भावना सापकोटा

विश्व नै कोरोनाले आक्रान्त बनेको यो समयमा नेपाल पनि बन्धनमा बाँधिदै छ । जताततै घरघरै कोरोनाले प्रवेश गर्दै छ । के गर्नु ? यही एउटा अटोले हामी पाँच जनाको पेट भथ्र्यो । अटो थन्किएको पनि पाँच महिना भैसक्यो । न छोरा छोरीलाई भनेको जसरी खुवाउन सकिएको छ । न राम्रोसँग सुत्न नै । दशैँ नजिकिँदै छ । के गर्ने ? कसरी गर्ने ? भनेर बुबाले आमालाई भन्नुभयो ।

मेरो पनि स्कुल बन्द भएको पाँच महिना भैसक्यो । काम नै नगरेपछि स्कुलबाट तलब पनि आउँदैन । पढ्ने बेलामा पढाइमा ध्यान गएन । तपाईंसँग माया पिरती गाँस्न थालेँ । राम्रोसँग पढेको भए शिक्षक हुन पाइन्थ्यो होला । के गर्नु जहिले स्कुलको आया । स्कुल खुलेको भए त छोरा छोरीको फिस काटेर भए पनि तिन चार हजार त आउँथ्यो । अहिले त स्कुल पनि बन्द काम पनि बन्द पैसा आउने बाटो पनि बन्द ।

बुबाको कुराले भावुक भएको मेरो मन आमाले भन्नु भएको माया पिरती भन्ने वाक्यले एकछिन हाँसेँ म । एक्लै हाँस्दै थिएँ, चार कक्षामा पढ्ने मेरी बहिनी आस्मा आएर किन हाँसेकी दिदी ? भनी । बहिनीको प्रश्नमा म एकछिन मौन भएँ । बहिनीले फेरि हातको हौँला तान्दै भनी दिदी अब हामी कहिले स्कुल जान्छौँ ? घरमा बस्दा बस्दा दिक्क लागिसक्यो । दुई कक्षामा पढ्ने मेरो सानो भाइ अमीर दौडिँदै आएर लकडाउन भनेको के हो ? भनेको के हो भनेर प्रश्न गर्‍यो । आस्मा र अमीरको प्रश्नले घेरेको थियो मलाई । अमीर सानो भएकाले अमीरको प्रश्नलाई प्राथमिकता दिँदै भनेँ । लकडाउन भनेको दोकान, स्कुल, कार्यालय, बजार, सङ्घ संस्था आदि बन्द हुनु र हामी सबै आफ्नो घरमा सुरक्षित भएर बस्नु हो भनेर मैले भनेँ ।

 लकडाउन खुलेपछि हामी फेरि पहिलाको जसरी स्कुल जान्छौँ, सबै साथीहरुसँग भेट्छौँ, खेल्छौँ है दिदी भन्दै बहिनीले भनी । जिज्ञासा र कौतुहलताले भरिएको भाइ र बहिनीको अनुहार हेर्दा स्तब्ध भएको ओठमा मुस्कान छर्दै मैले भनेँ – अब केही समयपछि हामी स्कुल जान्छौँ, साथीलाई भेट्छौँ, साथीसँग खेल्छौँ र पढ्छौँ पनि । हाम्रो स्कुलमा किन अनलाइन पढाइ नभएको दिदी भन्दै बहिनीले प्रश्न गर्दै भन्दै गई, हाम्रो स्कुलमा अनलाइनबाट पढाइ भैरहेको छ, म त अनलाइनबाट पढ्छु, सबै साथीहरु  पढ्न आउँछन् भनेर मेरी साथी आरतीले भन्दै थिई । आरती पनि पहिला हाम्रै स्कुलमा पढ्थी । अहिले कोरोनाको कारण स्कुल बन्द भएपछि हेटौँडाको ठूलो स्कुल ज्योति पुञ्ज स्कुलमा पढ्न गई भनेर बहिनीले भनी । अझै थाहा छ दिदी अनलाइन कक्षामा त सबै साथीहरु पढ्न आउँछन् रे । उसले त कति साथी बनाई सकी रे । साथीसँग च्याटमा कुरा गर्न पनि पाइन्छ रे अनि भिडियो बन्द गरेर गेम खेलेर बस्न पनि पाइन्छ रे । आरती पनि भिडियो बन्द गरेर सधैँ गेम खेलेर बस्थी रे तर एकदिन उसको मामुले थाहा पाएर गुरुलाई भनिदिनु भएछ । गुरुले उसलाई पढाइको महत्व बुझाउनु भएछ , राम्रोसँग सम्झाउनु भएछ । त्यस दिनदेखि उसले गेम खेलेकी छैन रे । अहिले  राम्रोसँग पढ्छे रे भन्दै उसकी साथी आरतीको कुरा सुनाउँदैथी मेरी बहिनी आस्मा ।

सबैजना खाना खान आओ भन्दै आमाले भान्सामा बोलाउनु भयो हामी सबै भान्सामा खाना खान गयौँ । बुबा पनि भान्सामा नै हुनु हुँदोरहेछ । मैले एकपटक बुबाको मलिन अनुहारलाई हेरेँ । बुबा निराश हुनुहुन्थ्यो । आमाले खाना पस्कनुभयो । बुबाले चलाउने अटोले पाँच महिनादेखि घरमा आराम गर्दै थियो । आमाको पनि अफिस बन्द । पाँच महिनाको लकडाउनलाई स्वीकारेको मेरो निम्न वर्गीय परिवारमा के नै पाक्थ्यो र ? आमाले खिचडी पकाउनु भएछ । मैले त मिठो छ भनेर खाएँ तर मेरा साना भाइ बहिनीले मलाई मिठो लाग्दैन भन्दै खान इन्कार गर्दै भन्दै थिए, कहिले जाउलो, कहिले गुन्द्रुक आज फेरि खिचडी ?

