भीम लामा, प्रशिक्षक हेटौंडा फुटबल एकेढेमी

हेटौंडामा फुटबल खेलाडी उत्पादन गर्ने क्लब भन्दा प्रायः सबैको मुखमा आउने नाम हो, ‘हेटौंडा फुटबल एकेडेमी’ । एकेडेमीले ग्रासरुटदेखि नै फुटबल खेल्न इच्छुक खेलाडीलाई राष्ट्रियस्तरको खेलाडी बन्न सहयोग गर्दै आएको छ । जसको श्रेय पूर्णरुपमा एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक भीम लामालाई जान्छ । प्रशिक्षक लामा अहिले महिला फुटबलको विकासमा तत्परताका साथ लागिरहनुभएको छ । करिब ६ वर्षदेखि एकेडेमी सञ्चालन गरी पुरुष फुटबल खेलाडी उत्पादन गर्दै आउनुभएका प्रशिक्षक लामाले अहिले महिला फुटबललाई पनि विकास गर्नुपर्छ भन्दै लागिपर्नु भएको छ । मकवानपुरमा महिला खेलाडीलाई अगाडि बढ्ने मौका नमिलेको उहाँ बताउनुहुन्छ । देशको लागि फुटबल खेल्छु भन्ने खेलाडीलाई पूर्णरुपमा सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसै सन्दर्भमा समृद्ध समाज राष्ट्रिय दैनिकका खेल पत्रकार आरबी पौडेलले प्रशिक्षक भीम लामासँग गरिएको कुराकानीको सम्पादित अंश ।

समाजः महिलाहरुलाई प्रशिक्षण गराउने, महिलाहरुको फुटबल टिम तयार गर्ने सोच कसरी बनाउनुभयो ?
लामाः
महिलाहरुलाई फुटबल प्रशिक्षण गराउने सोच कसरी भयो भने विगतका दिनमा पुरुष टिमलाई मात्र प्रशिक्षण गर्ने गरिएको थियो । मकवानपुर जिल्लामा कसैले पनि महिलाहरुलाई फुटबल प्रशिक्षण गराइरहेका थिएनन् । भाइहरुले फुटबल खेलेको देखेर धेरै बहिनीहरुले पनि खेल्ने इच्छा देखाउनुभयो । दुईचार जना केटा साथीहरुकै माध्यमबाट १–२ जना गर्दै केटीहरु पनि फुटबल खेल्न आउन थालेपछि टिम नै बनाएर फुटबल प्रशिक्षण दिने सोच बनाएँ । महिलाहरुलाई पनि फुटबल सिकाउन सुरु गरेँ । महिलाहरुलाई प्रशिक्षण गराउन गाह्रो त हुन्छ, तर साथीहरुकै माध्यमबाट आएका हुनाले उनीहरुलाई ग्रासरुट लेवलबाट प्रशिक्षण गराइदिउँ भनेर सुरु गरिएको हो ।

समाजः पुरुषहरुको तुलनामा महिलालाई प्रशिक्षण गराउन सहजता वा असहजता के कतिको महसुस गर्नुभएको छ ?
लामाः
पुरुषको टिमभन्दा महिलाको टिमलाई चाहिँ अलिकति गाह्रो हुन्छ । किनभने महिलाहरुलाई निरन्तरता दिन ठूलो समस्या देखिएको छ । एक त हाम्रो समाजमा महिलाहरुलाई खेल क्षेत्रमा लाग्न त्यति प्रोत्साहन दिने गरिँदैन । परिवार तथा समाजका कारणले गर्दा नै उनीहरुले खेल्ने इच्छा हुँदाहुँदै आफ्नो प्रतिभा देखाउन नसकेको अवस्था छ । त्यसमाथि महिलाहरुलाई प्रशिक्षण दिने खेल्ने उपयुक्त प्लेटफर्म पनि हुँदैन । घरबाट खेल्न प्रोत्साहन नहुँदा उनीहरुसँग खेल सामग्री जुटाउन पनि सक्दैनन् । फुटबलका लागि जर्सी, बुट, प्याड तथा बल जुटाउन उनीहरुलाई अलि गाह्रै छ । त्यही भएर मैले सकेसम्म एकेडेमीबाटै खेल सामग्री व्यवस्थापन गरिरहेको छु ।

