(सन्दर्भः जन्मजयन्ती)
प्रारम्भिक जीवनः गोरखाका हिन्दु ब्राम्हण यज्ञेश्वर भट्टराईका आठौं पुस्ताका संकटाप्रसाद भट्टराई र ललितादेवीका चार भाई छोराहरुमध्ये कान्छा छोराको रुपमा मिति बि.सं. १९८१ पौष ९ कृष्ण द्वादशी तदनुसार इ.सं. १९२४ डिसेम्बर २३ मा बारणासी भारतमा कृष्णप्रसाद भट्टराईको जन्म भएको थियो । उनको बि.सं. २०६७/११/२० तदनुसार सन् २०११ मार्च ४ काठमाडौंमा देहवसान भएको थियो । उनले काशी हिन्दु विश्वविद्यालय वनारसमा राजनीतिशास्त्रमा बी.ए. (एम.ए. पास हुन नपाएका) सम्म अध्ययन गरेका थिए । उनको एउटा पुस्तक मेरो म आत्मकथा प्रकाशन भएको छ ।
पारिवारिक पृष्ठभूमिः यज्ञेश्वर भट्टराईका छोरा पति भट्टराई पृथ्वी नारायण शाहसँगै काठमाडौं आई दरबारमा पुरोहित भई बसेका थिए । उनकै बंशका विश्वनाथ थिए । दरबारमा उनी बीर शम्सेरको बक्र दृष्टिमा परेपछि वनारसमा निर्वासनमा गएका र उनकै पालादेखि भट्टराई परिवार वनारसमा बस्न थालेको थियो । केही बर्षपछि वनारस मै विश्वनाथ त्यहीँका रामनगर राज्यका राजाको पुरोहित हुन पुगे । उनै पुरोहित विश्वनाथका नाती हुन कृष्णप्रसाद भट्टराई ।
कृष्णप्रसाद भट्टराईको व्यक्तित्वलाई धेरै कोणबाट हेर्नु पर्ने हुन्छ । ती मध्ये केही यहाँ चर्चा गर्ने प्रयास गरिएको छः
पत्रकारका रुपमा कृष्णप्रसाद भट्टराईः
उनी तत्कालिन नेपाल पुकार र युगवाणीका सम्पादक भई काम गरेका एक पत्रकार थिए । २०१२ मा पत्रकार महासंंघको संस्थापक अध्यक्ष पनि भएका थिए । सन् १९५७ मा सोभियत संघका कम्युनिष्ट पार्टीका महासचिव निकिता ख्रुश्चेवको अन्तर्वार्ता पनि लिएका थिए । निकिता ख्रुश्चेवको अन्तर्वार्ता लिने पहिलो विदेशी पत्रकार थिए कृष्ण प्रसाद भट्टराई ।
राजनीति गतिविधिमा संलग्नताः
भारतमा अध्ययन गर्दा कृष्ण प्रसाद भट्टराई भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय भएका थिए । सन् १९४२ (बिसं १९९८) मा अंग्रेज भारत छोडो स्वतन्त्रता आन्दोलनमा सहभागी हुँदा पक्राउ पनि भएका थिए । सन् १९४५ (२००१) मा उनले वनारस हिन्दु विश्वविद्यालयस्थित नेपाल छात्र संघको उपाध्यक्ष समेत भएर काम गरेका थिए ।
नेपाली कांग्रेस र कृष्णप्रसाद भट्टराईः
नेपालमा निरंकुश राणा शासन समाप्त पारेर संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले पहिलो पटक बि.सं. २००३ साल असोजमा सर्चलाईट पत्रिका मार्फत बी.पी.ले आव्हान गरेका थिए । त्यसको लगत्तै पछि कार्तिक १५, २००३ मा वी.पी. कोईरालाकै सक्रियतामा भारतमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस संस्था गठन भएको थियो । सो पार्टीको अध्यक्ष देवीप्रसाद सापकोटा र महामन्त्री कृष्णप्रसाद भट्टराई भएका थिए ।
अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको पहिलो महाधिवेशन २००३ माघ १२ र १३ गते भएको थियो । यस अधिवेशनले कारागारमा आजीवन कैद भोगीरहेका टंकप्रसाद आचार्यलाई मानार्थ सभापतिमा र कार्यकारी सभापतिमा वी.पी. कोईरालालाई चयन गर्यो । यसै अधिवेशनले नाम परिवर्तन गरी पार्टीको नाम नेपाली राष्ट्रिय कांग्रेस राख्यो ।
त्यस्तै सुवर्ण शम्शेर राणाको सक्रियता र महेन्द्र विक्रम शाहको सभापतित्वमा वि.सं. २००४ साल साउन १ गते नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना भएको थियो । वि.सं.२००६ साल चैत्र २७ मा नेपाली राष्ट्रिय कांग्रेस (चौथो महाधिवेशनको समयमा) र नेपाल प्रजातन्त्र कांग्रेसको एकीकरण भै पार्टीको नाम नेपाली कांग्रेसको रह्यो । यसरी नेपाली कांग्रेस गठन भएपछि भट्टराईले सहमहामन्त्रीको पदमा काम गरेका थिए ।
किसुनजीको जेल जीवनः
२०१७ साल पुस १ गते थापाथलीमा सम्पन्न हुँदै गरेको तरुण दलको अधिवेशन स्थलबाट वी.पी. सँगै पक्राउ परी २०१७ साल पुस १ देखि सुन्दरीजल जेल र २०२५ भदौमा नख्खु जेलमा सारेर २०२६ साल चैत्रसम्म जेल बसेका भट्टराई बि.सं. २०२६ चैत्रमा रिहा भएकोमा २०२९ को प्रारम्भमा फेरी पक्राउ गरियो ।
किशुनजीले निर्वाह गरेको भूमिकाहरुः
कृष्णप्रसाद भट्टराई किसुनजीको नामले नेपाली राजनीतिमा चीर परिचित सन्तनेता हुन् । किशुनजी सन् १९५२ मा रंगुनमा प्रथम एशियाली समाजवादी सम्मेलनमा वी.पी. सँगै सहभागी भएका थिए । उनले पार्टी र सरकारमा निर्वाह गरेका केही भूमिका संक्षेपमा निम्न बमोजिम छः
– २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर उदयपुर कव्जा गर्ने मुक्ति सेनाको कमाण्डरको रुपमा दलीय जिम्मेवारी निर्वाह गरेका ।
– २००८ सालमा प्रथम पटक गठित सल्लाहकार सभाका अध्यक्ष भए ।
– २०१६ आषाढ १९ देखि २०१७ पौष १ सम्म (३ जुलाई, १९५९ देखि १५ डिसेम्बर १९६०) सम्म ३६ बर्षको उमेरमा नेपालकोे प्रतिनिधिसभाको पहिलो सभामुखको दायित्व निर्वाह गरेका ।
नेपाली कांग्रेसको सभापति
– २०३२ माघ २९ (१२ फेबु्रअरी १९७६) देखि २०४८ माघ २ (१६ जनवरी १९९२) सम्म कार्यबाहक सभापति ।
– २०४८ माघ ३ (१७ जनवरी १९९२) देखि २०५३ बैशाख २८ (१० मे, १९९६) सम्म निर्वाचित सभापति ।
प्रधानमन्त्रीः
कृष्णप्रसाद भट्टराई दुई पटक नेपालको प्रधानमन्त्री भए ।
– बि.सं.२०४७ बैशाख ०६ (१९ अप्रिल १९९०) देखि २०४८ जेष्ठ १२ (२६ मे, १९९१) सम्म,
– २०५६ जेष्ठ १७ (३१ मे, १९९९) देखि २०५६ चैत्र ९(२२ मार्च २०००) सम्म,
२०४६ सालको परिवर्तनपछि अन्तरिम प्रधानमन्त्री भएपछि उहाँलाई दुईवटा प्रमुख दायित्व आएको थियो ।
– संबिधान लेख्ने,
