हेटौंडाः बिहीबारबाट सुरु भएको पहिलो संस्करणको मकवानपुर जिल्लास्तरीय भेट्रान्स भलिबल प्रतियोगितामा मकवानपुरको मकवानपुरगढी भेट्रान्सले विजयी सुरुवात गरेको छ । हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको पहिलो खेलमा हेटौंडा–१६ स्थित हटिया स्पोर्टस् भेट्रान्सलाई २–० को सोझो सेटले हराउँदै मकवानपुरगढी भेट्रान्सले विजयी सुरुवात गरेको हो ।
हटिया स्पोर्टस् भेट्रान्सलाई दुबै सेटमा २५–१६ ले सहजै पराजित गरेको मकवानपुरगढीले थाहा नगरपालिका भेट्रान्सलाई पनि समूह चरणको दोस्रो खेलमा २–० को सोझो सेटले पराजित गरेको छ । थाहा नगरपालिका भेट्रान्सलाई २६–२४ र २५–१५ ले हराएको हो ।
दोस्रो खेलमा कैलाश भेट्रान्सलाई २–० को सोझो सेटले पराजित गर्दै छहारी भेट्रान्सले विजयी सुरुवात गरेको छ । कैलाशलाई २५–१२ र २५–१९ ले छहारीले सहजै पराजित गरेको हो । समूह चरणको पहिलो खेलमा छहारीसँग २–० को सोझो सेटले पराजित भएको कैलाश समूह चरणको दोस्रो खेलमा पनि हेटौंडा–१० स्थित नारायणी कलेजसँग २–० को सोझै सेटले पराजित हुनुपरेको थियो । नारायणी कलेज भेट्रान्स टिमले कैलाश भेट्रान्सलाई २५–१३ र २५–१५ को सेटले सहजै पराजित गरेको हो ।
पञ्चशील भेट्रान्सलाई २–० को सोझो सेटले हराउँदै भीमफेदी भेट्रान्सले विजयी सुरुवात गरेको छ । पञ्चशीललाई २५–१० र २५–१६ ले हराउँदै भीमफेदीले विजयी सुरुवात गरेको हो । समूह चरणकै दोस्रो खेलमा राक्सिराङ गाउँपालिकाको भेट्रान्सँग २–० को सोझो सेटले पञ्चशील भेट्रान्स पराजित हुनुपरेको थियो । राक्सिराङसँग पञ्चशील १५–२५ र १६–२५ ले पराजित भएको हो ।
केवशलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजना, छहारी सेवा समाजको सहआयोजना तथा नारायणी कलेजको मुख्य प्रायोजनमा सुरु भएको प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ । लिगकम नकआउट प्रणालीमा सुरु भएको प्रतियोगितामा मकवानपुर जिल्लाबाट ११ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको प्लेयर अफ डे थाहा नगरपालिकाका सानुभाइ कार्की घोषित हुँदै ट्रफी प्राप्त गरेका छन् ।
केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका प्रथम उपाध्यक्ष विकल्प चौलागाईंको सभाध्यक्ष तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको हो । प्रतियोगिताको उपाधि विजेता टिमले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।