![school](https://samriddhasamaj.com/wp-content/uploads/2020/08/school-1-696x522.jpg)
हेटौंडाः २०७२ सालको भूकम्पले क्षति पुर्याएका विद्यालयमध्ये मकवानपुर जिल्लामा २०७७ असार मसान्तसम्ममा २४५ विद्यालयको सात सय ६९ कक्षाकोठा निर्माण सम्पन्न भइसकेका छन् । जिल्लामा कुल पाँच सय १६ वटा विद्यालय रहेका छन् । कुल कक्षाकोठा संख्या चार हजार ७६ रहेको छ । भूकम्पबाट प्रभावित भएका चार सय नौं विद्यालयका दुई हजार तीन सय १० कक्षाकोठा मध्ये असार मसान्तसम्ममा दुई सय ४५ कक्षाकोठा निर्माण कार्य सम्पन्न भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का सूचना अधिकारी दिनेश लम्सालले बताउनुभएको छ ।
भूकम्पबाट देशभर झण्डै ८ हजार विद्यालय ध्वस्त भएका थिए । आव २०७६\७७ मा भवन निर्माणका लागि कुल ५० करोड ४३ लाख १६ हजार बजेट विनियोजित भएको थियो । हालसम्म १० करोड ५९ लाख ५ हजार रुपैयाँ बजेट खर्च भएको र चालु खर्चतर्फ १ करोड ४१ लाख ५० हजार रुपैयाँ रहेको छ । अहिले जिल्ला भित्रका पाँच वटा विद्यालयको चार\चार कोठे भवन निर्माण कार्य अन्तिम चरणमा रहेका छन् । त्यस्तै जापानी सहयोग नियोगको टेन्डर मार्फत निर्माण हुँदै गरेका ४१ विद्यालयका चार सय ७२ कक्षाकोठा मध्ये २७ वटा विद्यालयका दुई सय ६८ कक्षाकोठा निर्माण कार्य सम्पन्न भई हस्तान्तरण भइसकेको छ । यसै टेन्डर मार्फत १४ वटा विद्यालयका भवन निर्माणाधीन अवस्थामा रहेको लम्सालले जानकारी दिनुभयो ।
भूकम्प गएको ५ वर्ष बित्दा पनि भूकम्पबाट प्रभावित बनेका विद्यालयहरुको पुनर्निर्माण कार्य हुन सकेको छैन । आर्थिक वर्ष २०७६\०७७ को असार मसान्तसम्ममा प्राप्त भएका ६१ विद्यालय भवन, ७९ शौचालय र ८४ वटा खानेपानी व्यवस्थापनका लागि विद्यालयहरुसँग सम्झौता भइसकेको छ । सम्झौता अनुसार विद्यालयको खातामा पेश्की रकम निकासा भइसकेको र सम्झौता भएका विद्यालयहरुको चालु आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न गरिने योजना रहेको जिल्ला आयोजना कार्यान्वयन इकाईका सूचना अधिकारी दिनेश लम्सालले बताउनुभएको छ ।