– संसदीय निर्वाचन गराउने,
यी दुइ काम यथासमयमै सम्पन्न गर्नुभयो ।
कृष्णप्रसाद भट्टराई र उनको निर्वाचनः
– बि.सं.२०१५ सालमा गोरखाबाट उम्मेदवार भएर चुनाव हारेका थिए ।
– बि.सं.२०४८ सालकोे आम निर्वाचनमा उनी काठमाडौंबाट उम्मेदवार भई पराजित भएका थिए ।
– बि.सं.२०५० सालकोे उपनिर्वाचनमा पनि उनी काठमाडौबाट उम्मेदवार भई पराजित भएका थिए ।
– त्यसपछि बि.सं.२०५६ को आम निर्वाचनमा उनी पर्साबाट उम्मेदवार भएका थिए । यसपटक भने उनले बिजयी हुन सफल भएका थिए ।
कृष्णप्रसाद भट्टराई र पार्टीबाट बहिर्गमनः
जुन राजतन्त्रले १४ बर्ष जेल राख्यो, अनेक यातना दियो, त्यही राजतन्त्र उन्मुलनमा उनी सहमत भएनन् । दिल्लीमा भएको १२ बुँदे सहमतिपछि गणतन्त्रमा जाने पार्टीले निर्णय गर्दा बरु पार्टीनै परित्याग गरे तर सिद्धान्तमा सौदा गरेनन् ।
विद्वत व्यक्तित्वहरुको नजरमा किसुनजीः
कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा सन्त नेताको रुपमा परिचित छन् । उनले जनस्तरबाट गान्धीवादी नेताको उपाधी पाएका छन् । यिनको प्रतिक्षामा सुराही, ट्यांका र काखी मुनी च्यापेको छातासँगै हुन्छ । यी उनका त्याग र सादगीको प्रतीक हुन् । उनलाई नजिकबाट चिन्ने व्यक्तित्वहरुले उनको मूल्यांकन कसरी गरेका रहेछन् सो हेरौँः
१. रामवरण यादवः “किसुनजी गान्धीको जीवन दर्शनबाट प्रभावित हुनुहुन्थ्यो । उहाँको सबैभन्दा ठूलो ध्येय मुलुकमा लोकतन्त्र ल्याउनु पर्छ भन्ने थियो । आफ्नो उद्देश्य र लक्ष्यलाई छाडेर कसैसँग नझुक्ने वा सम्झौता नगर्ने उहाँको स्वभाव थियो । क्षमाशीलता उहाँको अर्को विशेषता थियो ।
२. अर्जुननरसिंह केसीः “किसुनजीको सम्पूर्ण जीवन गीता ज्ञानबाट ओतप्रोत थियो । उहाँ कर्मयोगी जीवनशैलीको उदाहरण हुनुहन्थ्यो । परिवारबिहीन, घरवारबिहीन, निजी सम्पत्ति बिहीन । यस्तो सन्त व्यक्तित्व जोसँग त्यागै त्याग मात्र थियो तर माग थिएन । जस्ले सदा दियो तर लिन मानेन । धेरैपटक अपमान र घात सह्यो तर पार्टी फुटन दिएन । २०४८ सालको पराजयलाई सहज रुपमा लिएका भएपनि किसुनजी २०५० सालको काठमाडौंको उपचुनावको पराजयलाई सहजरुपमा लिन सक्ने अवस्था थिएन । विरोधीले हानेकोले भन्दा मित्रले ताकेकोले दुख्छ भनेको यही हो । किसुनजी राष्ट्रियता, लोकतन्त्र र समाजवाद सबैका चरित्र आफ्ना गतिबिधिबाट प्रकट गर्न सक्नुहुन्थ्यो । किसुनजी आकांक्षालाई आदर्शले जितेर अघि बढ्ने विराट व्यक्तित्वका धनी राजनेता हुनुहुथ्यो ।
