हेटौंडाः नेपाली राजनीतिक इतिहासमा सधैंजसो जोडिएर आउने शब्द हो, श्रमिक । श्रमिककै नाममा विभिन्न कार्यक्रम गरेर हजारौं शब्द खर्चिएर आफूलाई श्रमिक, मजदुरको नेता भन्न रुचाउनेहरु सत्तामा पुगेपनि मजदुर, किसान, श्रमिकको समस्याहरु भने सधैं ओझेलमा पर्ने गरेको छ ।
कहिले उखु किसानले आफ्नो उखुको मूल्य भुक्तानी नपाएर सिंहदरबारअगाडि धर्ना दिन बस्नुपर्छ त कहिले किसानहरु समयमा मल प्राप्त नहुँदा सडकमै उत्रिनुपर्ने अवस्था रहेको छ । अहिले उखु किसानको समस्याको कुरा सेलाउन नपाउँदै हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको मकवानपुर मैदा मिल प्रा.लि.को गलत प्रवृत्ति बाहिर आएको छ ।
शनिबार मकवानपुर मैदा मिलमा कार्यरत १९ जना श्रमिकको समूहले पत्रकार सम्मेलन गर्दै मैदामिलको गलत प्रवृत्तिको पर्दाफास गर्नुभएको छ । पत्रकार सम्मेलनमा बोल्दै श्रमिक धनकुमारी देवकोटाले वि.सं २०६२ सालदेखि हेटौंडामा सञ्चालन भएको उक्त मिलबाट सुरुवातको समयदेखि नै उत्पादित वस्तुको माग उच्च रहँदै आएको बताउनुभयो । देवकोटाले भन्नुभयो– ‘मिलमा कार्यरत सबै मजदुर, श्रमिकहरुले अहोरात्र खटिरहेका कारण कम्पनीले मुनाफा आर्जन गर्दै गयो । कम्पनीले मुनाफा आर्जन गरेमात्र सुविधासहित रोजगारीको निरन्तरता हुने भएकाले काम गर्दै गयौं’, देवकोटाले भन्नुभयो ‘विभिन्न राजनैतिक दल तथा ट्रेड युनियनहरुले बन्द, हड्ताल गर्दा पनि उद्योगको हित नहुने कार्य गर्नु हुँदैन भन्दै आफ्नो कार्यलाई लगनशील भएर काम गरिरहेका थियौं ।’
कोरोना महामारीको विषम परिस्थिति र लकडाउनको समयमा समेत उद्योग सञ्चालकको इच्छाअनुसार न्यून ज्यालादरमा आफ्नो ज्यान जोखिममा राखेर काम गर्दागर्दै लामो समयदेखि कामदारको तलब सुविधा वृद्धि नभएको देवकोटाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उद्योगमा कार्यरत स्थायी कर्मचारीको कट्टा गरिएको सञ्चयकोषसमेत २०७६ साल साउनदेखि जम्मा नगरेको देवकोटाले बताउनुभयो । सामाजिक सुरक्षा कोषमा जम्मा गर्न श्रमिकको तलबबाट कट्टा गरिएको रकम पनि २०७७ असारदेखि जम्मा नगरेको र वार्षिकरुपमा दिँदै आएको सुविधाहरु पनि २-३ वर्षदेखि कटौती गरिएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा उद्योगमा कार्यरत श्रमिक कुमार श्रेष्ठले उद्योगका प्रबन्धक निर्देशक रमेश राजकर्णिकारलाई विश्वास गरेर काम गर्दै आएका हामी मजदुरमाथि ठूलो अन्याय भएको बताउनुभयो । उद्योगका प्रबन्धक निर्देशक राजकर्णिकार राजश्व छलीको आरोपमा पटकपटक कारबाहीमा परेको श्रेष्ठले बताउनुभयो । उहाँले उद्योगबाट राजिनामा दिँदापनि पाउनुपर्ने रकम श्रमिकहरुले नपाएको र श्रमिकहरुलाई धम्क्याउने गरेको आरोपसमेत लगाउनुभयो ।
गत पुुस १ गते कम्पनीका प्रबन्ध निर्देर्शक राजकर्णिकारले बिना सूचना श्रम ऐन र उद्योगसँग सम्बन्धित कानुनको बेवास्ता गर्दै दादागिरी शैलीमा फोनबाट सबै मजदुरलाई भोलिदेखि उद्योगमा आउनु पर्दैन भन्दै कुनै पनि श्रमिकलाई तलब सुविधा दिन नसक्ने बताएपछि श्रमिकहरुको समस्या झन बढेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । उधोगमा हाल गहुँ र उत्पादित मैदा गरेर ७० लाख रुपैयाँ बराबरको सामानहरु मौज्दात रहेको र श्रमिकहरुले पाउनु पर्ने रकम पनि लगभग ८० लाख रुपैयाँ रहेको बताइएको छ ।
पत्रकार सम्मेलनमा श्रमिकहरुले आर्थिक अवस्था कमजोर भएका, ज्याला–मजदुरी गरेर परिवार पाल्न बाध्य मजदुरहरुलाई उद्योगले बिच्चली बनाएको भन्दै मजदुरहरुले आफूहरुले पाउनुपर्ने रकम र सुविधा प्राप्त भए सामूहिक राजिनामा दिने बताएका छन् । श्रमिकको तलब सुविधा प्राप्त नभएसम्म उद्योगबाट कुनै वस्तु बाहिर लान र बाहिरबाट भित्र ल्याउनसमेत नदिने श्रमिकहरुले बताएका छन् ।