हेटौंडाः शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सरोकार निकाय र विद्यालयका प्राधानाध्यपकहरुसँग विद्यार्थीको उपलब्धि परीक्षण तथा कार्यसम्पादन परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका उपसचिव रुद्रहरि भण्डारीले विद्यालयका विद्यार्थीको उपलब्धि परीक्षणसँगै कमजोर नतिजा देखिएकाहरुको नतिजा सुधार गर्न सकेमा परीक्षण कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।
स्थानीय सरकारले विद्यालयको शैक्षिक गुणस्तर बढाउन सहयोग गर्नुपर्ने र स्वयम् विद्यालयले विद्यालयको मूल्याङ्कन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक हरिप्रसाद अर्याल र केन्द्रका अधिकृत प्रकाश खरेलले अन्तरक्रिया कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको परीक्षण तथा अनुसन्धानबाट प्राप्त नतिजाका आधारमा नीतिगत सुझाव प्रदान गर्ने उद्देश्यले आर्थिक वर्ष २०७५-०७६ मा विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण, कार्यसम्पादन परीक्षणजस्ता अनुसन्धान गरेको बताउनुभएको छ ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको उपलब्धि परीक्षणमा कक्षा १० को गणितमा ३६ प्रतिशत, विज्ञानमा ६३ प्रतिशत, नेपालीमा ३७ प्रतिशत र अंग्रेजीमा ५१ प्रतिशत विद्यार्थीले न्यूनतम सिकाई पनि हासिल गर्न नसकेको केन्द्रका निर्देशक अर्यालले जानकारी दिनुभयो । चारवटै विषयमा क्रमशः बागमती, गण्डकी र लुम्बिनी प्रदेशको नतिजा औसतभन्दा राम्रो रहेको छ भने कर्णाली, सुदूरपश्चिम र प्रदेश २ को नतिजा कमजोर छ । छात्रा र छात्रको उपलब्धि करिब समान रहेको उहाँले बताउनुभयो ।
औसतको अधारमा छात्राको उपलब्धि गणितमा ४ सय ९५ छ भने छात्रको ५ सय १० रहेको छ । विज्ञानमा छात्राको ४ सय ९९ र छात्रको ५ सय ९ रहेको छ । त्यसैगरि नेपालीमा छात्राको ५ सय ६ भने छात्रको ५ सय १ छ । अंग्रेजीमा छात्राको ४ सय ९६ छ भने छात्र ५ सय ६ छ । विद्यार्थीको सामाजिक, आर्थिक अवस्थासँग उपलब्धिलाई तुलना गरेर विश्लेषण गर्दा जति धेरै सामाजिक, आर्थिकस्तर र सुविधा छ, त्यति धेरै सिकाई उपलब्धि भएको छ ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले प्रमाणमा आधारित भई सरोकारवालालाई नीतिगत सुझाव प्रदान गर्ने उद्देश्यका साथ र्आिर्थक वर्ष २०७५-७६ मा ९ सय ९६ वटा सामुदायिक माविमा गरेको कार्यसम्पादन परीक्षणमा ८३ प्रतिशत विद्यालय सामान्यस्तरमा, १४ प्रतिशत मध्यमस्तरमा र २ वटा विद्यालय उत्तमस्तरमा रहेको छ । नमुना छनौट र परीक्षण नासा २०१९ अनुसार ७ प्रदेशका १२ सय विद्यालयका ३ हजार ६ सय शिक्षक र एक हजार २ सय प्रधानाध्यापक अध्ययनमा सहभागी रहेका थिए । ४ हजार ८ सय जना विद्यार्थीको परीक्षण गरिएको थियो ।
गणित विषयको उपलब्धि सामुदायिक विद्यालयको ५ सय ९१ र संस्थागत विद्यालयको ५ सय ४२ रहेको छ । विज्ञानमा सामुदायिक विद्यालयको ४ सय ९१ र संस्थागत विद्यालयको ४ सय ४० हुँदा नेपालीमा सामुदायिक विद्यालयको ४ सय ९६ र संस्थागत विद्यालयको ५ सय १७ सिकाई उपलब्धि रहेको थियो । २०२० को परीक्षणमा सातै प्रदेशका नमुना छनौटमा ३३ जिल्ला परेका छन् । जसमा ५ सय ८० विद्यालयका ७ हजार ४ सय ३४ विद्यार्थीको सामूहिक परीक्षण तथा २ हजार ८ सय ८९ विद्यार्थीको व्यक्तिगत परीक्षण गरिएको बताइएको छ ।
क्षेत्रगतरुपमा विद्यालयहरुका नतिजा २०७५-७६ मा औसत लगानी ५६ प्रतिशत, औसत प्रक्रिया ५६.३ प्रतिशत र औसत उपलब्धि ६०.४ प्रतिशत रहेको केन्द्रले जानकारी दिएको छ । कमजोर लगानी भएपनि प्रक्रिया राम्रो गरेका विद्यालयहरुको उपलब्धि राम्रो पाइएको थियो । ५१ प्रतिशत विद्यालयहरुमा नीतिगतरुपमा तोकिएभन्दा न्यून संख्यामा विद्यार्थीहरुलाई सेवा प्रदान गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका सूचना अधिकृत कृष्णप्रसाद पौडेलले कार्यक्रम समापन गर्नुभएको थियो ।