हेटौंडाः बारा प्रहरीले १२ लाख ३४ हजार पाँच सय सय ९५ रुपैयाँ बरामद गरेको जनाएको छ । सोमबार बिहान साढे १० बजेको समयमा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–९ कचोर्वास्थित नेपाल–भारत सिमामा पर्ने पिपराघाटमा प्रहरी टोलीले सवारी साधन तथा पैदलयात्रीको सुरक्षाजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको एक पुरुषले प्रहरीलाई देखेपछि पैसा छाडेर फरार भएको बारा प्रहरीले जनाएको छ ।
प्रहरी टोलीलाई देखेपछि आफ्नो साथमा रहेको झोला छाडी भागेको र झोला नियन्त्रणमा लिई हेर्दा झोलाभित्र नगद बरामद भएको प्रहरीले जानकारी दिएको छ । झोलामा नेपाली रुपैयाँ एक हजार दरका ८४२ थान, पाँच सय दरका ७०२ थान, एक सय रुपैयाँ दरका ३५९ थान, ५० रुपैयाँ दरका ११२ थान, २० रुपैयाँ दरका चार थान, १० रुपैयाँ दरका एक थान र पाँच रुपैयाको एक थान गरी जम्मा १२ लाख ३४ हजार पाँच सय ९५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको रकम आवश्यक कारवाहीका लागि सोमबार नै बारा जिल्लाको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा पठाइएको छ ।