प्रहरीले बरामद गरेको लागूऔषधसहित प्रेम र निकिता ।

हेटौँडा : ठूलो परिमाणमा लागूऔषधसहित भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–८ का २६ वर्षीय प्रेमप्रसाद दाहाल र २२ वर्षीय निकिता पुडासैनीलाई मकवानपुर प्रहरीले हेटौँडाबाट पक्राउ गरेको छ । शनिबार बिहान ९ः१५ बजेको समयमा हेटौँडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट उनीहरुलाई एक हजार एक सय ८९ ट्याब्लेट लागूऔषध नाइट्रोभेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ना ६४ प ३१७६ नम्बरको स्कुटरमा प्रेम र निकिता बीरगन्जबाट काठमाडौंतर्फ जाँदै थिए । उनीहरुलाई रोकेर सुरक्षाजाँच गर्ने क्रममा प्रहरीले लागूऔषध बरामद गरेको हो । प्रहरीले मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमै राखेर अनुसन्धान गरिरहेको जनाएको छ । मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु शर्माका अनुसार प्रेम र निकिताको अघिल्लो आपराधिक घटनामा संलग्नता देखिएको छैन । उनीहरु लागूऔषध प्रयोगकर्ता हुनुका साथै लागूऔषधको कारोबार नै गर्ने गरी यति ठूलो परिमाणमा तस्करीको प्रयास गरिएको देखिएको प्रवक्ता अर्यालले बताउनुभयो ।

छिमेकी मुलुक भारतको सीमा क्षेत्र रक्सौलबाट लागूऔषध प्रयोगकर्ता तथा कारोबारीले लागूऔषध तस्करी गर्ने गरेका छन् । रक्सौलबाट हेटौँडा हुँदै राजधानी काठमाडौंसहित देशका प्रमुख सहरमा लागूऔषध तस्करी गर्ने गरेका छन् ।