हेटौंडाः प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता हेटौंडामा सम्पन्न भएको छ । चितवनको भरतपुर महानगरपालिकाको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिता आइतबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सम्पन्न भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्य तथा बागमती प्रदेशको सामाजिक विकासमन्त्री एवम् प्रदेश खेलकुद विकास परिषद्की अध्यक्ष कुमारी मोक्तानको सभाध्यक्षतामा समापन तथा पुरस्कार वितरण कार्यक्रम भएको थियो । पुरस्कार वितरण कार्यक्रममा आन्तिरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, कृषि तथा पशुपछी विकासमन्त्री राजेन्द्रमान श्रेष्ठ र प्रदेश खेलकुद विकास परिष्दका सदस्यसचिव सूर्यलाल भण्डारीको पनि आतिथ्य रहेको थियो ।

विभिन्न ९ वटा खेल विधामा प्रतिस्पर्धा भएको प्रतियोगितामा बागमती प्रदेशले ६१ वटा स्वर्ण, ४३ वटा रजत र ३६ वटा कास्यगरी १ सय ४० वटा पदक प्राप्त गर्दै उपाधि जित्न सफल भएको छ । २१ वटा स्वर्ण, २१ वट रजत र २९ वटा कास्य गरी ७१ वटा पदक प्राप्त गर्दै सुदूरपश्चिम प्रदेश द्वितीय भएको छ भने १६ वटा स्वर्ण, २३ वटा रजत र ३६ वटा कास्य गरी ७५ वटा पदक प्राप्त गर्दै कोशी प्रदेश तृतीय भएको छ ।

११ वटा स्वर्ण, १८ वटा रजत र २० वटा कास्यगरी ४९ पदक प्राप्त गरेको गण्डकी प्रदेश तालिकाको चौथो स्थानमा परेको छ । यस्तै, ११ वटा स्वर्ण, १६ वटा रजत र २८ वटा कास्य गरी ५५ वटा पदक प्राप्त गरेको लुम्बिनी प्रदेश तालिकाको पाँचौँ स्थानमा रहेको छ भने ११ वटा स्वर्ण, १० वटा रजत र २४ वटा कास्य गरी ४५ वटा पदक प्राप्त गर्दै कर्णाली प्रदेश छैटौं भएको छ । ३ वटा स्वर्ण, ३ वटै रजत र १५ वटा कास्य गरी २१ वटा पदक प्राप्त गरेको मधेश प्रदेश तालिकाको पुच्छारमा परेको छ ।

प्रतियोगिताअन्तर्गत् महिला क्रिकेटमा सुुदूरपश्चिम प्रदेशले स्वर्ण जित्दा कोशी प्रदेशले रजत पदकमा चित्त बुझाउनु परेको छ । पुरुष क्रिकेटमा गण्डकी प्रदेशले स्वर्ण प्राप्त गर्दा मधेश प्रदेशले रजत पदक प्राप्त गरेको छ । महिला भलिबलमा बागमतीले स्वर्ण पदक प्राप्त गर्दा गण्डकी प्रदेशले रजत पदक प्राप्त गरेको छ । यस्तै, पुरुष भलिबलमा गण्डकी प्रदेशले स्वर्ण जित्दा कोशीले रजत पदक प्राप्त गरेको छ भने सुदूरपश्चिमले कास्य पदकमा चित्त बुझाउनुपरेको छ ।

बक्सिङमा बागमतीले ९ वटा स्वर्ण, ६ वटा रजत र ६ वटै कास्य गरी २१ वटा पदक जितेको छ भने गण्डकी प्रदेशले ५ वटा स्वर्ण, ३ वटा रजत र ६ वटा कास्य गरी १४ वटा पदक प्राप्त गरेको छ । कर्णाली प्रदेशले ४ वटा स्वर्ण, २ वटा रजत र ७ वटा कास्य गरी १३ वटा पदक प्राप्त गरेको छ । सुदूरपश्चिमले ३ वटा स्वर्ण, १ वटा रजत र ६ वटा कास्य गरी १० वटा पदक प्राप्त गरेको हो । कोशीले २ वटा स्वर्ण, ५ वटा रजत र ६ वटा कास्य गरी १३ वटा पदक जित्दा स्वर्णविहीन भएको लुम्बिनीले ६ वटा रजत र ५ वटा कास्य गरी ११ वटा पदक जितेको थियो । बक्सिङमा स्वर्ण र रजत पदकविहीन बनेको मधेश प्रदेशले ५ वटा कास्यमा चित्त बुझाएको छ ।

यस्तै, कराँतेमा ९ वटा स्वर्ण, ३ वटा रजत र ४ वटा कास्य पदक बागमतीले जित्दा लुम्बिनीले ४ वटा स्वर्ण, ३ वटा रजत र २ वटा कास्य पदकमा सिमित बन्नुपरेको छ । सुदूरपश्चिम प्रदेशले ३ वटा स्वर्ण, २ वटा रजत र ५ वटा कास्य पदक प्राप्त गरेको छ भने कोशी प्रदेशले १ वटा स्वर्ण, १ वटा रजत र ६ वटा कास्यपदकमै सिमित भएको हो । स्वर्णबिहीन भएको मधेश प्रदेश १ रजत र ७ वटा कास्य पदक एवम् गण्डकी १ रजत र ५ वटा कास्य पदक प्राप्त ग रेको छ ।