समाजः यो सबै सामग्रीहरु एकेडेमीले नै व्यवस्था गरिरह“दा यसका लागि आर्थिक व्यवस्थापन के कसरी गर्नुभएको छ ?
लामाः
एकेडेमीले विगतदेखि नै फुटबल प्रशिक्षण दिँदै आएको छ । आफूले पनि एएफसी लाइसेन्स लिएको भएर दुईचार जना साथीहरुले चिनेकाले फुटबलमा केही विकास गर्छ भनेर स्वदेश र विदेशमा बस्नुभएका साथीहरुले दुई–पाँच हजार गर्दै सहयोग आउने गरेको छ । प्रशिक्षणका लागि नयाँ भर्ना भएका भाइबहिनीहरुबाट भर्ना शुल्क १ हजार रुपैयाँ लिने गर्छु । तिनै रकमले अलिअलि व्यवस्थापन गरेर फुटबल प्रशिक्षण गराइरहेको छु ।

समाजः अहिले टिममा रहेर प्रशिक्षण लिइरहनुभएका महिला खेलाडीहरुको खेलप्रति चासो र लगाव पुरुषको तुलनामा के कस्तो पाउनुभएको छ ?
लामाः
पुरुषहरुको जस्तै चासो महिलाहरुको पनि छ, तर महिलाहरुमा खेलका लागि पर्याप्त समय दिन नसक्ने समस्या छ । यस्तै, उनीहरुलाई घरबाट पर्याप्त सपोर्ट गर्दैनन् । त्यति हुँदा पनि उनीहरुलाई कसरी अगाडि बढाउने, कसरी मोटिभेट गरेर लैजाने, खेलप्रति कसरी रुचि जगाउने र जागरुक गराउने भनेर आफूसँग भएको आइडिया प्रयोग गरिरहेको छु । बिशेष गरी मैले अर्थात् एकेडेमीले नै उनीहरुलाई ट्रेनिङ किट्स, खाजा÷खाना खर्च, गाडी भाडा व्यवस्थापन गर्नुपर्ने अवस्था छ । त्यसो गर्न नसकेको खण्डमा उनीहरुले घरबाट खर्च गरेर खेल्न सक्दैनन् र उचित ठान्दैनन् । घरबाट सपोर्ट पनि हुँदैन । त्यो कारणले गाह्रो छ, उनीहरुलाई ।

समाजः महिलाहरुको टिमलाई अहिले विभिन्न मैत्रीपूर्ण खेलहरु खेलाउन लगिरहनुभएको छ । मैत्रीपूर्ण खेलहरु खेलाउन लग्दाको अनुभवचाहिँ कस्तो रहेको छ ?
लामाः
अनुभव कस्तो रह्यो भन्दा एक त महिलाहरुले इच्छा गरेको हुनाले र मैले पनि फुटबललाई नै समय दिन्छु भनेकाले अहिलेसम्म फुटबल खेलको विकास र खेलाडी तयार गर्न योगदान दिएँ । हाम्रो पालामा ८ वर्ष ‘ए’ डिभिजन लिग फुटबल नहुँदा पनि फुटबलमा टिकेर, फुटबललाई माया गरेर, फुटबलमा नै जीवन बिताउँछु भनेको भएर महिलाहरुलाई खेलाउन लैजाँदा आउने चुनौती सामना गरिरहेको छु । पुरुषहरुको तुलनामा महिलाहरुलाई खेलाउन लैजाँदा अलिकति बढी नै खर्च हुन्छ र गर्नुपर्ने पनि हुन्छ । किनभने महिलालाई सुरक्षित राख्नुपर्ने हुन्छ । उनीहरुलाई उचित सम्मान र इज्जत पनि गर्नुपर्ने हुन्छ । घर छाडेर ग्राउण्डमा आएर खेल्नु, ट्रेनिङ गर्नु अनि उनीहरुलाई खाजाको व्यवस्था गर्न सकेन भने मलाई कस्तो लाग्छ भने हामीले पनि पहिलेदेखि दुःख गरेको भएर हामीलाई कसैले सहयोग पनि गर्दैनथे । उनीहरुलाई सहयोग नहुँदा आफैंलाई पनि भित्रबाट नराम्रो लाग्ने भएकाले आफ्नो क्षमताअनुसार यताउति सहयोग खोजेर भएपनि व्यवस्था गरिरहेको छु । फुटबलमा महिलालाई पनि अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यले एकेडेमीबाट आफैंले लिडरसिप गरिरहेको छु । अरुले सिकाउँदा गाली गर्ने र नातागोतालाई मात्र अगाडि बढाउने भएर मैलेचाहिँ दैनिक मिहिनेत गर्ने र फुटबलमा नै जीवन बिताउँछु भन्ने भाइबहिनीहरुलाई राम्ररी प्रशिक्षण गराएर र उनीहरुलाई ग्रासरुटदेखि ट्रेनिङ गराएर बल्ल टेक्निकल, ट्याक्टिकलरुपमा लगेर उनीहरुलाई खेलाउने र भविष्यमा आर्मी, पुलिस, एपीएफमा भर्ना हुन योग्य बनाउने सोच राख्ने गरेको छु । अहिले जति पनि राष्ट्रिय टिममा छन्, विभागीयकै वर्चस्व रहेकाले पनि हामीले राम्रो खेलाडी उत्पादन गर्ने र भविष्य बनाइदिने हो । देशको लागि खेल्छु, केही गर्छु भन्ने बहिनीहरुलाई एकेडेमीले माथिसम्म पुर्‍याउने काम गर्ने हो ।

