हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा विभिन्न ५ बिधामा भएको मकवानपुर जिल्लाव्यापी विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । हेटौंडा–११ स्थित सामुदायिक सेवा केन्द्र भवन (बहुउद्देश्यीय कभर्डहल)मा ३ गतेबाट सुरु भएको प्रतियोगिता आइतबार फाइनल खेलसँगै समापन भएको हो ।

समुदाय प्रहरी साझेदारी अवधारणाअन्तर्गत् हेटौंडामा आयोजना भएको प्रतियोगितामा १२ वर्ष मुनि उमेर समूहका छात्र र छात्राको सिंगल तथा १२ वर्ष माथिको उमेर समूहमा छात्रा र छात्रको सिंगल्स तथा छात्रतर्फको डबल्स गरी ५ वटा बिधामा प्रतियोगिता सञ्चालन भएको थियो ।

जिल्ला ब्याडमिन्टन संघ मकवानपुरको प्राविधिक सहयोगमा आइतबार सम्पन्न फाइनल खेलबाट १२ वर्ष मुनि उमेर समूहमा छात्रतर्फ जेनिथ ईन्टरनेशनल माविका विधान माझी प्रथम, बालजागृति इङ्लिस सेकेन्डरी स्कूलका रिवाज पुडासैनी द्वितीय र नवोदय शिशु सदनका बोधिसप्तभ बज्राचार्य र रोचन बानियाँ तृतीय भएका छन् । उनीहरुले क्रमशः ७ हजार, ५ हजार, १ हजार ५ सय-१ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

१२ वर्ष मुनि उमेर समूहकै छात्रातर्फ बालजागृति इङ्लिस सेकेन्डरी स्कूलकी सुविज्ञा सुवेदी प्रथम, हेटौंडा एकेडेमीकी विविका पराजुली द्वितीय, बालजागृति इङ्लिस सेकेन्डरी स्कूलकै रोमिशा तामाङ र हेटौंडा एकेडेमीकै विनिता ब्लोन तृतीय भए । उनीहरुले पनि क्रमशः ७ हजार, ५ हजार, १ हजार ५ सय÷१ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

यसैगरी १२ वर्ष माथिका छात्रतर्फ माउण्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कूलका शावन श्रेष्ठ प्रथम, चन्द्रोदय माविका लेखनाथ धरेल द्वितीय, जेनिथ ईन्टरनेशनल माविका सोनम लामा र नवोदय शिशु सदनका प्रशान्त ठाकुर तृतीय भएका छन् । यस्तै छात्रातर्फ नवोदय शिशु सदनकी एलिना थापा प्रथम, जेम्स इङ्लिस मेडियम स्कूलकी प्रजिना विडारी द्वितीय र हेटौंडा एकेडेमीकी प्रश्ना गौतम र आधुनिक राष्ट्रिय माविकी मीना ठकुरी तृतीय भइन् । १२ वर्ष माथिका छात्र-छात्रातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ७ हजार र २ हजार ५ सय-२ हजार ५ सय रुपैयाँ प्राप्त गरे । १२ वर्ष माथिका छात्र डबल्सतर्फ पनि माउण्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कुलका शावन श्रेष्ठ र स्वीकार थापाको जोडी उत्कृष्ट साबित हुँदै प्रथम भए । यसैगरी नवोदय शिशु सदनका सार्थक स्थापित र प्रमित कोइरालाको जोडीले द्वितीय स्थानमा चित्त बुझाए भने आनन्द भैरव आधारभूत विद्यालयका प्रशान्त तामाङ र सुमन सार्कीको जोडी तथा नवोदय शिशु सदनकै आयुस साह निरला र प्रयासराज पौडेलको जोडी तृतीय भएका छन् । यस विधामा प्रथम, द्वितीय र तृतीय हुने जोडीलाई क्रमशः १० हजार, ७ हजार र २ हजार ५ सय÷२ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताबाट खेलाडी छनोटसमेत गरिएको छ । प्रतियोगितामा सहभागीहरुमध्येबाट ३० जनालाई छनोट गरिएको र उनीहरुलाई २ महिनासम्म निःशुल्क प्रशिक्षण प्रदान गरिने बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव सूर्यलाल भण्डारी, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानुकुमार लामालगायतकाको उपस्थिति रहेको थियो ।