हेटौंडाः हेटौंडामा मिस मकवानपुर सिजन–३ सौन्दर्य प्रतियोगिता हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै कलिउड सुपर डान्स एन्ड फिटनेस प्रालि एवम् स्पाक्लिङ सिज प्रालिको सहकार्यमा मिस मकवानपुर सिजन–३ हेटौंडामा हुने आयोजकले जनाएको हो ।
स्पाक्लिङ सिजद्वारा मिस मकवानपुर २०१८ एवम् कलिउड सुपर डान्स एन्ड फिटनेसद्वारा आयोजित मिस कलिउड २०१९ सफल भएपछि दुबै संस्थाको सयुक्त आयोजनामा मिस मकवानपुर सिजन–३ प्रतियोगिता हुन लागेको हो । कलिउड सुपर डान्स एन्ड फिट्नेस प्रालिका सञ्चालक सुजन श्रेष्ठले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी जेठबाट अडिसन सुरु भई भदौसम्म फाइनल हुने जानकारी गराउनुभयो ।
प्रतियोगितामा विजेता अर्थात् मिस मकवानपुरलाई हेटौंडा स्कूल अफ म्यानेजमेन्टले १ वर्षसम्म ब्रान्ड एम्बेस्डर बनाउने कलेजका प्रिन्सिपल पुरणबहादुर जोशीले बताउनुभयो । उहाँले सौन्दर्य प्रतियोगिताको विजेता बनेर समाजमा योगदान पुर्याउन सक्ने बताउनुभयो । सौन्दर्य व्यवसाय तथा सौन्दर्यसम्बन्धी विविध कार्यक्रम गर्दै समाज परिवर्तनमा अहम् भूमिका खेल्नसक्ने बताउनुभयो । सौन्दर्य प्रतियोगितामा लाग्नेहरु समाजसेवी बन्नुपर्ने उहाँको भनाई थियो ।
प्रतियोगिताको उपाधि विजेताले चाँदीको ताज र नगद एक लाख रुपैयाँ तथा विभिन्न पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले नगद ५० हजारसहित अन्य पुरस्कार प्राप्त गर्नेछन् । तृतीय हुनेले नगद २५ हजारसहित आकर्षक पुरस्कार प्राप्त गर्नेछन् भने भ्यूअर्स च्वाइसले नगद २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुन १६ वर्ष पूरा भई २८ वर्ष ननाघेका अविवाहित नेपाली नागरिक हुनुपर्ने बताइएको छ । सहभागीको उचाई ५ फिट हुनुपर्नेछ भने शैक्षिक योग्यता एसईई उत्तीर्ण हुनुपर्ने प्रावधान रहेको छ । प्रतियोगितामा करिब २८ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।