मकवानपुरको ग्रामीण भेगमा बस्ने ठूलीमाया स्याङ्तान ।

हेटौंडाः मकवानपुरको ग्रामीण भेगमा बस्ने ठूलीमाया स्याङ्तान महिनामा दश ट्रिप चालेको बालुवा बेच्छिन् । बगरमा बर्षाको खहरे भेलले ल्याएर थुपारेको ढुंगा, गिट्टी र बालुवा उनले बेच्दै आएकी छिन् । विगत ५ वर्षदेखि निरन्तररुपमा बिहान बेलुका बगरमै काम गरेर उनको समय बितिरहेको छ । घरनजिकै बगर हुँदा उनको यो दैनिकी नै बनेको हो ।

पाँच जना छोराछोरी भएपनि अन्य पेशा नभएकाले उनी बगरमा बालुवा चालेर बस्छिन् । ३ दिन बगरमा हाते कुटो र साबेलले उत्खनन् गर्छिन् भने एक दिन बालुवा चाल्छिन् । ‘परिवारमा सबै लाहुरे भए । अरु सबै काठमाडौंमा बस्छन् । एउटा छोरा आफुसँग बस्छ । उ पनि सानै छ’, ठूलीमायाले भनिन् ।
ठूलीमायाले एक ट्रयाक्टर बालुवाको एक हजार पाँच सय र गिट्टी एक हजार रुपैयाँमा बेच्छिन् । ‘पानी नपरेर खेतबारीमा काम छैन आजकल । दिन कटाउन गार्‍हो हुन्छ । काम गरेर बस्ने मान्छेलाई काम नहुँदा समय कटाउनै मुस्किल हुँदोरहेछ’, उनले भनिन् । काम नहुँदा कुखरेनी खोलादेखि राप्ती खोलासम्म माछा मार्न जाने गरेको उनको भनाई छ ।

बिहान पाँचै बजे उठेर बगरमा आउने गरेकी ठूलीमाया दश बजेसम्म काम गरेर घर फर्कन्छिन् । ‘घर गएर भात पकाएर खाँएपछि बस्तुभाउ हेर्नुपर्छ । बेलुका फेरि आउनै पर्‍यो । राति सुत्नेबेलामा हात धेरै करकर खान्छ’, उनी भन्छिन्, ‘कहिलेकाहीँ त दुःखै गरेर जीवन बित्छ कि जस्तो लाग्छ ।’
६० वर्षीया सुन्तली तामाङ पनि बगर उत्खनन् गरेर गिट्टी र बालुवा चालेर आफ्नो दैनिकी बिताइरहेकी छिन् । उनको छोरा र बुहारीले पनि उनलाई साथ दिन्छन् । श्रीमान बितेको एक वर्ष पनि पूरा भएको छैन उनको । उनको तीन छोरा र एक छोरी छन् । ३ दिनमा एक ट्रिप बालुवा जम्मा गर्छिन्, उनी ।

यस्तै, फुर्सदको समयमा बालुवा चाल्न आउँछिन्, कविता दोङ । उनले महिनामा २ ट्रिप बालुवामात्र बेच्ने गरेकी छिन् । घरमा समय कटाउन गार्‍हो हुँदामात्र बगरमा काम गर्न आउने गरेको कविताले बताइन् ।
साउन महिनामा खोलामा ठूलो भेल आउँछ । भेलले बालुवा, ढुंगा, गिट्टी ल्याएर थुपार्छ । यसरी थुपारेको नदीजन्य पदार्थले बगरको सतह माथि बढाएको स्थानीय इमानसिंह पाख्रिनको भनाई छ । बगरको सतह बढ्दा खोला पनि बस्ती नजिकैबाट बग्छ । खोलामा स्थानीय व्यक्तिहरुले गिट्टी र बालुवा बेच्ने गरेका छन् । यो उनीहरुको आम्दानीको स्रोत बनिसकेको छ ।

उनीहरुले बगर उत्खनन् गर्दै जाँदा खोलाको बीच भागमा केही गहिरो भएको छ । अब आउने बर्षादेखि खोला बस्ती छेउबाट नभएर बीचबाट बग्ने अनुमान गर्छन्, सूर्यबहादुर थिङ । उनले गर्दा नै स्थानीहरुले बगरमा गिट्टी, बालुवा उत्खनन् गर्न पाएका हुन् । विगत ५ वर्षदेखि उनी बीच भागबाट खोला गहिराउनुपर्ने भन्दै आएका छन् । तर अहिले बगरमा धेरै परिवारका सदस्यहरुले रोजगारी पाएको देख्दा खोला गहिराउनुपर्ने आवाज उठाउँदैनन् । ‘आफ्नो खुट्टामा आफैंले बन्चरो कसरी हान्नु ?’, उनी भन्छन् ।