देशभरका ३ सय भन्दा बढी सामुदायिक रेडियोहरुको साझा संस्थाको रुपमा परिभाषित गर्ने गरिएको सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को सातौं अधिवेशन तथा १५ औं वार्षिक साधारणसभा फागुन २५ र २६ गते संघीय राजधानी काठमाडौंमा जात्रा नै भयो । स्वास्थ्य प्रतिकुल रहँदा रहँदै र जाने इच्छा नहुँदा नहुँदै पनि सहभागी हुने अवस्था रह्यो । जिल्लाबाट उम्मेदवार हुने साथीहरुले सहभागिताका लागि गरेको आग्रह टार्न सकिएन । हुन त आफ्नो संस्था समेत सदस्य रहेको अकोराबमा सहभागी हुनु जिम्मेवारी र कर्तव्य समेत हो । तर, राजनीतिक दल र ति दल सम्वद्ध संगठनहरुमा हुने गैरव्यावसायिक क्रियाकलापले समाजका सानो भन्दा सानो समूहमा पारेको नकारात्मक प्रभावका कारण अकोराबको भेलामा म जस्तो गैरदलीय सदस्यको सहभागिता भूमिकाविहिन हुने निश्चित थियो ।
यद्यपि फागुन २४ गते कार्यक्रममा सहभागी हुन दुईजना भाईहरुसँगै काठमाडौं पुग्यौं । वार्षिक साधारणसभा एवम् अधिवेशन समेत भएकोले सदस्यको रुपमा केही न केही जिम्मेवारी महसुस हुँदो रहेछ । सहभागी हुन भनेर पुगेको केही घण्टामै करिब राती साढे ११ बजे अकोराबका अध्यक्ष सुवास खतिवडा र महासचिव गोविन्द देवकोटाको संयुक्त हस्ताक्षरसहित साधारणसभा र अधिवेशन स्थागित गरिएको विज्ञप्ति सार्वजनिक भयो । कुनै विशेष कारण नभई अमुक ढंगले कसैको डर र धाक धम्कीका कारण साधारणसभा र अधिवेशन स्थगित गर्ने विज्ञप्ति असाधारण थियो । नागरिक अधिकारको रक्षा गर्न अग्रसर हुनुपर्ने सञ्चार माध्यमको समेत साझा संस्था अमुक ढंगले डर र धाकको हवाला दिएर देशभरबाट प्रतिनिधि आइसक्दा अर्को सूचना नभएसम्मका लागि भनेर सूचना आउँदा नमज्जा लाग्यो ।
देशभरका प्रतिनिधि काठमाडौं आइसक्दा साधारणसभा र अधिवेशन स्थगित गर्ने निर्णय गर्नुमा कसैको डर, धाक, धम्की नभई फागुन २४ गतेसम्म बहालवाला अध्यक्ष, महासचिव र कोषाध्यक्ष आसन्न अधिवेशनबाट अर्को कार्यकालका लागि भूमिकाविहिन हुने गरी उनीहरु इतरको समूहले अधिवेशनमा एकजुट भएर नयाँ नेतृत्व चयन गर्ने अवस्था नै प्रमुख कारण बनेको थियो । फागुन २४ गते मध्यरातको विज्ञप्तिसँगै साधारणसभा र अधिवेशन सुरु हुन्छ कि हुन्न भन्ने आशंकाका बीच साधारणसभा आयोजनास्थल काठमाडौंको कान्तिपथस्थित एल्लो प्यागोडा होटलमा पुग्यौं । होटल पुग्दा अध्यक्ष, महासचिव, कोषाध्यक्ष बाहेक कार्यसमितिका उपाध्यक्ष, सदस्यहरुको एक समूह साधारणसभा आयोजना गर्ने तयारीमा देखिए ।
