भर्खरै बागमती प्रदेश चेम्बर अफ कमर्शको अध्यक्षमा नियुक्त हुनुभएका हेटौंडाका सिद्धिलाल श्रेष्ठले संगठनलाई राजनीतिभन्दा टाढा राख्नुपर्ने बताउनुभएको छ । सम्पूर्ण व्यवसायीहरुको हितको लागि स्थापना भएको यस संगठन कुनै पनि राजनितिक दलको प्रभावबाट टाढा भएर काम गर्न सकेमात्र लक्ष्यअनुसारको सफलता मिल्ने उहाँको भनाई रहेको थियो । सामाजिक सेवामूलक काम गर्न कुनै पनि पार्टीको टीका लगाउन नपर्ने उहाँ बताउनुहुन्छ । संगठनमा आबद्ध अन्य व्यक्ति व्यक्तिगतरुपमा विभिन्न राजनीतिक दलप्रति आस्था राखेपनि आफू भने हालसम्म कुनै पार्टीमा नलागेको श्रेष्ठले जानकारी दिनुभएको छ । यसै सन्दर्भमा समृद्ध समाज दैनिकका पत्रकार आरबी पौडेलले बागमती प्रदेश चेम्बर अफ कमर्शका अध्यक्ष सिद्धिलाल श्रेष्ठसँग गर्नुभएको कुराकानीको सम्पादित अंशः
समाजः चेम्बर अफ कमर्शको बारेमा जानकारी गराइदिनु न ।
श्रेष्ठः वि.सं. २००७ सालमा काठमाडौंमा एउटा तदर्थ समिति गठन भयो । त्यसपछि २००९ सालमा मात्र तत्कालीन सरकारले बैधानिकता प्रदान गरेपछि २०७४ सालसम्म काठमाडौं भ्यालीभित्रका ३ जिल्लामा सक्रिय भएर उद्योग व्यापार गर्ने व्यवसायीहरुको व्यवस्थापनमा काम गर्यो । त्यसपछि २०७४ सालको साधारणसभाले अब यो संगठन सातै प्रदेशमा बिस्तार गर्ने, उद्योगी व्यापारी सबैलाई समेटेर आ–आफ्नो क्षेत्रमा आएर सेवा गर्ने, व्यवसाय गर्ने, अवसर प्रदान गर्नेजस्ता निर्णय भएअनुसार सातै प्रदेशमा यसको समिति गठन भइसकेको छ ।
समाजः २०७४ सालमा निर्णय भएपछि भरखरै मात्र प्रदेश कमिटी गठन भएको हो कि के हो ?
श्रेष्ठः म ३ वर्षीय दोस्रो कार्यकालका लागि प्रदेश अध्यक्ष भएको हुँ । म भन्दा अगाडि पनि टिम नै हुनुहुन्थ्यो ।
समाजः अब तपाईंका योजनाहरु के–कस्ता रहेका छन् ?
श्रेष्ठः नेपालमा उद्योग, व्यवसाय विस्तार हुँदै गएको छ । मकवानपुरमा पनि उद्योग वाणिज्य संघ, उद्योग संघ छ । चेम्बर अफ कमर्शले पनि आफ्नो नीतिअनुसार यहाँ भएका व्यवसायीहरुलाई सदस्यता लिन र आफ्नो कार्य गर्न अवसर दिएको छ । सबैको आफ्नो रोजाई हो, कता आबद्ध हुने भन्ने कुरा । तर जसले र जुन नेतृत्वले राम्रो काम गर्यो, व्यवसायीहरु त्यहीँ आबद्ध हुन इच्छुक हुन्छन् । मलाई चेम्बर अफ कमर्श बागमती प्रदेश अध्यक्षको जिम्मेवारी दिइरहँदा मैले प्रदेशका १३ वटै जिल्लाको अवलोकन गरेर व्यवसायीहरुलाई आफ्नो सोचअनुसार व्यवसाय गर्न तथा व्यवसायको विकास गर्न अनुरोध गर्नेछु । संस्थाको सदस्य र नेतृत्व गर्नु भनेको आफ्नो व्यापारको हकहितका लागि मात्र नभई उद्योग, व्यापारी पनि उपभोक्ता हो भन्ने सचेतना कार्यक्रम गर्ने, सेवासँगसँगै उद्यमी हुन सक्यौं भने सफल भइन्छ भन्ने मुल नीति लिएर म सबै जिल्लामा जानेछु । साथै सरकारलाई सहयोग पुग्ने किसिमले आफ्नो व्यवसायको हकहितको सुरक्षा गर्नुपर्छ । यसका लागि संगठनलाई विशुद्धरुपमा राजनीतिबाट टाढा राख्नुपर्छ । व्यक्तिगतरुपमा सबैजना विभिन्न राजनीतिक दलप्रति आस्था राखेपनि यस चेम्बर अफ कमर्शमा राजनीति गर्नुहुन्न । यसलाई राजनीतिबाट टाढा राखेर सेवा गर्ने सोच राखेर काम गर्नुपर्छ ।
समाजः पछिल्लो समयमा सबैतिर राजनीति हावी हुँदै गएको देखिन्छ । तपाईंले चेम्बर अफ कमर्शलाई राजनीतिभन्दा टाढा राख्छु भन्नुभयो, यो कसरी सम्भव छ ?
