पठनीय पुस्तक प्रकाशनको क्रम व्यापक बन्दै गए पनि पछिल्लो समय पठन संस्कृतिमा ह्रास आइरहेको छ । इन्टरनेटको पहुँच र प्रयोग बढ्दै गएका कारण आम मानिसमा पुस्तक तथा पत्रपत्रिका पढ्ने रुचि तथा बानी घट्दै गएको पाइन्छ । विद्यालय तथा विश्वविद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरुमै पठन संस्कृति कमी हुँ दै गएको छ । तोकिएका पाठ्यक्रमअनुसारको पाठ्यपुस्तक र अन्य सन्दर्भ सामग्री अध्ययन गरेर परीक्षामा सोधिएका प्रश्नको उत्तर लेखेर उत्तीर्ण हुनुपर्ने विद्यार्थीमै पुस्तक पढ्ने बानी कम हुँदै जानुले राम्रो संकेत गर्दैन । इन्टरनेटको सहायताले मोबाइल तथा कम्प्युटरमा विभिन्न सामाजिक सञ्जालमा व्यस्त हुँदै गएका पछिल्लो पुस्तामा पठन संस्कृति कम हुँदै जानु चिन्ताको विषय बनिरहेको छ । पुस्तक, पत्रिका पढ्ने र आफ्नो ज्ञान तथा सिर्जनात्मक क्षमता बढाउनेतर्फ अहिलेको पुस्ता उदासिन बनेपछि पठन संस्कृतिको विकासका लागि विभिन्न बहस तथा चर्चा हुन थालेको छ ।
नयाँ वर्षको पूर्वसन्ध्यामा हेटौं डा–९ को विभिन्न टोलमा रहेका बालबालिकाबीच पठन संस्कृतिबारे बहस गरिएको छ । बालबालिकाको मुख्य काम भनेको पढ्ने नै हो । बालबालिकामा पठन संस्कृतिको विकास गराउन सकेमा उनीहरुलाई औपचारिक शिक्षा आर्जन गर्न सहज हुनुका साथै अन्य सिर्जनात्मक क्षमता वृद्धि गराउन सकिन्छ । यही तथ्यलाई मध्यनजर गर्दै हेटौंडा–९ को लामसुरे हाइट टोल विकास संस्थाले बालबालिकालाई सहभागी गराएर पुस्तक चर्चा तथा पठन संस्कृतिको विकासबारे बहस गराउनुलाई सकारात्मक मान्नुपर्छ । वडाभित्रका विभिन्न टोल विकास संस्थाभित्रका बालबालिकालाई उपयोगी पुस्तक वितरण गरी पुस्तक अध्ययनसँगै पुस्तकबारे चर्चा गराइएको हो । पुस्तकको चर्चा गरेका उत्कृष्ट बालबालिकालाई पुरस्कारसमेत गरिनुले उनीहरुलाई पुस्तक पढ्न उत्प्रेरित गर्ने आशा गर्न सकिन्छ । बालबालिका आफूले पढेको पुस्तकका बारेमा चर्चा गर्न सक्ने भएमा यसले उनीहरुलाई औपचारिक शिक्षा हासिल गर्न पनि सहयोग गर्ने निश्चित छ ।
पछिल्लो समय पढ्ने बानीका साथै पढ्नुपर्छ भन्ने भावनासमेत कमजोर बनिरहेको छ । आमरुपमा सचेतना र साक्षरता बढ्दै गए पनि पुस्तक पढ्ने संस्कृति हराउँदै गएका कारण पठन संस्कृतिको विकासका लागि केही यस्ता प्रयत्न हुनुलाई सुखद् मान्न सकिन्छ । पुस्तक तथा पत्रिकालाई फुर्सदको समय सदुपयोग गर्ने माध्यम बनाएर आफ्नो आवश्यकता र रुचिअनुसारको पुस्तक पढ्ने बानीको विकास गर्न सकिन्छ । पढ्ने बानीको विकास हुँदै जाँदा पढ्ने इच्छा पनि बढ्दै जान्छ । हरेक पुस्तक आफैंमा महत्वपूर्ण ज्ञानको भण्डार हो । आफ्नो ज्ञानको दायरा फराकिलो बनाएर सिर्जनात्मक क्षमता बढाउन पठन संस्कृतिको विकास अपरिहार्य हुन्छ । हेटौंडाको ९ नम्बर वडा कार्यालय र टोल विकास संस्थाहरुले पठन संस्कृतिको विकासका लागि गरेको राम्रो अभ्यासलाई अन्यत्र पनि अनुसरण गर्नु सान्दर्भिक हुनेछ ।
उपयोगी पुस्तक, पत्रिका तथा म्यागेजिनहरु पढ्ने बानीको विकासबाट बालबालिकाको सिर्जनात्मक क्षमता वृद्धि हुन्छ । विद्यालयमा अध्ययन गर्ने बालबालिकाले वार्षिक परीक्षापछि, वर्षे वा हिउँदे विदा र दशैं–तिहारको विदाको समय सदुपयोग गर्न पनि विभिन्न पुस्तक पढ्नु उपयुक्त हुन्छ । हरेक घरका अभिभावकले फुर्सदको समयमा मोबाइल, टिभीमा रमाउनेमात्र नगरेर पढ्ने उचित वातावरण बनाउन सक्नुपर्छ । यसका लागि उनीहरुले घरमा आफू पनि पढ्ने र बालबालिकालाई पनि पढ्न प्रेरित गर्नु उचित हुनेछ । हरेक घरसँगै टोल तथा समुदायस्तरमा पनि पठन संस्कृतिको विकासबारे व्यापक चर्चा तथा बहस हुनुपर्छ । विद्यालयहरुले पनि विद्यार्थीमा पठन संस्कृतिको विकास गर्न ध्यान केन्द्रित गर्नुपर्छ । यसका लागि समुदाय तथा विद्यालयस्तरमा पुस्तकालयको व्यवस्था गरी उपयोगी पुस्तकसहित पढ्ने वातावरण बनाउनुपर्छ । यसका लागि स्थानीय सरकारले उचित स्रोत साधनको व्यवस्थापन गर्नुपर्छ ।