प्रकृति गिरी, कक्षाः ११ हेटौंँडा स्कुल अफ म्यानेजमेन्ट

म हाँस्दा हिमाल हाँस्छ अरे, मैले चालेका हरेक पाइलामा लक्ष्मीको आगमन हुन्छ अरे, मेरो उपस्थितिले संसार नै सुन्दर हुन्छ अरे, विभिन्न संस्कृतिमा मलाई देवी मानी पुजिन्छ अरे, थाहा पाउनुभयो म को हुँ । हो म त्यही नारी, आकाशको जनु भनेनी भन्नुस्, मन्दिरमा पुज्ने देवी भने पनि भन्नुस्, सृष्टिकै सुन्दर फूल भने पनि भन्नुस् किनकि मलाई थाहा छ नारी शब्द नै एक प्रशंसनीय शब्द हो र हर कोहीले सम्मान र इज्जतको नजरले हेर्ने गर्दछन् ।

वास्तवमा भन्नुपर्दा म त विशाल र अखण्ड नेपाल यो शिरमा सजाउने सूर्य र चन्द्र अङ्कित यो झण्डाको गौरवगान गाउने नेपाली चेली रहेछु । मारुनी सकेला देउडा रोदी, सेलोमा नाच्ने अनि झ्याउरे भाकामा नेपाली सार्भभौमिकताको गौरव गान गाउने म नेपालकी छोरी । संस्कृतिक भिन्नता, जातीय विविधताको सङ्गालोमा लुकेर बसेको मेरो छुट्टै पहिचान पनि छ । निलो आकाशमा चराहरु स्वतन्त्र भई उडे जस्तै मेरो पनि केही चाहाना, त्यही वेगमा उडाउने सपना छ । यो रुढीवादी चलन, कुसंस्कृतिलाई अस्विकार गरी सुनौलो समाजमा प्रगतिपथको पाइला चाल्ने मनको धोको छ । नारी भनी सधैँ हेपिएको र विकासमा सदैव पिछडिएको वास्तविकतालाई संसार अघि लिएर आउनु छ ।

आधुनिक समाज अरे, सबै नौलो तर नारी प्रतिको जिम्मेवारी र विचार पुरानै, त्यही कुसंस्कृति त्यही अपहेलना अनि कहिले हुने नारीको उत्थान भनी मोहोर लगाइएको म जस्तै हरेक चेलीको वास्तविक पहिचान । कुसंस्कृति र कुचलन त छँदैछ त्यसमाथि पनि घरी बलात्कार, घरी एसिड प्रहार सधैँ लाचार र पीडित हामी नारी ? अर्काको आक्रोशको सिकार उत्तेजनाको जाडको सितन पटक पटक बनिरहेको, स्वाभिमान र चरित्रलाई बारम्बार न्यायको तराजुमा जोखाइएको दैनिक कहानी पनि मेरो एक पहिचान हो । यो पुरुषप्रधान राष्ट्रमा नारीप्रतिको पुरानै सोचमा केही परिवर्तन चाहने, नराम्रा संस्कृति परिवर्तनशील र प्रगतिशिल होस् भन्ने चाह राख्ने, समाजले दबाएको मुक्तिको आवाज झन् बुलन्द बनाउने, कुसंस्कार र कुविचारको कैदबाट उन्मुक्त हुन चाहने र सबै चेली निर्मला। भागीरथी जस्ता लाखौं नारी नबनुन् भनी सरकार र समाजको गिद्दे नजर खोज्दै हिँडेने त्यही नारी ।

बलात्कृत भए तापनि, एसिड प्रहारले यो रुपरङ्ग जले तापनि शिर नझुकाई यो समाजमा रमाउन चाहने नारी, हजारौँ सपना यी आँखामा कैद गर्ने, दुःखले छट्पटिए पनि मुसुक्क हाँसी परिस्थितिसँग जुँध्ने, चरीझैँ स्वतन्त्र बाँच्ने चाहने, आफ्ना लागि नभई अरुका निम्ति बाँच्ने म परोपकारी नारी, पाउनु पर्ने हक अधिकारबाट वञ्चित भई पिछडिएको नारी र सँगसँगै स्वाभिमानी र संस्कारी भावनाको प्रतीक कहलिएकी, म उहीं नारी ।