श्रेष्ठः जसरी रोटरी क्लब छ, जुन विशुद्ध सामाजिक सेवा गरिरहेको छ । जसमा अहिलेसम्म राजनीतिकरण भएको छैन । त्यसैगरी चेम्बर अफ कमर्शलाई पनि राजनीतिभन्दा टाढा राखेर, त्यहाँ भएका सदस्यहरुलाई विशुद्ध सेवा गर्छु भन्ने भाव राखेर काम गर्ने वातावरण बनाउनुपर्छ । र यस संस्थामा आउनका लागि तथा सेवामूलक काम गर्नका लागि कुनै पनि पार्टीको टीका लगाउन पर्दैन । यही नीतिअनुसार मैले सबै जिल्लामा काम गर्ने सोच बनाएको छु । यसका लागि म हालसम्म कुनै राजनीतिक दलमा आबद्ध भएको पनि छैन र आगामी दिनमा त्यो सोच पनि छैन ।
समाजः मकवानपुर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी सबैलाई समेटिरहेको छ । चेम्बर अफ कमर्शले क–कसलाई समेट्छ ?
श्रेष्ठः चेम्बर अफ कमर्शले उद्योगी, व्यापारी, व्यवसायी सबैलाई समेट्छ । हामीबीच सेवा, व्यवस्थापनको प्रतिस्पर्धा हुन्छ । जसमा कसले व्यवसायीको हकहितको लागि काम गर्छ, व्यवसायीको कुरा सुन्छ भन्ने खालको गतिविधि गर्ने हो । त्यसमा ऊर्जा, खनिज, जडीबुटी, बैंकिङ, बिमा, कृषि, वन, पर्यटनलगायत सबै सेवा उद्योगहरु यसमा आबद्ध हुनसक्ने हाम्रो बिधानमा तोकिएको छ । जसरी उद्योग वाणिज्य संघ छ, त्यसैगरी चेम्बर अफ कमर्श पनि अगाडि बढ्न सक्छ ।
समाजः उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्शलाई कसरी परिभाषित गर्नुहुन्छ ?
श्रेष्ठः आ–आफ्नो क्षेत्रमा दुबैको उद्देश्य एउटै हो । उद्योग वाणिज्य संघ काठमाडौंमा केन्द्रित भएर ७७ वटै जिल्लामा जिल्ला कमिटीहरु छ । त्यसैगरी चेम्बर अफ कमर्शको पनि कमिटीहरु बन्छ । र हामीबीच काम गर्ने प्रतिस्पर्धा हो । कसरी उद्योगी, व्यापारी र व्यवसायीलाई सहयोग पुग्छ, राज्य सरकारलाई आफ्नो नीति नियम बनाउँदा कसरी आफ्नो भूमिका निर्वाह गर्न सक्छ, सल्लाह दिन सक्छ, सबैप्रति आकर्षक कसरी हुन सक्छ भन्ने उद्देश्यका साथ चेम्बर अफ कमर्शले विगतका समयमा पनि राम्रो छवि बनाउँदै आएको महसुस गरेको छु ।
समाजः प्रदेश तहसम्म चेम्बर अफ कमर्श आइपुग्दा जिल्लामा यसको अवस्था के छ ?
श्रेष्ठः २०७४ सालमा प्रदेशमा पहिलोपटक गठन भएर अहिले दोस्रो कार्यकालका लागि कमिटी गठन भएको छ । यसलाई अलि सक्रिय बनाउँदै लैजानुपर्छ भन्ने लागेको छ । काठमाडौंमा यसको राम्रो अवस्था छ । जसकारण सबै जिल्लाहरुमा सोहीअनुसार लैजानुपर्छ भन्ने सोच हो । र मलाई पनि सोही उद्देश्यले मनोनित गर्नुभएको जस्तो लाग्छ । त्यसैले सबै जिल्लाहरुमा चेम्बरको सक्रियता बढाउँदै लैजानेछु ।