हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पूर्वराजाको एउटै आव्हानले नेपाली जनता सडकमा उत्रिन सक्ने अवस्था निम्तिएको बताउनुभएको छ । अध्यक्ष थापाले आगामी चुनावमा जनताले गणतन्त्रवादी कुनै पनि दललाई भोट नहाल्ने अवस्था आउने टिप्पणी गर्नुभयो ।
हेटौँडामा शुक्रबार आयोजित राप्रपा नेपाल मकवानपुरको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष थापाले पूर्वराजाको सन्देशलाई सकारात्मक ढंगले ग्रहण गर्न आग्रह गर्नुभयो । पूर्वराजाले राष्ट्रिय मेलमिलापको प्रस्तावलाई अघि बढाएको उहाँले बताउनुभयो । पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश कुनै पार्टी र सरकारको विरुद्धमा नभएको उहाँको भनाई छ । उहाँले एमाले, कांग्रेस, माओवादी लगायतका दलले सही ढंगबाट काम नगर्दा नागरिकहरुमा निराशा पैदा भएको बताउनुभयो । मुलुकले भोग्नुपरेको संकटको मुक्तिको निम्ति र प्रजातन्त्रलाई बलियो बनाउने तर्फ सोच्न दलहरुलाई पूर्वराजाले आग्रह गरेको उहाँले बताउनुभयो ।
पूर्वराजालाई दोषी देखाएर आफ्नो गल्ती ढाकछोप नगर्न पनि उहाँले राजनीतिक दलहरुलाई चेतावनी दिनुभयो । संघीयता खारेजी र राजसंस्था पुनःस्थापनाको एजेण्डा पूरा हुने चरणमा रहेको अध्यक्ष थापाको भनाई छ । अहिलेको अवस्थामा राजनीतिक दलहरुप्रति जनताको वितृष्णा बढ्दै गएको अध्यक्ष थापाले बताउनुभयो । ‘देशलाई ठुला दलले ब्रम्हलुट गरिरहेका छन् । धेरै युवा विदेश पलायन हुँदा अहिले क्याम्पसहरु पनि बन्द हुने अवस्थामा पुगेको छ । अहिलेकै अवस्था रहने हो भने सरकारले कर्मचारीहरुको तलब भत्ता र सामाजिक सुरक्षा भत्ता पनि दिन नसक्ने अवस्था हुनेछ ।’ उहाँले भन्नुभयो ।