हेटौँडा : बारा प्रहरीले ७८ किलो लागूऔषध गाँजासहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । सोमबार र मंगलबार प्रहरीले छुट्टाछुट्टै स्थानबाट ७८ किलो गाँजासहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
सोमबार राती १० बजेर २० मिनेटको समयमा विशेष सूचनाको आधारमा बारा जीतपुर–सिमरा उपमहानगरपालिका–२१ अमलेखगंजचोकमा हेटौँडाबाट वीरगंजतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलबाट लागूऔषध गाँजा बरामद गरेको थियो । मोटरसाइकल चालक प्रहरीलाई देखेर झोला फालेर फरार भएको बताइएको छ । झोलाबाट प्रहरीले ५५ किलो ९० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।
यस्तै, मंगलबार बिहान ९ बजेर ३० मिनेटको समयमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–२१, अमलेखगंज चोकमा हेटौँडाबाट वीरगंजतर्फ जाँदै गरेको बा प्र ०२–०४४ प ६७५५ नम्बरको मोटरसाईकलबाट लागूऔषध गाँजा बरामद गरेको छ । मोटरसाइकलमा सवार २ जना प्रहरी टोलीलाई देखेर झोला र मोटरसाइकल छोडेर फरार भएको प्रहरीको भनाइ छ । प्रहरीले झोलाबाट २८ किलो लागूऔषध गाँजा र आईफोन मोबाईल १ थान बरामद गरेको छ ।