समाजः प्रशिक्षणपछि अहिले मैत्रीपूर्ण खेलहरु खेलाइरहँदा नतिजाहरु के कतिको सुधार र सन्तोषजनक पाउनुभयो ?
लामाः
बिस्तारै सुधार भइरहेको छ जस्तो लाग्छ । किनभने अहिलेसम्म आउँदा ३ महिनाको अन्तरालमा पहिलो म्याच हामीले अमलेखगञ्जसँग खेल्यौं । त्यहाँ ठिकै खेल प्रदर्शन गरेर बहिनीहरुले अनुभव बटुले । खेलको क्रममा आफूमा भएका कमी कमजोरी थाहा पाएर सुधार्ने मौका पाउँछन् । त्यसपछि कलैया गोल्डकपमा खेल्यौं । तेस्रो हामीले अहिले बहिनीहरुले इच्छा व्यक्त गरेको भएर दुईचार जना साथीभाइले सहयोग पठाएको हुनाले त्यहि सहयोगबाट नवलपुरको गैंडाकोट लगेर खेलायौं । जे होस् राम्रै अनुभव पनि भयो र उनीहरुले फुटबलमा केही सिक्ने मौका र हौसला मिलेको जस्तो लाग्छ ।

समाजः महिला खेलाडीको परिवारबाट के कस्तो प्रतिक्रियाहरु आउने गरेको छ ?
लामाः
खासै त्यस्तँे प्रतिक्रिया त आउने गरेको छैन । उल्टो अलिकति ढिला भयो भने गालीचाहि“ गर्छन् । दुईचार जनाले गाली पनि गरेका थिए । दुईचार जनाले सपोर्ट पनि गरेका छन् । ठिकै छ ।

समाजः परिवारबाट आएका नकारात्मक प्रतिक्रियाहरुलाई तपाईंले कसरी समाधान गर्ने गर्नुभएको छ ?
लामाः
कहिलेकाहीँ खेल खेलाएर आउँदा ढिला हुन्छ । अभिभावकले फोन गर्छन् र समयमा आएन भन्छन् । अनि मैले कैलेकाहीँ ढिला हुन्छ भनेर भन्छु । कतिपय खेलाडीहरु अभिभावकको जानकारीबिना नै आएका हुन्छन् । उनीहरुलाई मैले अभिभावकसँग भेटेर सल्लाह गरेर ट्रेनिङ गर्दामात्र राम्रो हुन्छ, बिना जिम्मेवारी ट्रेनिङ गराउँदिन भनेर सम्झाउँछु ।

समाजः प्रशिक्षण गराइरहनुभएको महिला टिमलाई लिएर आगामी योजना के छ ?
लामाः
आगामी योजना र मेरो सोच तथा एकेडेमीको उद्देश्य नै खेलाडी उत्पादन गर्ने, खेलकुदको विकास गर्ने, मकवानपुर जिल्लाको र जतिपनि अरु जिल्लाबाट आएपनि इच्छुक हुनेहरुलाई ग्रासरुटदेखि नै प्रशिक्षण गराएर राष्ट्रियस्तरसम्म पुर्‍याउने काम गर्ने हो ।

समाजः सम्बन्धित निकायबाट के कस्तो सहयोगको अपेक्षाहरु गर्नुभएको छ ?
लामाः
कुनैपनि क्षेत्रमा लागेका व्यक्तिहरुलाई सहयोगको अपेक्षा हुन्छ, मलाई पनि छ । सहयोग थोरै भएपनि हुन्छ तर गर्दिनुस् । सम्बन्धित निकायले सहयोग नगरेपनि मचाहिँ केही गर्छु भनेर भित्रैदेखि फुटबलका लागि योगदान दिन्छु, आफ्नो जीवन फुटबलमै बिताउँछु र जति सक्छु फुटबलमै लाग्छु भनेर लागिपरेको छु ।