हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पारदर्शी र जिम्मेवार गैरसरकारी संस्थासँग स्थानीय सरकारले सहकार्य गर्ने बताउनुभएको छ । मेयरले गैरसरकारी संस्थालाई वास्ता गर्दैन भन्ने गुनासो आफूले पनि सुनेको उल्लेख गर्नुहुँदै उहाँले जिम्मेवार र पारदर्शी भएर आउने गैसससँग आफू सहकार्य गर्न तयार रहेको बताउनुभएको हो । ग्रामीण महिला सेवा केन्द्रको १९ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मेयर महतले नगरवासीको सेवाका लागि समुदायस्तरका संघ, संस्थासँग स्थानीय सरकारले सहकार्य गर्ने बताउनुभएको छ ।
गैससहरु पारदर्शी हुन नसकेकै कारण आफू सहभागी नहुने गरेको उल्लेख गर्नुहुँदै मेयर महतले ग्रामीण महिला सेवा केन्द्रका बारेमा पनि बुझेर मात्रै सहभागी भएको बताउनुभयो । समुदायमै आधारित भएर ग्रामीण महिलाको सशक्तीकरणमा उल्लेखनीय काम गरिरहेको भन्ने थाहा पाएपछि ग्रामीण महिला सेवा केन्द्रको साधारणसभामा सहभागी भएको र आगामी दिनमा महिला तथा बालबालिकाको क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाका योजना कार्यान्वयनमा ग्रामीण महिला सेवा केन्द्रसँग सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
आफूले नगर कार्यपालिकाको बैठक समेत पर्याप्त मुद्दा भएपछि मात्रै बोलाउने गरेको दावी गर्नुहुँदै पारदर्शिताको सन्दर्भमा राजनीतिक दलका नेता, कार्यकर्ता र जनप्रतिनिधिको समेत हिजो र आजको अवस्थालाई हेर्नु जरुरी भएको उहाँले बताउनुभएको छ । समुदाय र नागरिकका लागि भनेर राजनीति गरेर जनप्रतिनिधि बन्ने अनि आम्दानीको स्रोतबिना नै सुकिलो जीवन बिताउने अवस्थालाई नागरिकले गम्भीरताका साथ हेर्नुपर्ने मेयर महतले बताउनुभएको छ ।
ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष उर्मीला कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा ग्रामीण महिला सेवा केन्द्रकी संस्थापक अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीले ग्रामीण महिलाहरुको दयनीय अवस्थालाई सुधार गर्न दुई दशकअघि आफूहरुले ग्रामीण महिला सेवा केन्द्रको स्थापना गरेको बताउनुभयो । ग्रामीण भेगबाट आएका महिलालाई हेटौंडा बजारमा हेलाहा गरेका घटनाबाट दुःखी हुँदै महिला सशक्तीकरणको अभियान सुरु गरिएको उहाँको भनाइ थियो ।
ग्रामीण महिला सेवा केन्द्रकै पूर्वअध्यक्ष एवम् भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले ग्रामीण महिला सेवा केन्द्रको माध्यमबाट महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै जाँदा आजको दिनमा उल्लेख्य संख्यामा जनप्रतिनिधि तयार हुन सफल भएको बताउनुभयो । संस्थापक अध्यक्षदेखि पूर्वअध्यक्ष र अहिलेका साधारण सदस्य मात्रै नभएर ग्रामीण महिला सेवा केन्द्रले सञ्चालन गरेका सशक्तीकरणका कार्यक्रममा सहभागी भएकाहरु अहिले विभिन्न पेशा, व्यवसायमा स्थापित हुनुका साथै जनप्रतिनिधिको भूमिकामा समेत स्थापित भएको रानाले बताउनुभएको छ ।
साधारणसभाको उद्घाटन सत्रमा ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष उर्मिला कार्कीले संस्थाको वार्षिक प्रतिवेदन, सचिव अचला शर्माले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुलोचना स्याङ्तानले आर्थिक प्रतिवेदन पेश गर्नुभएको छ । हेटौंडा–५ मा आफ्नै स्वामित्वको जमिन, कार्यालय भवन रहेको ग्रामीण महिला सेवा केन्द्रले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलसँगको सहकार्यमा महिला तथा किशोरी सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।