नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले जेष्ठ पत्रकारहरुलाई पेन्सन उपलव्ध गराउने भएको छ । निरन्तर २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका मकवानपुरे पत्रकारले अब मासिक चार हजार रुपैयाँ पाउने भएका छन् । महासंघ जिल्ला कार्यसमितिले पेन्सनसम्बन्धी कार्यविधि बनाई पारित गरेको छ भने अब साधारणसभाबाट पारित भएपछि लागू हुनेछ । पेन्सनका लागि कोष निर्माण गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले कोषका लागि दश लाख रुपैयाँ उपलव्ध गराएको छ भने महासंघमा भएको दुई लाखसमेत राखेर हाल १२ लाखबाट कोष सुरुवात हुन लागेको हो । यसैगरी कोषमा रकम जम्मा गरिदिन महासंघले विभिन्न संघसंस्था र दाताहरुसमक्ष अनुरोध पनि गरेको छ ।
नेपाल पत्रकार महासंघका देशका सबै जिल्लामा शाखा छन् । तर, मकवानपुरले भने नयाँ सुरुवात गरेको छ । महासंघको केन्द्रीय समितिले समेत सुरुवात गर्न नसकेको काम जिल्ला शाखाबाट प्रारम्भ हुनु पत्रकारिता क्षेत्रमा लागेकाहरुलाई खुशीको विषय हो । शारीरिक क्षमताले सकुन्जेल निरन्तर पत्रकारिता गरेका अग्रजहरुले जीवनको उत्तराद्र्धमा आर्थिक अभावको जीवन बाँच्न बाध्य भइरहेको अवस्थामा मकवानपुर महासंघको सुरुवात अन्य शाखालाई नमूना हो भने केन्द्र र सूचना तथा सञ्चार मन्त्रालयका लागि चुनौती पनि हो । बागमती प्रदेश सरकारले पत्रकारका लागि पेन्सन दिने व्यवस्था गर्ने चर्चा भएको छ । प्रदेश प्रेस रजिस्ट्रारको कार्यालयले ३० वर्ष पत्रकारिता गरेको र ६० वर्ष उमेर पूरा गरेका ज्येष्ठ पत्रकारलाई पेन्सन दिने व्यवस्था सुरु गर्ने लागेको भनिए पनि अझै कार्यरुप लिएको छैन ।
सञ्चारगृहमा वर्षौसम्म काम गरेर रित्तोहात बिदा हुनुपर्ने नेपाली पत्रकारिता क्षेत्रका लागि पेन्सन कार्यक्रम प्रशंसनीय छ । कुनै पनि योजना सुरुवात गर्न जति कठिन छ, त्यसलाई निरन्तरता दिन वा दीर्घकालीन बनाउन त्यत्तिकै कठिनाई छ । तोकिएको मापदण्डभित्र आज मकवानपुरमा केहीमात्र पत्रकार छन् । तर भोलिका दिनमा संख्या बढ्दै जाने नै छ । थालनी गरिएको राम्रो योजना पनि आर्थिक अभावले केही वर्षपछि नै बन्द गर्नुपर्ने अवस्था हुनुहुँदैन । यसका लागि आम्दानीका श्रोतहरु सुनिश्चित गर्ने वा खोजी गर्ने काममा सक्रियता देखाउनै पर्दछ । नत्र सुखद् सुरुवातको दुःखद् अन्त्य हुने सम्भावना रहन्छ । पेसागत संस्था त्यसमाथि पनि पत्रकारहरुको संस्थाले गर्ने काम राजनीतिक नेताहरुको जस्तो सस्तो लोकप्रियताका लागि जस्तो मात्र हुनुहुँदैन ।
नयाँ काम गर्दा कमी कमजोरी स्वभाविक हुन्छन् । प्रतिस्पर्धाबाट नेतृत्वमा पुग्ने यस्ता संस्थाहरुमा सानो कमजोरीलाई पनि पहाड नै बनाउने प्रचलन छ । पेन्सन कार्यक्रम पनि आलोचनामुक्त हुन सक्दैन । उपलब्ध गराइने रकम, पेन्सन शब्द तथा श्रोतको अनिश्चितता र निरन्तरताका लागि टिप्पणी हुन सक्छन् । काम गरेको संस्थाबाट यसप्रकारको सुविधाका लागि पहल गर्नुपर्ने महासंघले नै पेन्सन बाँड्ने काममा लाग्न स्वभाविक नहोला तर सुरुवात गर्नु नै ठूलो उपलब्धि हो । हेटौंडा उपमहानगरपालिकाजस्तै जिल्लाका अन्य स्थानीय तहहरुले पनि कोष बृद्धिका लागि सहयोग गर्न आवश्यक छ । संघीयदेखि प्रदेश सरकार तथा अन्य संघसंस्था तथा शुभचिन्तकहरुले सहयोग गरेमा कोषको उद्देश्य पूरा हुनेछ । नत्र कोष बीचैमा नरोकिएला भन्न सकिँदैन । महासंघको केन्द्रले पनि जिल्लाको सुरुवातलाई प्रभावकारी र दीर्घकालीन बनाउनेतर्फ ठोस योजना ल्याउन आवश्यक छ ।