय गरेर आफ्ना भजन मण्डलिको पोल्टामा देशको ढुकुटीको चरम दुरुपयोग गर्दा पनि प्रशंशा गर्ने र प्रशस्ती स्तुती गाईरहने कलाकारिताले राणाकाल र पंचायतीब्यवस्था लाई पनि उछिनेको छ ।

५. राईट म्यान, राईट प्लेसको सिद्धान्त किताबमा मात्र सिमित बनेको छ । योग्य, दक्ष, क्षमतावानको लागि यहाँ स्थान छैन । अनेक बहानामा यी किनारा लगाईन्छ । देश कोभिड महामारीको अन्यौल र हाहाकारबाट गुज्रिरहेको छ । राष्ट्रको नेतृत्वलाई पद जोगाउन मै ब्यस्तता छ । स्वघोषित बरिष्ठहरुलाई पद नभै बाँच्न मुस्किल भएको छ । भजन मण्डलीहरु प्रभुहरुको स्तुतीगानमा नै ब्यस्त छन् । मालिकहरुको विपक्षमा बोल्ने उभिनेलाई ठेगाना लगाउन तोकिएकाहरु हरदम् तयारी अवस्थामा छन् । जनता कोभिडकोे अबिलम्व अन्त्य चाहन्छन् । यो पान्डेमिकको समाप्ति पहिलो र अत्यन्त जरुरीको विषय महसुस गरिएको छ ।

तर देशमा साँच्चै गाईजात्रा देखिएको छ । पिडा र मृत्यु घटाउने तर्फ नागरिक चिन्तित भएको अवस्थामा सरकारको भूमिका र सहयोग मूल्याङ्घन भैरहेको छ । विद्यार्थीलाई पढाई र परीक्षाको चिन्ता छ । बेरोजगारलाई रोजगारको लागि चिन्ता छ । शैक्षिक बेरोजगारको भिड अकाशिदैं गएको छ । तोकिएका आयोगहरु पनि मालिकहरुको मुख ताक्दै ईशारा पर्खदैंमा वर्षौं गुजारी रहेका छन् । प्रत्येक दिन अनेकौं उम्मेदवारहरु उमेरको हद पार गरिरहेका छन् । लक डाउन र निषेधाज्ञाको कारणले विदेशको सपनाहरु दैनिकै तुहिरहेका छन् ।

६. सत्य तितो हुन्छ भन्ने गरिन्छ । सबैकुरा हरेकले पचाउनै पर्छ भन्ने पनि छैन । आआफ्नो अनुकूलतामा भन्ने र गर्ने छुट अधिकार नभए पनि स्थापित मान्यता जस्तो धेरैले महसुस गरेका छन् । स्वार्थ मानविय संगै सामाजिक र राष्ट्रिय हुनुपर्दछ । अग्रगामी भन्ने मात्र हैन, गरेर देखाउन सक्नु पर्दछ । सिद्धान्त र दर्शन पढ्नको लागि मात्र हैन, ब्यवहारिक जिवनमा प्रयोग र उपयोग गर्न पनि हो भन्ने तथ्य यहाँ स्मरणीय छ । हामी समृद्ध नेपालको चर्चा गरिरहँदा यसका आधारभूत मूल्य मान्यताको प्रसंगबाट टाढारहने छुट कदापि रहँदैन । कोभिड—१९ को अन्त्यको घेरामा बसेर यसकै सावधानीको ब्याख्या गरिरहँदा अन्य रोगका बिरामीले उपचार नपाएर ज्यान गुमाउन बाध्य हुनेहरुलाई भुल्न मिल्दैन । पृथ्वी गोलो छ , पालो अरुको पनि आउन सक्छ भनेर गफ दिन नचुक्नेहरुले मानविय कर्तब्य र सामाजिक दायित्वबाट पन्छिन मिल्दैन ।

विद्यमानमा भए गरेका सबै प्रयत्नहरु पर्याप्त नभएकाले नै यी सन्दर्भहरु उब्जिएका हुन् । संवेदनशीलताको आत्मानुभूति पहिलो शर्त बन्न सकेमात्र कोभिड कहरलाई सहजै परास्त गर्न सकिन्छ । नागरिकस्तरबाट, सरकारी र गैरसरकारीतह बाट, स्थानिय तथा प्रदेश र संघिय सरकारको तर्फ बाट आज सम्म भएका गरिएका कामबाट कोभिड पान्डेमिक संगको युद्ध जित्न कठिन बन्दै गएकाले जनमानसमा थप अन्यौलता र आशंका उत्पन्न भएको छ । छिमेकि चिन तथा भारतबाट सिक्नु पर्ने पनि धेरै हुन सक्छ । कोभिड विरुद्धको खोप ल्याउन बिलम्व भै सकेको छ । सबै नागरिकलाई यो खोप अनिवार्य गरिनु पर्दछ । सरकारले आफ्नो प्रतिष्ठा र पहिचानको उच्चता प्रदर्शन गर्ने अवसर पनि हो यो । कमी कमजोरीको समिक्षा गरेर सच्चिने सच्याउने समयको रुपमा कोभिड—१९ को एक चुनौतिलाई अनेक अवसरमा बदल्ने मौकाको अधिकतम उपयोग गरियोस भन्ने हाम्रो अपेक्षा रहेको छ ।