अध्यक्ष, महासचिव, कोषाध्यक्ष र प्रमुख कार्यकारीको अनुपस्थितिमा अकोराबको साधारणसभा र अधिवेशन कसरी सम्भव होला भन्ने अन्यौलको स्थिति देखियो । अध्यक्ष, महासचिव, कोषाध्यक्ष र प्रमुख कार्यकारीको अनुपस्थितिमा उपलब्ध कार्यसमितिका पदाधिकारीले उपाध्यक्ष अर्जुन गिरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुका साथै अन्य उपलब्ध सदस्यहरुबाटै कार्यवाहक महासचिव र कोषाध्यक्षको जिम्मेवारी तोकेर साधारणसभा सुरु गर्ने र अधिवेशन तथा साधारणसभा स्थगित गरेको विज्ञप्ति मध्यरातमा जारी गर्दै सम्पर्कविहिन बनेकाहरुलाई २४ घण्टे लिखित स्पष्टिकरण सोध्ने निर्णयसहित साधारणसभा सुरुवात गरियो ।
भोलिपल्ट पदविहिन हुने स्थिति देखिएपछि संस्थालाई नै मृत तुल्याउने गरी अकोराबका अध्यक्ष, महासचिवसहित उनीहरुको समूहले गरेको अख्तियार दुरुपयोगको अवस्थालाई सामना गर्ने बलियो समूह उनीहरु नेतृत्वको कार्यसमितिले तत्काल देखाउने संकेत थिएन । तर, देशभरबाट आएका प्रतिनिधिले साथ दिएसँगै साधारणसभा तथा अधिवेशनलाई पूर्णता दिने अवस्था भने रह्यो । यद्यपि साधारणसभा र अधिवेशनको आयोजना हुनुमात्रै पर्याप्त थिएन । साधारणसभा र अधिवेशनको मर्मअनुसार अकोराबको अभिभावकत्व, नेतृत्वलाई पुष्टि गर्ने र सदस्य संस्थाका अपेक्षा, आवश्यकता, समस्या, उपलब्धी, चुनौति, आगामी रणनीतिका बारेमा हुनुपर्ने छलफलको अवस्था रहेन । साधारणसभा र अधिवेशनको सामना नगरी फरार भएका पदाधिकारीका कमिकमजोरी औँल्याउने, उनीहरुलाई सराप्ने र साधारणसभा तथा अधिवेशनको प्रक्रिया पूरा गर्ने बाहेक उल्लेखनीय कार्य केही हुन सकेन ।
फागुन २५ गते उद्घाटन सत्र प्रमुख अतिथि बिना नै सम्पन्न भयो । अतिथिहरु पनि विवादका कारण ठूला मान्छे नआउँदा हामी सानाले बोल्ने अवसर पायौं भन्दै दंग परेर भाषण गरिरहे । अकोराबको साधारणसभा महासचिव र कोषाध्यक्षको प्रतिवेदनमा देखिएका प्राविधिक त्रुटी, स्पष्ट आर्थिक विवरण प्रस्तुत हुन नसकेको भन्ने आलोचनाभन्दा बढी हुनै सकेन । अधिवेशनमा आए सदस्यहरुले आफ्ना कुरा राख्ने पर्याप्त अवसर समेत पाएनन् । फागुन २५ गते अन्यौलकै बीच फागुन २६ गते अधिवेशनसँगै नयाँ नेतृत्व चयन गर्ने अठोट गरियो । तर, अध्यक्ष, महासचिव, कोषाध्यक्षसँगै कार्यकारी प्रमुख समेत सम्पर्क विहिन मात्रै नभई अधिवेशनका लागि तयार पारिएका प्रतिनिधि कार्ड र अन्य कागजात समेत लिएर हिँडेको भन्ने स्थितिमा फागुन २६ गते प्रतिनिधि कार्डबिना नै अधिवेशन सम्पन्न भयो ।
अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने पक्ष पनि उस्तै रह्यो । यहा“ बुढी मरी भन्दा पनि काल पल्केला कि भन्ने पिर त सबैले गर्छन् । तर, त्यो पल्केको कालको पात्र आफैं बनिरहेको त होइन ? भन्ने हेक्का कसलाई हुनु । अकोराब सामुदायिक रेडियो सञ्चालकहरुको संस्था नभई राजनीतिक दलमा आस्था राख्ने समुदायिक रेडियो सञ्चालकहरुको पद भागबण्डा गरी कब्जा गर्ने संस्था मात्रै बन्न पुग्यो । साधारणसभा र अधिवेशन असाध्यै असाधारण रुपमा सञ्चालन भइरहँदा को उम्मेदवार हुने ? किन उम्मेदवार हुने ? उम्मेदवार हुनेको प्रतिवद्धता, योग्यता केही नहेरी दलीय कोटाका आधारमा उम्मेदवार भएर नयाँ नेतृत्व अबेर राती घोषणा गरियो ।
