शिक्षा प्रदान गर्ने विद्यालय विभिन्न समुदाय, वर्ग, समूह, धर्म, जातजाति, सम्प्रदायको साझा स्थल हो । समुदायमा रहेका बालबालिकालाई शिक्षा दिने विद्यालयमा समुदायकै बढी चासो आवश्यक हुन्छ । विद्यालयको गतिविधि, क्रियाकलाप तथा उन्नति–अवनतिको पहरेदारी गर्ने र चासो राख्ने काम समुदायबाटै हुनुपर्दछ । समुदायका विभिन्न व्यक्तिमध्ये पनि आफ्ना बालबालिका पढाउने अभिभावक विद्यालयका अभिन्न अंग बन्नु आवश्यक छ । विद्यालयसँग अभिभावक, विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन समिति, शिक्षा प्रशासन, जनप्रतिनिधि, सरकार सबै जोडिएका भए पनि अभिभावकको चासो, चिन्ता र भूमिकाको औचित्य बढी हुनु आवश्यक छ । विद्यालय शिक्षाको विकास तथा सुधारको लागि कुनै एक पक्षमात्र जिम्मेवार भएर हुँदैन । तर, सचेत र जागरुक अभिभावक जिम्मेवार भए भने अन्य पक्षलाई जिम्मेवार बनाउन निकै सहज हुने निश्चित छ ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पनि शिक्षाको गुणस्तर बढाउन अभिभावकको चासो बढी हुनुपर्नेमा जोड दिएका छन् । शिक्षा क्षेत्रको गुणस्तर बढाउन र नतिजामुखी बनाउन अभिभावकलाई जिम्मेवार बनाउनुपर्ने उनको भनाइ छ । बालबालिकालाई अभिभावकको निगरानीमा राख्न सकेमा शैक्षिक गुणस्तर सुधारभएर उपलब्धीमूलक नतिजा हासिल हुने मुख्यमन्त्रीले बताएका हुन् । पारिवारिक वातावरण, अभिभावकको हेरचाह, निगरानी तथा व्यवहारले शैक्षिक गुणस्तर निर्धारण हुने उनको भनाइ छ । शिक्षक, अभिभावक र विद्यार्थीको समन्वयबाट शैक्षिक गुणस्तर सुधार हुने उनले बताएका छन् । असल नागरिक निर्माणमा शिक्षाको महत्वपूर्ण भूमिका रहने भएकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा प्रदेश सरकार गम्भीर रहेको मुख्यमन्त्रीको भनाइ छ । शिक्षालाई अनुसन्धानात्मक र व्यवहारिक बनाउन जरुरी रहेको भन्दै सोहीअनुसार बागमती प्रदेश सरकारले काम गरिरहेको मुख्यमन्त्री लामाले बताएका छन् ।

बालबालिकाको पहिलो पाठशाला घर र आमाबाबु पहिलो शिक्षक हुन् । बालबालिकाको सिकाइको सुरुवात घर, परिवार र परिवारका सदस्यहरुबाटै हुन्छ । बालबालिकालाई विद्यालय भर्ना गर्दैमा अभिभावकको दायित्व पूरा हुँदैन । विद्यार्थीको पठनपाठन सुधारमा अभिभावकको पनि महत्वपूर्ण भूमिका हुन्छ । आफ्ना बालबालिकाले विद्यालयमाा के सिकिरहेका छन् ? विद्यालयमा कस्तो वातावरण छ ? भन्ने कुरा प्रत्यक्ष हेर्ने, बुझ्ने गर्नुका साथै अभिभावकले विद्यालयका सबै पक्षमा सूक्ष्म निगरानी गर्नु आवश्यक छ । बालबालिकालाई विद्यालय र घरमा पढ्ने उचित वातावरण सिर्जना गरेर उनीहरुको सिकाइ सुनिश्चितता गर्न अभिभावक सजग बन्नैपर्छ । बालबालिकालाई विद्यालय पठाइसकेपछि अभिभावकले आफ्नो दायित्व कम भयो वा सकियो भन्ने सोच्नु हुँदैन । अभिभावकले बालबालिका विद्यालय पठाउन थालेपछि आफ्नो थप दायित्व सुरु भएको सोचेर त्यही अनुसार थप सक्रियता बढाउनुपर्छ ।

बालबालिकालाई सहजरुपमा शिक्षा प्रदान गर्न अभिभावक र शिक्षकको सामूहिक भूमिका रहन्छ । विद्यालय जाने बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यालय र शैक्षिक गतिविधिमा सुधार ल्याउन शिक्षक र अभिभावकबीच हातेमालो गर्नु आवश्यक छ । समग्र विद्यालयको शैक्षिक अवस्था सुधार गर्न, समुदाय र आफ्ना बालबालिकाको सुन्दर भविष्य निर्माणका लागि अभिभावकले जिम्मेवार भएर आवश्यक प्रयत्न गर्नुपर्छ, जुन सामुदायिक विद्यालयमा कम छ । संस्थागत विद्यालयमा अभिभावक, शिक्षक र विद्यार्थीको नियमित सम्पर्क भइरने भए पनि सामुदायिक विद्यालयमा अभिभावक बिरलै विद्यालय जान्छन् । धेरैजसो अभिभावक आफ्ना बालबालिकाको पठनपाठन र उनीहरु पढ्ने विद्यालयको गतिविधिप्रति उदासीन छन् । राज्यस्तरबाटै विद्यालय शिक्षामा अभिभावकलाई सक्रिय बनाउन थप प्रभावकारी व्यवस्था लागू हुनुपर्छ । विद्यालयले पनि विद्यार्थीको पढाइप्रति अभिभावकको संलग्नता र चासो बढाउन प्रभावकारी उपाय अपनाउनु पर्छ ।