हेटौँडाः नेपाल पत्रकार महासंघले २०८० साल नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण बर्ष भएको जनाएको छ । शनिबार नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले जारी गर्नुभएको विज्ञप्तिमा अघिल्लो बर्षहरु समग्र पत्रकारिता क्षेत्रमा विभिन्न खालका चुनौति आइपरेको उल्लेख गर्नुभएको छ ।

विश्वव्यापी रुपमा देखिएको आर्थिक संकट, प्रविधि र माध्यमको विकाससँगै समग्र पत्रकारिता क्षेत्रमा नयाँ–नयाँ चुनौती देखिएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाल पत्रकार महासंघमा दर्ता भएका श्रम समस्याहरू विस्तारै हल हँुदै गए पनि श्रमको दीर्घकालीन समस्या समाधानमा अबका वर्षमा मुख्य ध्यान दिनुपर्ने आवश्यकता महासंघले औँल्याएको छ ।

सञ्चार क्षेत्रमा देखिएको आर्थिक संकटसँग जुध्ने र प्रविधिलाई आत्मसात गरेर अगाडि बढ्नुपर्ने चुनौती आइपरेको महासंघले स्पष्ट पारेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका घटना गत वर्षको तुलनामा बढेका छन् । आमसञ्चार नीतिलाई कार्यान्वयन गर्न बन्नुपर्ने कानुनी मस्यौदा अपेक्षाकृत अगाडि बढ्न नसकेको महासंघले जनाएको छ । तीनवटै तहका सरकारले बनाएका र बनाउने कानुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री बनाउन थप दबाब दिन आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।

२०८० सालमा प्रेस स्वतन्त्रता हनन्का ६४ वटा घटना भएका छन् । पत्रकारलाई समाचार प्रकाशन÷प्रसारण भएकै कारण धम्की तथा दुव्र्यवहार गर्ने, आक्रमण गर्ने, पक्राउ गर्ने, सूचना संकलनमा अवरोध गर्नेजस्ताको विवरण पनि महासंघले सार्वजनिक गरेको छ । जसअनुसार २०७९ सालमा प्रेस स्वतन्त्रता हनन्का ५१ वटा घटना भएका थिए भने २०७८ मा प्रेस स्वतन्त्रता हनन्का ७४ घटना भएका थिए ।

नेपाल पत्रकार महासंघले नयाँ वर्षसँगै समग्र पत्रकारिता क्षेत्रमा देखिएको संकटका विषयमा बहस प्रारम्भ गरेको महासचिव पुरीले बताउनुभयो । वैशाख २१ र २२ गते लुम्बिनीमा हुने महासंघको महाधिवेशनलाई यही विषयमा केन्द्रित गरिएको उहाँले जानकारी गराउनुभयो ।