सामूहिक बेल विवाहको तस्वीर

हेटौँडा:हेटौँडा उपमहानगरपालिका-१०, बसपार्कमा सामूहिक बेल विवाहमा सहभागी कन्याको सोमबार बिहान खिचिएको फोटो। ईहि यज्ञ (सुवर्ण कुमार बेल विवाह) गुठीले हेटौँडामा २०२९ सालदेखि सामूहिक बेल विवाहको आयोजना गर्दै आएको छ। यस वर्ष आइतबार र सोमबार दुई दिन सामूहिक बेल विवाह भएको छ।

यस बर्ष ७२ कन्याको सामूहिक बेल विवाह गरिएको छ। नेवार समुदायमा बेल विवाह महत्वपूर्ण कर्मको रुपमा रहने गरेको छ। रजश्वला हुनुअघि कन्याको बेल विवाह गर्ने परम्परा रहेको छ। नेवार समुदायकै पण्डित, पुरोहितले बेल विवाह कर्म गराउँछन्। सामूहिक बेल विवाहमा हेटौँडा उपमहानगरपालिका, मकवानपुर जिल्लासँगै जिल्ला बाहिरका कन्यालाई समेत सहभागी गराउन अभिभावक आउने गरेका छन्। मौलिक परम्परा अनुसार कर्म गर्न, गराउन सहजताका लागि सामूहिक बेल विवाहको प्रयास गरिएको र ५३ औं वर्षसम्म सबैको साथ, सहयोग, विश्वासका साथ बेल विवाह कर्म गर्दै आइरहेको गुठीका अग्रज सदस्य हरिशरण श्रेष्ठले जानकारी दिनुभएको छ।