प्रथम स्थान हासिल गरेका भुटनदेवी माविका विद्यार्थीहरु ।


हेटौंडाः जेसीआई हेटौंडाले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा भूटनदेवी माध्यमिक विद्यालय प्रथम भएको छ । जेसीआई हेटौंडाको जेसीज सप्ताह कार्यक्रमअन्तर्गत् पहिलो दिन बुधबार अम्बिकादेवी कार्की स्मृति हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

मकवानपुर बहुमुखी क्याम्पसमा भएको प्रतियोगिता जेसीआई हेटौंडाका अध्यक्ष लिसन बस्नेतको सभाध्यक्षतामा भएकोे हो । मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शंकरप्रसाद उपाध्यायको प्रमुख आतिथ्यता रहेको प्रतियोगितामा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अरुणकुमार दाहालको विशिष्ट आतिथ्यता थियो ।

हेटौंडा उपमहानगरभित्रका १३ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा भूटनदेवी माध्यमिक विद्यालय प्रथम, सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालय द्वितीय तथा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय तृतीय भएको कार्यक्रम संयोजक संग्राम बल लामाले जानकारी दिनुभयो । प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ९ हजार, ६ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।