विद्यार्थीलाई सबैभन्दा कठिन काम के होला भन्ने प्रश्न सोध्ने हो भने तत्काल जवाफ आउँछ — पढ्ने काम । शिक्षकहरुको निरन्तर गुनासो छ — पढाईमा ध्यानै कसैको छैन । स्वयम् शिक्षकहरुले चाँही कत्तिको पढ्नु हुन्छ रु —त्यो सम्वन्धितहरुलाई नै थाहा छ । थप जवाफ हुन सक्छ— शिक्षकले जाँच दिनु पर्दैन नि । फेरी प्रश्न उठ्न सक्छ — पढ्ने भनेको जाँचको लागि मात्र हो त रु अभिभावकहरुको आफ्ना छोराछोरी तथा भाईवहिनी प्रतिको एउटै गुनासो हुन्छ — घरमा पटक्कै पढ्दैनन् , खेल्न मात्र मन गर्छन, खाली मोबाईलमा र ल्यापटपमा झुण्डिरहन्छन् । बिदाको दिन नआए पनि हुन्थ्यो । आफू ती सामान संग कत्ति खेलिन्छ — त्यो विषय गौण बनाईन्छ । लेखकहरुको चिन्ता सुनिन्छ— के लेख्नु , पढ्ने कोहि छैन । छापाका पत्रकारहरुको पनि उत्तिकै पिडा छ— आजकाल अखबार कसैले पढ्दैन, मात्र शिर्षक हेर्न पनि फुर्सद छैन । धेरैको प्रतिक्रिया भने यस्तो छ— यो सबै प्रविधिको करामत हो । सबै चिज डिजिटल भै सकै । छापाका अखवार पढेर समय किन बर्बाद गर्ने—सबै समाचार मोबाईलमा फेसबुकमा क्षणको क्षण आउँछ । पत्रपत्रिका छापिएर बजारमा आईपुग्दा समाचार अर्कै भै सक्छ । हत्केलामा विश्व नै बोकेर बस्नेलाई किन पढ्नु पर्यो र रु यो आलेख यिनै सेरोफेरोमा केन्द्रित छ ।
पछिल्ला वर्षहरुमा अध्ययनको संस्कृति घटेकै हो त रु अधिकांशको जवाफमा पढ्ने बानी हराएको भन्ने नै छ । एक त आजकालका मान्छेहरुमा बिगतकाको जस्तो फुर्सद पनि छैन । पहिले प्रविधि थिएन । मोबाईल फोन थिएन । ल्यापटप थिएन । कम्प्युटर थिएन । रेडियो आएपछि बोकेर हिंड्दा अचम्मै अनुभव हुन्थ्यो । टिभि हेरे पछि थप अनौठो भएकै हो । अहिले यस्ता कुरा एकादेशको कथा बनेका छन् । अधिकांश मान्छे कृषिमा निर्भर हुन्थे । घाँस, दाउरा, गोठालो, खेतबारी जाँदा पनि हातमा किताब देखिन्थे । जाँचको लागि मात्र हैन , सिक्न र जान्नको लागि धार्मिक, ऐतिहासिक, राजनितिक, विषयका किताबहरु पढने परम्परा र संस्कार थियो । समय बिताउन, अरु भन्दा जान्ने देखाउन र मनोरंजनका लागि समेत कथा उपन्यास पढ्ने चलन बनेको थियो । अरु बिकल्प पनि थिएन । पढ्दा र पढेको कुरा अरुलाई सुनाउन पाउँदाको आनन्द र सन्तुष्टि उत्कृष्ट अनुभूती बन्थ्यो । बहस, तर्क, छलफल, वस्तुगत विश्लेषण र निष्कर्षहरुले उच्च महत्व राख्दथे । अध्ययन अनुसन्धानले मात्र मानव जीवनको सार्थकता हुने विश्वास थियो । परिचयको प्रारम्भ नै पढाईको तह र स्तरबाट गरिन्थ्यो । स्कूल कलेजको स्थापना बराबर कुनै धर्म नहुने विश्वास