हेटौंडाः बागमती प्रदेशका ७ वटा जिल्लाहरुमा धान रोपाई सकिएको छ । प्रदेशको नुवाकोट, ललितपुर, भक्तपुर, काठमाडौं, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र धादिङ जिल्लामा धान रोपाई सकिएको बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिनुभयो ।
यो वर्ष नुवाकोट जिल्लामा १४ हजार ५ सय हेक्टर क्षत्रफलमा धान रोपाई भएको छ । त्यस्तै ललितपुरमा ४ हजार ६ सय हेक्टरमा, भक्तपुरमा ४ हजार ३ सय हेक्टर, काठमाडौंमा ७ हजार ८ सय ८० हेक्टर क्षत्रफलमा धान रोपाई भएको हो । काभ्रेपलाञ्चोकमा ११ हजार हेक्टरमा, सिन्धुपाल्चोकमा १२ हजार २ सय ३५ हेक्टर र धादिङ जिल्लामा १२ हजार हेक्टर क्षेत्रफल जमिनमा धान रोपाई भएको छ । मकवानपुर र चितवन जिल्लामा भने अहिलेसम्म ९५ प्रतिशत धान रोपाई भएको छ । मकवानपुरको ११ हजार हेक्टर क्षेत्रफल जमिनमा वर्षे धान रोपाई हुन्छ । जसमा हालसम्म १० हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाई सकिएको छ । चितवनमा भने २८ हजार ६ सय हेक्टरमा वर्षेधान रोपाई हुन्छ । जसमा २७ हजार १ सय ७० हेक्टर क्षत्रफल जमिनमा धान रोपाई भएको छ ।
बागमती प्रदेशको रसुवा, दोलखा र सिन्धुली जिल्लामा ९६\९६ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । त्यस्तै प्रदेशको रामेछाप जिल्लामा भने हालसम्म जम्मा ८२ प्रतिशत मात्रै धान रोपाई भएको छ । यसरी समग्रमा बागमती प्रदेशमा ९६ दशमलव ७७ प्रतिशत धान रोपाई सम्पन्न भएको बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिनुभएको छ । बागमती प्रदेशको १ लाख ३४ हजार २ सय ३८ हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाई हुने गरेको मन्त्रालयले जानकारी दिएको छ । जसमा हालसम्म १ लाख २९ हजार ८ सय ९९ हेक्टर क्षत्रफलमा धान रोपाई भैसकेको छ ।
बागमती प्रदेशमा आर्थिक वर्ष २०७५\०७६ मा १ लाख १५ हजार २ सय ९५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यस आर्थिक वर्षमा, आर्थिक वर्ष २०७५\०७६ को भन्दा १२ दशमलव ६६ प्रतिशत बढी क्षेत्रफलमा धान रोपाई सम्पन्न भईसकेको मन्त्रालयमा सूचना अधिकारी अधिकारीले जानकारी दिनुभयो । समयमा नै मनसुन सुरु हुनु, कोभिड-१९ को कारणले विदेशबाट फर्किएका र स्वदेशमा रहेका मानिसहरु कृषि पेशामा लाग्नु, गाउँ–गाँउमा वसोवास बढ्नु, स्थानीय सरकारको कृषिमा सक्रियता, बाँझो जमिनमा खेतिको सुरुवात हुनु, प्रदेश सरकारको खाद्यान्नमा आत्मनिर्भर हुने अभियान लगायत प्रदेश सरकारको कार्यक्रमहरुबाट (डिप बोरिङ, सौर्य सिँचाई तथा लिफ्ट सिँचाई) सिञ्चित क्षेत्र विस्तार हुनु, कृषिमा यान्त्रिकीकरण आदि कारणले गर्दा धान खेती गरिने क्षेत्रफलमा वृद्धि भएको मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो । चालू आर्थिक वर्ष २०७७\०७८ मा प्रदेशमा गत वर्षको तुलनामा करिव ७२ हजार मेट्रिकटन धान बढी उत्पादन हुने अनुमान मन्त्रालयले गरेको छ । नेपालको कुल कृषि ग्राहस्थ उत्पादनमा धानको योगदान करिव २० प्रतिशत रहेको छ ।