३. शेखर कोइरालाः “किसुनजी आदर्श, सिद्धान्त र निष्ठाप्रति कटिबद्ध नेपाली राजनीतिका अग्लो व्यक्तित्व हुनुहुन्थ्यो । राष्ट्र, राष्ट्रियता र जनताप्रति अत्यन्त संवेदनशील एवम् निष्ठावान हुनुहुन्थ्यो । किसुनजी सत्यनिष्ठ राजनीतिको अनुयायी, अहिंसाको पुजारी र एक सच्चा राष्ट्रवादी नेता हुनुहुथ्यो । सुवर्ण शम्शेरको वक्तव्यलाई समर्थन गर्दै सही गरेका कारण वी.पी. गणेशमान, योगेन्द्रमान शेरचन, दिवानसिंह राई २०२५ सालमा जेलबाट छुटे । तर, किसुनजीले सुवर्ण शम्शेरको वक्तव्यलाई समर्थन गर्दै सही नगरेका कारण उनी छुटेनन् । उनलाई नख्खु जेलमा सारियो । उनी डेढ बर्ष नख्खु जेलमै रहे । जे जस्तो संघर्ष गर्ने हो स्वदेशमै बसेर अहिंसात्मक आन्दोलन गर्नु पर्छ भन्ने अडान छोड्नु भएन । पछि बी.पी. सुवर्ण शम्शेर पनि किसुनजीकै लाइनमा आउनु भयो । उहाँको घर थिएन, परिवार थिएन, घर भन्नु नै पार्टी थियो । परिवार भन्नु नै पार्टीका कार्यकर्ता थिए । राज्यले बनाई दिएको आश्रममा उहाँको जीवन बित्यो ।
४. पुरुषोत्तम बस्नेतः किशुनजी देश जनता र प्रजातन्त्रप्रति समर्पित आफ्ना आस्था र सिद्धान्तमा दृढ संकल्पका साथ उभिने एक राष्ट्रवादी नेता,
५. डा. तुलसी प्रसाद भट्टराईः किशुनजी दृढ अठोट र संकल्पका धनी व्यक्तित्व । २०२६ साल चैत्रमा जेलबाट छुट्ने बित्तिकै २०२७ बैशाख ६ गते ने.वि. संघको स्थापना समारोहमा अतिथि बनेर उद्घाटन गरेका थिए । २०३४ सालमा पटनामा सम्पन्न भएको सम्मेलनबाट वी.पी.ले स्वास्थ्यको कारण देखाई भट्टराईलाई कार्यबाहक सभापति बनाईयो । २०४८ साल फागुन १ र २ गते झापाको कलबलगुडीमा भएको आठौं सम्मेलनबाट २०५३ सम्म नेपाली कांग्रेसका सभापति भए ।
७. हरिहर बिरहीः किसुनजी गम्भीर कुरालाई ठट्टामा उडाउने र साधारण कुरालाई गम्भीर रुपमा लिने, प्रभाव र प्रतिक्रियाको वास्ता नगरी मनको कुरो तुरुन्तै भनीहाल्ने, कुनै पनि कुरोमा हलुको टिप्पणी गर्ने स्वभाव चर्चित थियो ।
८. रामचन्द्र पोखरेलः किशुनजी नीति, सिद्धान्त र बिचारका पुञ्ज, कर्मयोगी ।
९. कुलचन्द्र वाग्लेः सच्चा आध्यात्मिक हुनुहुथ्यो किशुनजी । उदार र सहज व्यवहार, हसिलो शैली र चारित्रिक विशेषताले उहाँ भित्रको आध्यात्मिक प्रभावलाई पहिचान दिएका थिए । यही आध्यात्मक जीवन पद्दतिले राजनीतिज्ञ किशुनजीलाई क्षमाशील, त्यागी र बिनम्रताको प्रतिमूर्ति बनायो ।
१०. धर्मेन्द्र झाः सन्त नेता किसुनजीलाई यो देश र जनताले सम्झनु पर्ने धेरै पाटाहरु छन् । एक नेता, एक प्रधानमन्त्री, एक पत्रकार, एक सन्त, एक सामाजिक अभियन्ता, एक विद्वान र एक नैतिकवान र इमान्दार व्यक्तिका रुपमा ।