यो सिंगो जात्राको प्रत्यक्षदर्शी, सहभागी भएर असाध्यै दिक्क लागेपछि हाम्रो तीन सदस्यीय टोली फागुन २६ गते साँझ ७ बजे एल्लो प्यागोडाबाट गोडा उठाएर हेटौंडा फर्कियौं । अझ भगौडा अध्यक्ष र महासचिवले अकोराबको चुनावको वैधतामाथि प्रश्न उठाउँदै अकोराबकै लेटरहेडमा अर्को विज्ञप्ति प्रकाशित गर्ने दुस्साहस गरेछन् । अकोराबलाई अभिभावक ठानेर, केही सकारात्मक सन्देश, आशा र अपेक्षा लिन पाइन्छ कि भनेर आउनुभएकी एकजना मुगुकी रेडियो सञ्चालकले साधारणसभामा सहभागिताका लागि मात्रै डेढ लाख रुपैयाँ खर्चेर आएको सुनाउनु भयो । त्यो सुनेपनि हामी २/४ हजार खर्चेर जानेको दुखेसो के सुनाउनु भनेर केही कुरा गर्ने आँट गरिएन ।
तर, अकोराबलाई सामुदायिक रेडियोकै अभिभावक बनाउने हो भने दातृ निकायको करोडौं बजेट र कार्यक्रमको प्रयोगशालाको रुपमा अकोराबलाई दुरुपयोग नगरौं । सदस्य रेडियोबाटै लेबी उठाएर साझा संस्थाको रुपमा बनाऔं भनेर आव्हान गरेँ । देशभरका ३ सय भन्दा बढी संख्यामा रहेका सामुदायिक रेडियोको साझा संस्थाले सबै सदस्य रेडियोलाई सामुदायिक व्यवहारबाट एकतावद्ध गरौं भन्ने कुरा राखेँ । यद्यपि मेरा कुरालाई लागु गर्ने अवस्थामा अकोराब कुनै पनि समय पुग्नेछैन भनेर पहिले नै भनिदिएको थिएँ ।
हरेक राजनीतिक दलमा नेताले गुटगत राजनीति गर्यो भनेर ठूला ठूला स्वरमा प्रश्न गर्ने देशभरका रेडियोकर्मीका अभिभावकको रुपमा रेडियो सञ्चालकहरुको साझा संस्था भनिएको अकोराबको साधारणसभा र अधिवेशनलाई हेर्दा विरक्त लाग्दो रह्यो । विद्यार्थी, शिक्षक, कर्मचारी, मजदुर, किसान, पानवाला कुनै संस्थाको साधारणसभा र अधिवेशन यदि यसरी बिथोलिएको भए हरेक सञ्चार माध्यममा ब्रेकिङ न्यूज आउँथ्यो, भोलिपल्टका ब्रोडसिट दैनिकका प्रमुख समाचार बन्थे । दुधको साक्षी बिरालो बनाएर राखिए जस्तै अकोराबको साधारणसभा र अधिवेशनको हविगत भयो । स्मरण रहोस्, कसैले पद पाए होलान्, कसैले पद नपाएको भन्दै मुद्दामामिला गर्लान् । तर, म र म जस्ता रेडियोकर्मीले एल्लो प्यागोडाको सभाहलबाट मुलुक कहिले सुध्रन्छ त अब भनेर राजनीतिज्ञ, व्यवसायी, शिक्षक, कर्मचारी, किसान र विद्यार्थीलाई प्रश्न गर्ने नैतिक आधार भने गुमाएर आएका छौं । सुरक्षामा खटिएका प्रहरीलाई सोधेको थिएँ, ‘पत्रकारहरुको यस्तो कार्यक्रम देख्दा तपाइँलाई कस्तो लाग्यो ?’ हिच्किचाउँदै ती प्रहरीले भने, ‘यस्तो नभइदिएको भए हुन्थ्यो ।’
(लेखक हेटौंडाबाट प्रसारण हुने सामुदाायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्जको स्टेशन म्यानेजर हुनुहुन्छ ।)