प्रवेश बजगाईं कक्षाः११, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट

आज हामी जे छौँ, त्यो हाम्रो बुबा आमाले दिएको उपहार हो । भोलि हामी जे बन्छौँ त्यो हामीले हाम्रो आमाबुबालाई दिने उपहार हो । त्यसैले आफ्नो आमाबुवालाई कस्तो उपहार दिन चाहनु हुन्छ, तपाईँ त्यस्तै बन्ने कोसिस गर्नुस् ।

नेपाली समाजमा हिजो आज आफ्नो आमाबुबालाई एक टुहुरो बनाउने प्रचलनले भने शिखर चुम्न लागेको सर्वविदितै छ । हिजो जुन आमाबुबाले तेल लगाएर बनाउनु भएका ठूला र बलिया हातहरुले, आज त्यही आमा बुबालाई हात, पात र लात हानेर घरबाट निस्किन बाध्य भएको यी आँखाले छर्लङ्ग देखेको छ । बुबाले जस्तो सुकै गाली गरे तापनि, बुबाहरु भनेका निमको रुख जस्तै हो, जसको पत्ता चाहेँ जतिनै तितो भए तापनि छहारी भने एकदमै शितल हुने गर्दछ । भर्खरै मात्र विवाह गरेर आएको चार पाँच दिन नहुँदै त्यो बूढा, अशक्त आमाबुबालाई एक्लै छाडेर आफ्नो श्रीमतीको फरिया समातेर हिँड्ने छोरालाई छोरा नभनेर कुपुत्र भन्दा फरक नपर्ला । विदेशी चलनले नेपाली आकाशमा जाडो महिनामा हुस्सुले बाटो छेकेझैँ छोराहरुको आँखामा बाबुआमालाई छेक्ने गरेको पाइन्छ । रातदिन, आफ्नो पेट भोको राखेर सन्तानलाई हुर्काएका बुबाआमाले, आज विदेशमा आफ्नी श्रीमती च्यापेर गएपछि आफूलाई आमाबुबाले लगाएको गुन र स्याहार विर्सिन्छन् । यतीसम्म कि आमाबुवाले ऋण गरेर विदेश पठाएको पैसाको ऋणसमेत नतिरेर आफ्नो बुबाआमाको बस्ने बाससमेत उजाडि दिने र उठिवास लगाइदिने समेत गरेको पाइन्छ, जसले छोराछोरीको जितका लागि आफ्नो सबैथोक हारी दिन्छन् ।

तपाईको बुबा र अर्को त्यो जसले तपाईंलाई दुख्ला भनेर सबै दुःख आफैँ सही दिन्छन् । तपाईको आमा अर्थात् भगवान् । आमा जसले मृत्युको मुखमा पुगेर पनि आफ्नो सन्तानलाई जन्म दिएकी हुन्छिन् । त्यस्ती महान् नारीलाई छोराले म आउँछु भन्ने आशमा र विश्वासमा आमालाई पीडिमा, पिँडीको माटो भिज्नेगरी रुवाएको यदाकदा देख्न पाइन्छ बेलाबेलामा । आमाबुवाको काखमा हुर्केका छोराछोरी र जन्मेको ३ महिना पनि नपुग्दै स्कुलमा हाल्देको छोराछोरीको अन्तर त हामीले समाजमा पक्कै पनि देख्न पाइन्छ । परिवारको चाहना भनेकै आफ्ना सन्तानलाई माया दिनुपर्छ र आफ्नो असल संस्कार सिकाउन धेरै ठूलो रहर हुन्छ त्यस्तो रहरलाई दाइँं गरेर आफ्नो आमाबुबालाई त्यो बुबाआमा कोही हैन बनाउनु मूर्खता हो ।

एक बालकलाई उसको परिवारले जति संस्कार र आदर्श अरु कसैले पनि दिएको हुँदैन र दिन पनि सक्दैनन् । आफ्नो आमाबुबालाई छाडेर विदेश पलायन हुने र पैसाको पछि दौड्ने समाजमा म पनि बस्ने गर्छु हजुर, म बुझ्न सक्दिनँ कि कसरी कोही मान्छे आफ्नो घरमा ढुङ्गाले बनेको मुर्तिका लागि ठाउँ बनाउन सक्छन्, जब कि आफैँलाई जन्मदिने आफ्नो आमाबुवाका लागि अलि कति ठाउँ पनि हुँदैन । छोरीलाई छोराभन्दा कम दर्जा दिने नेपाली समाज आज छोराहरुभन्दा बढी माया छोरीहरूले गर्ने र तीन चार भाइ छोरा हुँदाहुँदै पनि छोरीले घरमा लगेर आफ्नो आमाबुवालाई पालेको सत्य पाइन्छ । जसरी तपाईकी श्रीमतीले आफ्नो आमाबुबालाई माया गर्छिन्, तपाई पनि त्यसैगरी गर्नु त, एक चोटी सोच्नु त ? तपाई रुँदा आधा रातसम्म जागराम बस्ने आमाबुवा आज बिरामी भएर एक चम्चा पानी पनि अरुको आशमा खानुपर्ने बेलामा तपाई आफूलाई खुसी, सुखी छु र मेरो सुखी परिवार छ भनेर सामाजिक सञ्जालमा फोटो राख्न अलिकति पनि लाज लागेन ? सरमको पर्दा खुलेन ?

लगभग ८० प्रतिशत नेपाली आमाबुवाहरु छोराछोरी भए तापनि एक अनाथ र पीडित भई बस्नु परेको तीतो यथार्थ छ । छोरा छोरीलाई बराबर माया र ममता दिनुपर्छ, आज कसैलाई काँखा र कसैलाई पाँखा गर्नाले हिजो काँखा गरेकाले छाडेर जान सक्छन् । नेपाली आमाबुबाहरुको आँशु र पीडाले भरिपूर्ण भएको मुलुकमा म पनि बस्छु र जतिसुकै र जो सुकै परिस्थिति सिर्जना भए तापनि आज जसरी मेरो बुबाआमा मेरो लौरो हुनुभएको छ त्यसैगरी उहाँको बूढेसकालको लौरो बन्ने छु र उहाँहरुको आँखाबाट कहिल्यै एक थोपा आँशु त्यो नेपाल आमाको माटोमा खस्न दिने छैन ।