हेटौंडाः बागमती प्रदेश सरकारले प्रदेश मातहतका ५ सरकारी अस्पतालहरुलाई ‘ख’ वर्गको एम्बुलेन्स खरिद गरेर हस्तान्तरण गरेको छ । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बागमती प्रदेशले एक करोड ४६ लाखमा ५ वटा एम्बुलेन्स खरिद गरेर आइतबार वितरण गरेको हो । केन्द्रले हेटौंडा अस्पताल, सिन्धुपाल्चोक अस्पताल, त्रिशुली अस्पताल, नुवाकोट अस्पताल र धादिङ अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

एम्बुलेन्सको कागजपत्र हस्तान्तरण गर्नुहुँदै मुख्यमन्त्री डोरमणि पौडेल ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एम्बुलेन्सको आवश्यक कागजपत्र र साँचो सम्बन्धित अस्पतालका अध्यक्ष र मेडिकल सुपरिटेण्डेण्टलाई हस्तान्तरण गर्नुभएको छ । २९ लाख २० हजार रुपैयाँका दरले एम्बुलेन्स खरिद गरिएको हो । ‘ख’ वर्गको एम्बुलेन्सले जोखिम भएका बिरामीहरुलाई बोक्न सहज हुने बताइएको छ । एम्बुलेन्समा एसीसहित, सक्सन मेशिन, अक्सिजन, ट्रली, स्ट्रेचर तथा जीपीए प्रणाली जडान गरिएको छ । चिकित्सक बसेर बाटोमै उपचार दिदै बिरामीलाई अस्पताल लैजान सकिने सुविधा एम्बुलेन्समा छ ।

प्रदेशका अस्पतालहरुको स्तर हेरेर आवश्यकताका आधारमा एम्बुलेन्स खरिद गरेर हस्तान्तरण गर्न खोजिएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । मुख्यमन्त्री पौडेलले आगामी वर्ष प्रदेश मातहतका सबै अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने बताउनुभएको छ । उहाँले प्रदेशभित्रका अस्पतालको भौतिक पूर्वाधारसँगै आवश्यक जनशक्तिको पनि व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री डोरमणि पौडेल ।

मुख्यमन्त्री पौडेलले अस्पतालहरु बागमती प्रदेश सरकारको मातहतमा आएपछि स्वास्थ्य क्षेत्रमा व्यापक परिवर्तन आएको भन्दै प्रदेशभित्रको १३ वटै अस्पतालको स्तरवृद्धि गरिने बताउनुभयो । उहाँले संघीय सरकारको मातहतमा चलेको भन्दा प्रदेश सरकार मातहतका अस्पतालहरु स्तरीकृतरुपमा सञ्चालन भएको दावी गर्नुभयो । सबै अस्पतालहरुलाई आवश्यक साधन र स्रोतको पूर्ण व्यवस्था गर्न लागिएको जनाउँदै मुख्यमन्त्री पौडेलले सबै जिल्लाका अस्पतालहरुको व्यवस्थित भवनहरु बनिरहेको स्मरण गराउनुभयो ।

बागमती प्रदेशका प्रमुख सचिव डा. मानबहादुर बीकेले जिल्लामा एकै स्थानबाट प्रिभेन्टिभ सेवा, क्लिनिकल सेवा र आयुर्वेद सेवा दिने खालको संरचना निर्माण गर्नुपर्ने बताउनुभयो । एउटै छानामुनिबाट ३ वटै सेवा दिने अभ्यास गर्नुपर्ने उहाँले बताउनुभयो । यस्तै प्रदेश सरकारले स्थानीय तहलाई स्वास्थ्य क्षेत्रमा ब्याकअप सपोर्ट दिनुपर्नेमा डा. बीकेले जोड दिनुभयो । उहाँले प्रदेश सरकारले सबै जिल्लाहरुमा विशेषज्ञ डाक्टहरुको पनि व्यवस्थापन गर्नुपर्ने देखिएको भन्दै प्रदेशकै केही अस्पतालमा एकदमै न्यून विशेषज्ञ रहेको जानकारी गराउनुभयो । उहाँले चिकित्सकीय सेवा गुणस्तरीय र सर्वसुलभ बनाउन पनि सोच्नुपर्ने धारणा राख्नुभएको थियो ।

सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्लेको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक रमेश अधिकारी, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख बसन्त अधिकारीलगायत पाँचै अस्पतालका अध्यक्ष र मेडिकल सुपरिटेण्डेण्टको उपस्थिति रहेको थियो ।