हेटौँडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष पदमा प्रा.डा. दिनेश कुमार लम्साल नियुक्त हुनुभएको छ । आइतबार प्रा.डा. लम्साललाई ४ वर्षे कार्यकालका लागि शिक्षाध्यक्ष नियुक्त गरिएको हो ।
बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले शिक्षाध्यक्ष पदमा प्रा. डा. लम्साललाई नियुक्त गर्नुभएको हो । प्रदेशमा स्वास्थ्य मन्त्रालय रहेपनि कानून संशोधन नहुँदा उक्त मन्त्रालयले अधिकार पाउन सकेको छैन । जसका कारण स्वास्थ्य मन्त्रीले नियुक्त गर्नुपर्ने शिक्षाध्यक्ष सामाजिक विकास मन्त्रालय मार्फत् गरिएको हो ।
प्रा.डा. लम्साललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को दफा १९ उपदफ (१) अनुसार शिक्षाध्यक्ष पदमा नियुक्त गरिएको हो । गत वैशाख २०८१ मा मात्र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा नियुक्त हुनुभएका उहाँलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त गरिएको हो ।
इमर्जेन्सी तथा फेमिली मेडिसिनका विशेषज्ञ रहनुभएका लम्साल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नैतिक पुनरावलोकन समिति सदस्य समेत भइसक्नुभएको छ । सिभिल अस्पतालमा १५ वर्ष काम गर्नुभएका लम्साल यसअघि बीर अस्पतालमा ७ वर्ष प्राध्यापन गर्नुभएको थियो । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. सुरेन्द्र शेरचनले राजिनामा दिनुभएपछि शिक्षाध्यक्ष पद रिक्त रहेको थियो ।