लागूऔषध अफिमसहित पक्राउ परेका शशी र दीपक ।

हेटौँडा ः मकवानपुर प्रहरीले लागूऔषध अफिमसहित २ जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ ६ बजेको समयमा मकवानपुरको राक्सिराङ गाउँपालिका–५, बोटबारीमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले पैदलयात्रीहरुको साथबाट लागूऔषध अफिम बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीले बारा जिल्लाको कलैया नगरपालिका–४ का १८ वर्षीय दीपक साह र सिम्रनगढ नगरपालिका–१ का १९ वर्षीय शशी मुखियाको साथबाट अफिम बरामद गरेको जनाएको छ । प्रहरीले उनीहरुले बोकेको कालो झोला भित्र प्लाष्टिकले बेरेको अवस्थामा २ किलो १४० ग्राम लागूऔषध अफिम बरामद भएको प्रहरीले जानकारी दिएको छ । लागुऔषधसहित दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मनहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।