देशभर कोरोनाको महामारी फेरी बढ्दै गएको छ । कोरोनाबाट मृत्यु हुनेको प्रतिशत अघिल्लो पटक भन्दा बढी देखिएको विज्ञहरुले दावी गरेका छन् । महामारीबाट गत बर्ष नै हैरानी खेपेको समुदायबाट होशियारी अपनाउनु पर्ने हुन्छ । तर सरकारले पनि कुनै तयारी गरेको देखिदैन भने समुदाय स्तरबाट पनि लपर्वाही गर्नमा नै प्रतिष्पर्दा गरिरहेको देखिन्छ । यही चालचलने फेरी गत बर्षकै हविगत नहोला भन्न सकिन्न् । संघिय देखि प्रदेश सरकारहरु यतिबेला पद कै सुरक्षाका लागि तल्लिन भएका छन् । उनीहरुले कोरोना संक्रमण नियन्त्रणका लागि ठोस योजना बनाउन सकेको अवस्था छैन । यस्तै दलहरु समेत कोरोना विरुद्ध कार्यकर्तालाई परिचालन गर्ने वा नागरिकलाई होशियार बनाउने अभियान सञ्चालन गर्न सकिरहेका छैनन् ।
मकवानपुरमा पनि कोरोनाको दोस्रो लहरले आक्रमण गर्न थालेको छ । केही दिन पहिलासम्म शून्य अवस्था रहेको कोरोना भाइरसको आक्रमण सुरु भएको छ । विशेषगरी हेटौंडा उपमहानगरपालिका बढी प्रभावित हुने लक्षण देखिएको छ । आइतबार मात्र ७ जनामा कोरोना देखिएकोमा सोमबार ४५ जनाको परीक्षणमै २१ जनामा संक्रमण देखिनुले समुदायस्तरमा बढ्दै गएको प्रष्ट हुन्छ । संक्रमितहरुलाई राज्यका तर्फबाट हिजो पनि चासो दिएको थिएन भने आज पनि अवस्थामा कुनै सुधार छैन । संक्रमितहरु आफु खुशी नै आफ्नो घरमा नै बस्न बाध्य छन् । यस्ता विरामीहरुलाई समुदाय र परिवारबाट अलग गरेर उपचार नगर्ने हो भने संक्रमितको संख्या दैनिक बढ्ने छ । त्यसका लागि आईसोलेशनहरुको उचित प्रबन्ध आजको आवश्यकता हो ।
बैशाख मसान्तसम्म विद्यालय बन्द गराउन सरकारले गरेको निर्णयमा हेटौंडाको पनि नाम समावेश छ । देशभरका मुख्य सहरका ४० वटा स्थानीय तहमा सन्चालन भएका विद्यालयहरु बन्द गर्न सरकारले निर्देशन दिएको छ । संक्रमणको तिव्रता र दरको विश्लेषण गर्दा विद्यालय बन्द गराउन अरु स्थानीय तहहरु पनि बाध्य हुने अवस्था देखिन्छ । सरकारले नै बन्द गर्न नभनेसम्म संक्रमण बढे पनि विद्यालय सञ्चालकहरुले संक्रमणलाई सामान्यीकरण गर्ने प्रयास गरेका थिए । जसका कारण पछिल्लो समयमा बालबालिकाहरुमा संक्रमण बढ्दै गएको छ । कोरोनाका लागि उमेर समुहले कुनै प्रभाव नपार्ने देखिएको छ । जुनसुकै उमेर समुहमा पनि संक्रमण हुने भएपछि उच्च जोखिमको क्षेत्र विद्यालयहरु बन्द गर्नु पर्ने अवस्था देखिएको छ ।
जनजीवन नै प्रभावित पार्ने संक्रमण नियन्त्रणका लागि समाज नै बन्द बनाउने भन्दा पनि होशियारीमा बढी जोड दिन आवश्यक छ । होशियारी अपनाउँदै आफ्ना दैनिकी चलाउने कलाको विकास गरिनु आजको आवश्यकता हो । तर नागरिकहरुले सरकारका लागि मात्र होशियारी अपनाउने गर्दा संक्रमण समुदायमा पुग्ने गरेको छ । जीवन निर्वाहका लागि नगरी नहुने भन्दा बाहेकका काम, कार्यक्रम, योजनाहरु बन्द गर्दा नै उपयुक्त हुन्छन् । जुन कार्यक्रम नगर्दा समाजलाई कुनै घाटा छैन भने त्यस्ता कार्यक्रम यस्तो संक्रमणको समयमा सन्चालन नगर्दा नै उपयुक्त हुने देखिन्छ । तर संक्रमण नियन्त्रणमा अरुले नै होशियारी अपनाई दिए आफु निश्फिक्री काम गर्न चाहना भएसम्म कोरोना नियन्त्रणमा चुनौती यथावत रहने छ ।