थियो । अध्ययन अध्पापनमा संलग्न ब्यक्तिहरुको सामाजिक मर्यादा र प्रतिष्ठा उच्च थियो । शिक्षा प्रतिको दृष्टिकोण नै भिन्न थियो । शिक्षा बिनाको मान्छे पशुतुल्य हुने विश्वास गरिन्थ्यो । कुनै पनि समस्याको हल पढेका मान्छेलेमात्र गर्न सक्ने विश्वास थियो । शिक्षा लिनदिनमा प्रतिस्पर्धा हुन्थ्यो । हातमा किताब बोकेको मान्छे , घरमा किताबहरु भएको मान्छे आफूलाई धनि र सम्पन्न महसुस गर्दथे । एउटा किताब किन्न सात दिनको यात्रा गरेको उदाहरण भेटिनुले पठन संस्कृतिको स्तर आँकलन गर्न सकिन्छ । प्राचिन मिथिलामा राजा जनकको विद्धत सभाले उत्पन्न तरङ्गबाट विद्धानहरुको आदर्श चिनाउँथ्यो । त्यस्तै भारतका मुगल सम्राट अकबर बादशाहको मन्त्रि परिषदमा एक्लो हिन्दु बिरबल विद्धताकै कारणले लोकप्रिय र चर्चित थिए । यी सबैको पछाडि अध्ययन ,चिन्तन, तर्क, बहस र शिक्षाको नै अहम् भूमिका रहेको तथ्यमा कतै बिमति छैन ।
पढेर को ठूलो भएको छ ? हात्ती पढेर ठूलो भएको हो र ? मूल कुरो पैसा हो । त्यत्तिकैमा शिरोमणी लेखनाथ पौड्यालले भनेका हैनन् —“ धनै छ सर्वोत्तम सार जे छ , सबै धनै भित्र लुकिरहे छ ।” यहाँ पैसा भए नहुने केहि छैन । कसरि धन आर्जन गर्ने भन्नेमा नै मानव जिवनको गन्तब्य देखिएको छ । सारा भागदौड र ब्यस्तता पैसा कमाउनु संग जोडिएको छ । मानौं मान्छेको जन्म नै पैसा कमाउनकै लागि मात्र भएको जस्तो देखिन्छ । पैसाको लागि जस्तासुकै हर्कत र अपराध गर्न पनि पछाडि नपर्नु नै महानता हो भन्ने साबित भएको छ । ज्ञान आर्जनको विषय अब टाढा बन्दै गएको छ । जाँचको लागि पनि पढने बानी हराउन थालेको छ । पढेर, अध्ययन गरेर, बुझेर जानेर सिकेर हैन, चोरेर छलेर धम्क्याएर तर्साएर आतङ्कित बनाएर जसरि भएपनि पास चाहिएको छ । सर्टिफिकेट भए पुगेको छ —फर्जि हुन् वा नक्कलि । भनिन्छ, पान पसलमा किन्न पाईन्छ— पिएचडिका पुर्जा । खेताला लगाएर प्राप्त सर्टिफिकेटको बलमा उच्च ओहोदा कब्जा गरेर हालीमुहाली गर्नेहरुको संख्या अधिक भेटिन्छ । दक्षता क्षमताको कुरा गर्नेहरु निरिह र पागल बनाईन्छन् । किताब पढेर बसेकोलाई अरु कुनै काम नपाएर पढ्न लागेछ भन्नेहरुको बाहुल्यता जतासुकै छ । स्कूल कलेज त फेसन र औपचारिकता बनेको छ । शिक्षामा लगानिको सट्टा सानो ब्यापार ब्यवसाय ठेक्कामा लाग्ने हो भने एकाध वर्षमा नै उसको जिवनमा पत्याउनै गाह्रो हुने गरि समृद्धता देखिन्छ । पढ्न लेख्नमा समय दिने मान्छे त अरु कुनै काम गर्न नसक्ने र हुत्तिहारा साबित भएको छ ।