भोलिदेखि म मेरा छोरा छोरीलाई मिठो खानेकुरा पकाएर खुवाउँछु ल भन्दै फकाउँदै आमाले भाइ बहिनीलाई खाना खुवाउनुभयो । हामी सबैले समाचार सुन्दै खाना खाँदै थियौँ । काठमाडौँमा आफ्नै घरमा दोकान चलाएर बस्ने एउटा परिवारमा चार जनाले गरे आत्महत्या । आत्महत्याको कारण बैँकको ऋण, व्यक्तिगत ऋण तिर्न नसक्नु र घरमा खानेकुरा नहुनु भन्ने समाचारले म झसङ्ग भएँ । बुबा आमालाई हेरेँ, भाइ बहिनीलाई हेरेँ । मैले आफ्नो परिवारलाई सम्झिएँ । पाँच महिनाको लकडाउनले घरमा भएका खानेकुरा सकिँदै थिए । बुबा आमा कै काम नभएकाले पैसा आउने बाटो थिएन । पूजा किन टोलाएकी ? के भयो ? खाना सेलाइसक्यो, छिटो खाना खा भनेर आमाले मलाई झस्काउनु भयो । केही होइन आमा भन्दै फटाफट खाना खाएँ । खाना खाइसकेर आमा छोरी मिलेर भान्साको काम सकेर सुत्न गयौँ ।

एक गिलास पानी पिएर ओछ्यानमा ढल्किएँ म । निदाउने प्रयास गरेँ तर निदाउन सकिन । दिनमा बुबा आमाले गर्नुभएको कुराकानी, बहिनीले गरेकी अनलाइन कक्षा, मिठो खानेकुरा र खाना खाने बेलामा सुनेको समाचारले मलाई बिउँझाइरह्यो । मेरा भाइ, बहिनीको मिठो खाना खाने रहर अब पूरा हुँदैन र ? बुबा आमा अनुहारमा पहिलाको जस्तै मुस्कान फुल्दैन र ? बहिनीकी साथी आरतीले जस्तै हामीले पनि अनलाइन कक्षा पढ्न पाउने अधिकार हाम्रो छैन र ? आरतीको स्कुलमा जस्तै मेरो स्कुलमा पनि अनलाइनबाट पढाइ भैरहेको छ । म लगायत मेरा भाइ, बहिनी नै स्कुलको मिहिनेति विद्यार्थी भए तापनि मेरो स्कुलले हामीलाई निःशुल्क शिक्षा दिन सकेन । यो अवस्थामा शुल्क तिरेर पढ्ने हाम्रो हैसियत थिएन । तिन तिन जनालाई निःशुल्क पढाउने अवस्था मेरो विद्यालयको छैन । अहिले पैसा तिर्नुृस् पछि सोचौँला भनेर विद्यालयले भन्यो । अब कसलाई अनलाइन कक्षा पढाउँ , कसलाई नपढाउँ , फिस तिर्ने पैसा पनि छैन,घरमा नेट पनि छैन, ल्यापटप पनि छैन भनेर आमाले बुबासँग गरेको कुराकानी मैले चार महिना अगाडि नै सुनेको थिएँ । हाम्रो मिहिनेत र परिश्रममा वाहा वाहा गरेर ताली बजाउने मेरो विद्यालयले हामीलाई शिक्षा दिन सकेन । हामी जस्ता निम्न वर्गीय परिवारका विद्यार्थीले अब के गर्ने ? शिक्षा लिनबाट बञ्चित हुने ? पाँच पाँच महिनासम्म लकडाउन हुँदा सरकारले शिक्षा सम्बन्धी केही नीति ल्याउन सकेन । सरकारले सामुदायिक विद्यालयमा पनि प्रविधिको माध्यमबाट शिक्षा प्रदान गर्ने व्यवस्था छिटै गरेमा हामी जस्ता निम्न वर्गीय परिवारका विद्यार्थीेहरुले पनि शिक्षा लिनबाट बञ्चित हुनु पर्ने थिएन । घडी हेरेको त दश बजिसकेछ । बत्ती निभाएर म सुतेँ ।

टिरिङ टिरिङ टिरिङ टिरिङ हेल्लो पूजा बोलेकी हो ? मलाई चिन्यौ त ? सर नमस्कार, मैले चिनेँ सर हजुरलाई । हजुरको खबर के छ सर ? मेरो ठिक छ पूजा तिमी लगायत भाइ बहिनी सबैलाई सन्चै छ ? सबैलाई सन्चै छ । तिमीहरुले किन अनलाइन कक्षा जोइन नगरेको पूजा ? सर, आमाको स्कुल बन्द हजुरलाई थाहा छँदैछ । लकडाउनले गर्दा बुबाले अटो चलाउन पाउनु भएको छैन । हामीसँग पैसा छैन, घरमा नेट जोडेको छैन, अनि ल्यापटप पनि छैन । एउटा मोबाइलले कति जना पढ्नु र सर । तिमी स्कुल कै मिहिनेती विद्यार्थी हौ । म भोलि तिम्रो घरमा नेट जोडिदिन्छु र एउटा ल्यापटप पठाइदिन्छु । तिनै जनाले मिलेर पढ्नु है । हस् सर ।

आस्मा, अमीर सुन त भोलि हाम्रो घरमा नेट जोडिन्छ, नयाँ ल्यापटप आउँछ । भोलिदेखि हामी पनि अनलाइन कक्षा पढ्ने छौँ । पूजा, ए पूजा आज कति ढिलोसम्म सुतेकी ? उठ्ने बेला भएन ? छिटो उठ । हजुर, आमा म उठेँ ।