वत्सराज कोइरालासमाजमा मजदूरलाई हेयको दृष्टिले हेर्ने प्रचलन पुरानै हो । शायद यिनीहरु गरीब र निमुखा भएकै कारण यसो भएको हुन सक्छ । घाम, पानी, जाडो, गर्मी केही नभनी अनवरत श्रम गर्ने श्रमिकहरु वास्तवमा समाजका सम्मानित वर्ग हुन् । त्यसैले समाजलाई बलियो र परिपक्व बनाउने श्रमिकहरुलाई हामीले बिर्सनु हुँदैन ।
निजी तथा सार्वजनिक संस्थामा पारिश्रमिक लिएर काम गर्ने सबै मानिस श्रमिक हुन् । शारीरिक वा मानसिक श्रम गर्ने सबैलाई श्रमिक भन्न सकिन्छ । इँट्टा बनाउनेदेखि लिएर एसीवाला अफिसमा बसेर फाइलमा घोट्टिने सम्पूर्ण श्रमिकहरुको कार्यबाट नै यो संसार सञ्चालित छ ।
मे १ लाई अन्तर्राष्ट्रिय मजदूर दिवसको रुपमा संसारभरि मनाइन्छ । यस दिन संसारका ८० भन्दा बढी मुलुकमा विदा दिइन्छ । धेरै ठाउँमा यो दिवसलाई विभिन्न कार्यक्रमहरु गरी मनाउने गरेको पाइन्छ । मेहनत गरेर आफ्नै पाखुराको बलमा जीवनयापन गर्नेहरु स्वाभिमानी छन् । यस्तो स्वाभिमानलाई कतैबाट चोट लाग्न दिनु हुँदैन ।
यस दिवसको ऐतिहासिक घटनाक्रमतर्फ हेर्ने हो भने, १ मे, १८८६ मा अमेरिकामा सबै मजदूर संघहरुले एउटा भेलाको आयोजना गरी आफूहरुले आठ घण्टाभन्दा बढी श्रम नगर्ने निश्चय गरे । यो कुरा स्थापित गर्न त्यहाँका मजदूरहरुले हडताल गरेका थिए ।
साँच्चै भन्ने हो भने मजदूरको हकहितको लागि यस्तो एकता आवश्यक थियो । किनकि मजदूरहरुले १० देखि १६ घण्टासम्म काम गर्नु पर्दथ्यो । मजदूरहरुको सुरक्षामा कसैले चासो राखेको थिएन । काम गर्दा कैयन मजदूरहरु घाइते हुन्थे । कतिपय मर्दथे । उनीहरुको कल्याणका बारेमा सरकारले केही गर्न सकेको थिएन । त्यसैले यस्तो भेला, ऐक्यवद्धता र हडताल आवश्यक थियो । आफ्ना अधिकारको स्थापनार्थ विरोधको आवाज अपरिहार्य थियो ।
मजदूरहरुको यो हडताल जारी रहँदा मे ४ को दिन सिकागोमा अचानक कसैले बम ब्लास्ट गरिदियो । त्यसपछि प्रदर्शनकारीमाथि प्रहरीले अन्धाधुन्द गोली बर्षाउन थाल्यो । थुप्रै मजदूर र जनसामान्यको मृत्यु भयो । सयौं मानिसहरु घाइते भएका थिए ।
यही घटनाबाट प्रेरित हुँदै संसारका सबै श्रमिक र कर्मचारीहरुले आठ घण्टा मात्र काम गर्नुपर्ने कुरा लागू हुनुपर्छ भन्ने कुरालाई शिरोपर गरे । अधिकांश मुलुकहरुले आठ घण्टा मात्र काम गर्नुपर्ने नियम बनाए । मे १ को दिनमा संसारभर जुलुस र प्रदर्शन गर्ने परिपाटी विकसित हुँदै गयो । आफ्ना अधिकारको रक्षार्थ सबै मजदूरहरुले आफ्नो शक्ति प्रदर्शन गर्दै गए । आजसम्म पनि मजदूर दिवसलाई जोडतोडका मनाइन्छ संसारमा ।
सिकागोको केन्द्रबाट जन्मेको मजदूर चेतना आज संसारभर ब्याप्त हुँदै गएको छ । आफ्नो अधिकारको निम्ति संघर्ष गर्ने श्रमिकको यात्रा आजसम्म पनि जारी छ । कामको अवधिलाई आठ घण्ठा बनाउन, आफ्नो श्रम बापत उचित तनखा पाउन र उद्योगपतिहरुबाट हुने शोषणको अन्त्य गर्न मजदूरहरु चेतनशील हुनै पर्छ ।
आइएलओ अर्थात् अन्तर्राष्ट्रिय श्रम संगठनले सन् १९१९ मा गरेको पहिलो अधिवेशनले कामको अवधि आठ घण्टा गर्नुपर्ने प्रस्ताव पारित गरेको हो । संसारका अधिकांश देशहरुले उक्त प्रस्ताव लागू गरे । आइएलओले सन् १९३५ मा सात घण्टाको अवधिको प्रस्ताव पनि ल्याएको थियो ।
करिब एक सय वर्षको कठोर संघर्षपछि पनि श्रमिकको स्थितिमा सोचेजस्तो सुधार आउन सकेको छैन । अझै पनि आठ घण्टे कार्य अवधि सबै ठाउँमा लागू हुन सकेको छैन । श्रमिकको कल्याणका खातिर थुप्रै काम गर्न बाँकी नै छ । अझै पनि १२-१५ घण्टा काम गर्न परेको छ । उनीहरुको सेवा सुरक्षा, बोनस र पेन्सनजस्ता कुराहरु कल्पनाभन्दा बाहिरै छन् । छुट्टी लिएको बेलाको तलब काट्ने परिपाटी समाप्त भएको छैन । असंगठित मजदूरहरुको लागि कुनै विशेष उल्लेखनीय काम हुन सकेको छैन ।
त्यसैले मजदूरहरुले श्रमिक दिवसको महत्वलाई बुझेर, अलग–अलग गुटमा लाग्न छोडेर आफ्ना अधिकारको निम्ति एकजुट हुँदै लड्नु आवश्यक छ ।