पछिल्ला वर्षहरुमा प्रकाशित अधिकांश किताबहरु लेख्ने औपचारिकता संग बढि जोडिए । इतिहाँस आफ्नो अनुकूलतामा तोडमरोड गरिन थालियो । जीवनी स्तुतीगानमा फेरिए । साहित्य चाकडिमा रुपान्तरित भए । पद्य कवितामा नगण्य कविको रुची देखियो । गद्य कवितामा अराजकताले प्रश्रय पायो । लेख निवन्ध बिस्तारै हराउँदै गए । ब्यङ्ग्यमा बढि अश्लिलता मौलायो । मौलिकपन त असभ्य र पाखे बनाईयो । सभ्यता त पश्चिमाहरुको नाङ्गोपनमा भेटिन थाल्यो । पढ्ने सुन्नेहरु अब खोज्नै पर्ने भयो । पैसा लगानि गरेर प्रचार गर्ने र सित्तैंमा बाँड्दा पनि शिर्षक भन्दा बढि भित्र पढ्ने त भेट्नै गाह्रो भएकै हो । हार्नै नसक्नेको किताब किनिदिने तर पल्टाएर पढ्ने काम कहिल्यै नगर्ने संस्कार हावी भएकै हो । शिक्षाका तहगत पाठ्यक्रम अन्तरगतका पाठ्यपुस्तकहरु टालटुल र साभार बढि भए । सिकाई केन्द्रित भन्दा पनि परीक्षामुखी सामग्री राख्ने, अन्य देशकाको शैली र विषयवस्तु कपि पेष्ट गर्ने प्रवृत्ति बढेकैको हो । आफ्नो पहिचानलाई जवर्जस्ति बन्दि बनाईयो । विषयवस्तुको गहिराई र विश्लेषणात्मक अध्ययन अध्यापन भन्दा क्याप्सुल वा ट्यावलेट् खोज्ने धेरै भएकाले सो मागको सम्वोधन बजारमा ज्यादा भेटिन्छ । यसैलाई आधुनिकता र सभ्यता अनि स्तरीयताको पगरी गुथाईयो । किताब बेचेर पैसा कमाउने सोचले संग्रह गर्न नमिल्ने स्तरहिन कागजको प्रयोग र मूल्य भने चर्को राख्ने होडबाजी नै चलेको छ । वर्षौं टिक्न सक्ने र कम मूल्य भएका किताबहरुमा सामग्रीको स्तर उच्च र महत्वपूर्ण भएका धेरै उदाहरण भेटिन्छन् । यहाँ त मूल्य कम राख्दा स्तरहिन किताब भन्लान् भन्ने त्रासले काम गरेको पाईन्छ । छापाको सामग्री पढनेहरु त अब पाखे र अरु कुनै सीप नभएको मान्छेमा दर्ज भए । ईलोक्ट्रोनिक वा डिजिटल लेख रचनामा पनि मात्र शिर्षक हेरेर टिप्पणी गर्नाले अर्थको अनर्थ भएको समाचार पर्याप्त पाईएका छन् ।
सबै कुरा मोबाईल फोनमा र ल्यापटपमा छन् । हातमा, झोलामा किताब बोक्नु मुर्खता साबित हुन्छ नै । डायरीको युग सकियो । कलम बोक्ने, लेख्नेहरु त डिजिटल साक्षर नभएको प्रमाण हो । ट्यावलेटमा सिङ्गो पुस्तकालय छ , संसार अटाएकै छ । घरमा किताब किन राख्ने —ठाउँमात्र ओगटेर सजावट बिगार्न । पढ्ने, अध्ययन गर्ने फुर्सद छैन भने अनावश्यक लगानि घटाउनै पर्ने जिकिर गर्नेहरु धेरै छन् । केहि मान्छेहरुमा उब्जेको पढाई सिकाई तथा अध्ययनप्रतिको चिन्ताले आजको भागदौड र अत्यन्त हतारको द्रव्य आर्जनको प्रतिस्पर्धामा खासै महत्व राख्ला भन्ने अपेक्षा झिनो मात्र अनुभुती महसुस गरिएको छ ।