तेक्वान्दोतर्फ पनि बागमतीले ७ वटा स्वर्ण, ४ वटा रजत र ९ वटा कास्य गरी २० पदकसहित प्रथम भएको छ । सुदूरपश्चिम प्रदेशले ५ वटा स्वर्ण, ३ वटा रजत र २ वटा कास्य पदक प्राप्त गर्दै द्वितीय हुँदा कोशीले ५ स्वर्ण, २ वटा रजत र ६ वटा कास्य पदक प्राप्त गर्दै तृतीय भएको हो । लुम्बिनीले ३ वटा स्वर्ण, १ वटा रजत र ११ वटा कास्य पदक प्राप्त गर्दै चौथो भएको छ । कर्णालीले १ वटा स्वर्ण, २ वटा रजत र ३ वटा कास्य पदक प्राप्त गरेको छ भने गण्डकीले ९ वटा रजत र ४ वटा कास्य पदकमा चित्त बुझाउनुपरेको छ ।

एथ्लेटिक्समा बागमतीले ७ वटा स्वर्ण, ७ वटै रजत र ८ वटा कास्य पदक गरी २२ पदक प्राप्त गर्दै प्रथम भएको छ भने सुदूरपश्चिम प्रदेशले ५ वटा स्वर्ण, ३ वटा रजत र २ वटा कास्य पदक प्राप्त गर्दै द्वितीय भएको छ । कोशीले ५ वटा स्वर्ण, २ वटा रजत र ६ वटा कास्यपदक प्राप्त गर्दा लुम्बिनीले ३ वटा स्वर्ण १ रजत र ११ वटा कास्य पदक प्राप्त गरेको छ । कर्णालीले १ स्वर्ण, २ रजत र ३ वटा कास्य पदक प्राप्त गरेको छ । स्वर्णविहीन बनेको गण्डकीले ९ रजत र ४ वटा कास्य पदक प्राप्त गरेको हो भने मधेश प्रदेशले ३ वटा कास्य पदकमात्र प्राप्त गरेको हो ।

पौडीमा बागमतीले २७ वटा स्वर्ण, १९ रजत र ७ कास्य पदक प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशले ३ वटा स्वर्ण, ८ वटा रजत र ७ वटा कास्य पदक प्राप्त गरेको हो भने स्वर्णविहीन बन्दै लुम्बिनीले ३ वटा रजत प्राप्त गरेको छ । कोशीले ३ रजत र १३ कास्य पदक प्राप्त गरेको हो । कर्णाली, गण्डकी र मधेश प्रदेश पदकबिहीन भएको छ ।

ब्याडमिन्टनमा कोशीले ४ वटा स्वर्ण, १ वटा रजत र ३ वटा कास्य पदक प्राप्त गरेको हो भने गण्डकीले २ वटा स्वर्ण, २ वटा रजत र ३ वटा कास्य पदक प्राप्त गरेको हो । बागमतीले १ वटा स्वर्ण, ३ वटा रजत र २ वटा कास्य पदक प्राप्त गर्दा कर्णाली स्वर्णबिहीन हुँदै १ वटा रजत र २ वटा कास्य पदक प्राप्त गरेको छ । सुदूरपश्चिम ७ वटा कास्यपदकमा नै सिमित छ ।

पुरुष फुटबलमा कोशीलाई स्वर्ण

हेटौंडाः प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् पुरुष फुटबलतर्फ कोशी प्रदेशले स्वर्ण जितेको छ । आइतबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सम्पन्न भएको फाइनल खेलमा बागमती प्रदेशलाई १–० गोल अन्तरले हराउँदै कोशी प्रदेशले स्वर्ण पदक जित्न सफल भएको हो ।

कोशी प्रदेशको जितमा खेलको दोस्रो हाफमा निखिल तामाङले निर्णायक गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच कोशीका निर्णायक गोलकर्ता तामाङ घोषित भएका छन् । उनले ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा स्वर्ण जित्न सफल कोशीको टिमले प्रतिव्यक्ति ५ हजार रुपैयाँ र रजत विजेता बागमतीले ३ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको विजेता र उपविजेता टिमलाई बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र सामाजिक विकासमन्त्री कुमारी मोक्तानले पुरस्कार प्रदान गर्नुभएको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी कोशी प्रदेशका बसन्त ओझा घोषित भएका छन् ।

उत्कृष्ट फरवार्ड बागमतीका राज थोकर, उत्कृष्ट मिडफिल्डर कोशीका कमल खवास, उत्कृष्ट डिफेन्डर बागमतीका रोशन दोङ, उत्कृष्ट गोलरक्षक कोशीका विजयकुमार र उत्कृष्ट प्रशिक्षक कोशीका प्रकाश मल्ल घोषित भएका छन् । प्रतियोगितामा ७ वटा प्रदेशको टिमको सहभागिता रहेको थियो ।

यसअघि सेमिफाइनल खेलमा सुदूरपश्चिमलाई २–० गोल अन्तरले हराउँदै कोशी प्रदेशले फाइनलको यात्रा पूरा गरेको थियो । यस्तै, बागमती प्रदेशले कर्णाली प्रदेशलाई टाइब्रेकरमा ६–५ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।