उपाधिसाथ शारदा माध्यमिक विद्यालयको टिम ।

हेटौँडा : पाँचौं संस्करणको जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि मकवानपुरगढी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयले जितेको छ । आइतबार हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको फाइनल खेलमा बकैया गाउँपालिकास्थित महेन्द्र माध्यमिक विद्यालयलाई ३–० को सोझो सेटले हराउँदै शारदा माविले उपाधि जितेको हो । शरदा माविले २५–१५, २५–२१ र २५–१९ को सोझो सेटमा नतीजा आफ्नो पक्षमा पारेको हो ।

प्रतियोगिताको उपाधि विजेता शारदा माविको टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता महेन्द्र माविको टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, सेमिफाइनलमा पराजित भएका हेटौँडा–५ स्थित जीएस निकेतन र मकवानपुरगढी गाउँपालिकास्थित भानु माध्यमिक विद्यालयको टिमले ५/५ हजार रुपैयाँ नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै शारदा माविको आशिष घलानले ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । उत्कृष्ट स्पाइकर शारदाकै अमर गोले र उत्कृष्ट सेटर महेन्द्र माविका प्रकाश थापा मगरले २÷२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडाको आयोजना, शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापन तथा हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माविको सहव्यवस्थापनमा सम्पन्न भएको प्रतियोगितामा २४ वटा विद्यालयको सहभागिता रहेको थियो ।

शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दहालको अध्यक्षतामा तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता रामेश्वर रानाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण भएको हो । पुरस्कार वितरण समारोहमा ४ नम्बर वडाध्यक्ष नवीन सिग्देल, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मुक्तान, आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक रामसागर गुरागाईँ लगायतको उपस्थिति रहेको थियो ।