हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको रोप–वेको लोडिङ स्टेशन बन्द भएको दुई दशक भएको छ । विगत २ दशकभन्दा बढी समयदेखि बन्द भएको रोप–वेको खाली जमिनमा सवारी परीक्षण कार्यालय हेटौंडाको भौतिक संरचना निर्माण गरिने तयारी भइरहेको छ ।
हेटौंडा–१, चौकीटोलस्थित रोप–वेको खाली जमिनमा सवारी परीक्षण कार्यालयको भौतिक संरचना बनाइने प्रक्रिया अगाडि बढाइएको सवारी परीक्षण कार्यालका प्रमुख कृष्णकुमार यादवले जानकारी दिनुभयो । कार्यालयको भौतिक संरचनाको डीपीआर तयार गर्न कन्सल्टेन्ट नियुक्त गरिएको र अन्तिम रिपोर्ट अबको १ हप्ताभित्र प्राप्त हुने उहाँले बताउनुभयो ।
संघीय सरकारअन्तर्गत्को सवारी परीक्षण कार्र्यालय अहिले हेटौंडा–११ स्थित थानाभर्याङमा भाडाको घरमा सञ्चालित छ । मासिक ७१ हजार रुपैयाँ घरभाडा तिर्ने गरेको कार्यालय प्रमुख यादवले बताउनुभयो । हेटौंडा–१, चौकीटोलस्थित रोप–वेको ३२ कठ्ठा जग्गा हाल यातायात व्यवस्था विभागको नाममा रहेको छ । सञ्चालनमा रहँदासम्म ५२ कठ्ठा क्षेत्रफल रहेको रोप–वेको जग्गा अहिले ३२ कठ्ठामा सिमित भएको हो । रोप–वेको जमिनमा विभिन्न सरकारी कार्यालयका भवन निर्माण गरिएको छ ।
अहिले उक्त जमिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय तथा बागमती प्रदेश सरकारको दुईवटा मन्त्रालयलगायतका केही कार्यालयहरु रहेका छन् । यातायात व्यवस्था विभागबाट ती कार्यालयहरुले आफ्नो मातहतमा जमिन ल्याएर भोगचलन गर्दै आएका छन् । वि.संं २०१४ सालमा रोप–वेमा सामान राखेर हेटौंडाबाट काठमाडौंसम्म ओसारिने गरिन्थ्यो । राणा प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं १९८२ मा मकवानपुरको भीमफेदी नजिकको धोर्सिङबाट काठमाडौंको थानकोट नजिकको मातातीर्थसम्म २२ किलोमिटरमा रोप–वे लाइन बनाएका थिए । पछि धोर्सिङदेखि हेटौंडासम्म र मातातीर्थदेखि टेकु दोभानसम्म रोप–वेलाई लम्ब्याएर ४२ किलोमिटरमा सञ्चालन गरिएको थियो । काठमाडौंसँग सडक सम्पर्क नभएको अवस्थामा गाडीबाट हेटौंडा हुँदै भीमफेदी आइपुगेका सामानहरु मेसिनरी डिब्बामा लोड गर्ने र काठमाडौंसम्म लगिन्थ्यो ।
हेटौंडा–काठमाडौं रोप–वे वि.सं. २०५४ सालसम्म सञ्चालन भइरहेको थियो । तत्कालीन अवस्थामा हेटौंडा सिमेन्ट तथा हेटौंडा औद्योगिक क्षेत्रबाट उत्पादन भएका विभिन्न सामानलाई रोप–वेबाट काठमाडौं पठाइने गरिएको थियो । सडक यातायातको तुलनामा ढुवानी लागत निकै सस्तो पर्ने भएकाले हेटौंडाका अधिकांश उद्योगले रोप–वेबाट काठमाडौं सामान पठाउँथे । रोप–वेले सुरुवातमा प्रतिघण्टा ८ टन सामान बोक्थ्यो भने पछि विस्तार भएर हेटौंडासम्म पुर्याइएपछि प्रतिघण्टा २५ टन सामान बोक्न सक्थ्यो ।
हेटौंडाका अधिकांश स्थान र अन्य ठाउँमा रोप–वेमा लोड गरिएका सामानहरु हुकिङ गरेर चोरी हुने क्रम बढ्दै जाँदा र रोप–वेका भौतिक संरचना जीर्ण हुँदै गएका कारण रोप–वे सेवा बन्द हुन पुगेको हो । बन्द भएलगत्तैदेखि हेटौंडाको रोप–वेमा सुरक्षागार्डका रुपमा हालसम्म कार्यरत वीरबहादुर तामाङले अहिले रोप–वेको लोडिङ स्टेशनमा रहेका धेरै धेरै समानहरु पनि चोरी भैसकेको बताउनुभयो ।
हालसम्म पनि बन्द भएका दिनमा चलिरहेका डिब्बा जुन स्थानमा थिए, जहाँसम्म आइपुगेको थियो, त्यहि स्थानमा छ । रोव–वेको अधिकांश तार चोरी भइसकेको छ । रोप–वेमा ८ वटा टर्मिनल र ७ स्टेशन थियो भने कुल ३ सय ६० वटा डिब्बा सामान ओसार्न प्रयोग हुने गरेको थियो ।
सवारी परीक्षण कार्यालयले रोप–वेको जमिनमा रहेका सामग्रीको लगत संकलनको तयारी गरेको छ । रोप–वे बन्द भएका कारण त्यतिकै थन्किएका डिब्बा, तार, नटबोल्टु, सवारी साधनलगायत कवाडी सामानहरुको गणना गर्नका लागि भौतिक पूवार्धार मन्त्रालयसँग बजेट माग गरे पनि आइनसकेको कार्याल प्रमुख यादवले बताउनुभयो । रोप–वेको पुराना सामानहरुको अवस्था के कति छ भने कतैबाट तथ्यांक उपलब्ध हुन नसकेको उहाँले बताउनुभयो । यसअघि जिल्ला प्रशासन कार्यालय मकवानपुर, स्थानीय जनप्रतिनिध तथा सवारी परीक्षण कार्यालयका इन्जिनियरहरुले रोप–वेको बन्द स्टेशनको निरीक्षण गरिसकेका छन् ।
यसअघि रोप–वेको लोडिङ स्टेशन भएको स्थानमा हेटौंडादेखि काठमाडौंसम्म चल्ने संयुक्त सुमोे काउन्टर राखिएको थियो । हेटौंडा बजारमा भिडभाड नहुने तथा नागरिकले सहजरुपमा सेवा पाउने भनेर राखिएको काउन्टर प्रभावकारी ढंगले चल्न सकेन । अहिले बजारको मुख्य चोकहरुमा सुमो काउन्टर खुलिसकेको छ । यस्तै लागूऔषध प्रयोगकर्ताहरुको अखडा बनेको रोप–वेको लोडिङ स्टेशनमा प्रहरीले निगरानी बढाएपछि लागूऔषध प्रयोगकर्ताहरुको जमघट कम हुने गरेको छ ।