११. डा. बासुदेव भण्डारीः किशुनजीमा पदप्रतिको तीव्र आकर्षण थिएन । उनले स्वभाविक रुपमा आफूमाथि आईपरेको जिम्मेवारी सम्हालेको देखिन्छ । उनी समाजमा असमानता हटाउन चाहन्थे । देशमा साँच्चिकै सामाजिक न्यायको स्थापना गर्न चाहन्थे । उनले उपयोग गरेका बस्तुहरु सुराही, छाता र बाकस सादगी एवम् समाजवादी जीवनका परिचायक हुन, प्रतिकात्मक अभिव्यक्ति हुन् । यी बस्तुहरु स्वार्थीहरुका लागि दृष्टान्त हुन् । कथित समाजवादीका निम्ति गम्भीर चुनौती हुन् । सुधारात्मक सन्देशका द्योतक हुन् । उनले राजनीतिलाई निश्वार्थ रुपले जनसेवाका रुपमा लिएका थिए । आफ्नो आस्था र निष्ठाबाट कहिल्यै विचलित भएनन् । उनी सर्वे भवन्तु सुखिनको दर्शनबाट अनुप्राशित अध्यात्मबादी नेता हुन् । कृष्णप्रसाद भट्टराई नेपालको राजनीतिमा सन्त नेता, कर्मयोगी नेता, त्यागी र सदाचारी नेताका रुपमा परिचित छन् । उनको जीवन सरल छ, त्यस्तै त्याग, संयम, सदाचार र संघर्षबाट बनेको र प्रेरणादायी छ ।
उपसंहारः नेपाली कांग्रेसको आदर्श, मूल्य र मान्यता राष्ट्रियता, लोकतन्त्र र समाजवाद हो । यिनै आदर्श, मूल्य र मान्यताका आधारमा न्यायपूर्ण गतिशील र समतामूलक समाजको स्थापना गर्ने, नेपाललाई सभ्य, सुखी र सम्पन्न रुपमा स्थापित गर्ने प्रतिवद्धता अघि सारेको पाइन्छ । तर, वास्तविकतामा त्यस्तो छैन । नेताहरुमा सिद्धान्त र प्रतिवद्धता भन्दा भिन्न, अरुले गरेको कामको व्याज असूल्ने प्रवृत्ति देखिन्छ । सो कुरा विधान एकातिर, काम कारबाही अर्कातिर मुखरित भएको तथ्यबाट बुझन सकिन्छ ।
नेपाली कांग्रेसभित्र फुट र विग्रहको बिजारोपणको इतिहास पुरानै हो । सो कुरालाई बिर्सन मिलोईन । कतिपय त्यस्ता विग्रहपछि पनि बेला–बेलामा स्पष्ट देखिए । स्वयम् सन्त नेता कृष्णप्रसाद भट्टराई पनि यस्तो विग्रहको चपेटामा परी त्यस चपेटाबाट उम्कन नसकी पराजित हुनु परेको दृष्टान्त कसैबाट लुकेको छैन । हिजोका दिनमा जो जे कमी कमजोरी गरिएपनि त्यसबाट परेको नकारात्मक प्रभावलाई अनुभूत गर्दै अबका दिनमा आदर्श, सिद्धान्त तथा गरिएका प्रतिवद्धताहरुलाई कार्ययोजना बनाई कार्यान्वयनमा रुपान्तरण गर्ने दिशातर्फ लाग्नु पर्ने आजको अपरिहार्यता हो ।
र अन्त्यमा वर्तमान सबै तहका कांग्रेसी नेता तथा कार्यकर्ताहरुबाट वी.पी.कोइराला, गणेशमान सिंह एवम् कृष्णप्रसाद भट्टराईको त्याग, समर्पण, आदर्श र उनीहरुको योगदानको यथोचित कदर हुन सकेको देखिँदैन, त्यसो नहोस् । विद्वत वर्गहरुको अभिव्यक्तिहरुबाट कृष्णप्रसाद भट्टराई पदप्रति आकर्षण नभएका, एक आध्यात्मिक, कर्तव्यनिष्ठ, इमान्दार, सरल, त्यागी, निष्ठावान, आदर्शवादी र कर्मयोगी व्यक्ति भएको तथ्य स्पष्ट हुन्छ । अतः कृष्णप्रसाद भट्टराईको जन्मजयन्तीका अवसरमा उनको योगदानलाई कदर गर्न, उनको यिनै अनुकरणीय आदर्श, मूल्य, मान्यता र सिद्धान्तलाई पच्छयाएर कार्याभिमूख हुन प्रेरणा मिलोस् । शुभकामना ।