आज चैत १५ गते बिहीबारबाट शैक्षिक सत्र २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) देशभर सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई परीक्षा विहान ८ बजेबाट सुरु हुनेछ । साधारण धारतर्फको चैत २३ गतेसम्म र प्राविधिक धारतर्फको एसईई चैत २७ गतेसम्म हुनेछ । विगतमा कक्षा १० सम्म विद्यालय शिक्षा रहँदा कक्षा १० को अन्तिममा लिइने परीक्षालाई एसएलसी भनिन्थ्यो । अहिले विद्यालय तह कक्षा १२ सम्म कायम भएपछि कक्षा १० को अन्तिममा लिइने परीक्षालाई माध्यमिक शिक्षा परीक्षा (एसईई) भनिन्छ । विगतमा विद्यार्थी जीवनकै सबैभन्दा महत्वपूर्ण परीक्षाको रुपमा लिइने एसएलसी कक्षा १२ मा पुगे पनि कक्षा १० को एसईईलाई एसएलसी जसरी नै सञ्चालन गरिँदै आएको छ । एसईई परीक्षालाई राष्ट्रियस्तरमा सञ्चालन नगर्ने भनिए पनि नयाँ शिक्षा ऐन तथा नियमावली बन्न नसक्दा विगतको एसएलसीजस्तै देशव्यापी निकै तामझामका साथ एसईई परीक्षा सञ्चालन हुँदै आएको छ ।

यस वर्षको एसईई परीक्षामा देशभर ५ लाख ४ हजार ४१४ जना विद्यार्थी सहभागी हुँदैछन् । देशभर २ हजार ६४ परीक्षा केन्द्र तोकिएका छन् । एसईईका लागि ७७ हजार ४ सय ८५ जना जनशक्ति परिचालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । एसईईका लागि २ हजार ६४ जना केन्द्राध्यक्ष खटाइएको छ । यस्तै, ४ हजार एक सय २८ जना सहायक केन्द्राध्यक्ष र २५ हजार २ सय २२ जना निरीक्षक परीक्षामा परिचालन गरिनेछ । यस्तै, ५ हजार ५४ जना परीक्षा सहायक र १० हजार ८१ जना कार्यालय सहयोगी परीक्षामा खटिने बताइको छ । परीक्षा केन्द्रमा ३० हजार ९ सय ६० जना सुरक्षाकर्मीसमेत परिचालन गरिनेछ । मकवानपुर जिल्लामा यस वर्ष ६ हजारभन्दा बढी परीक्षार्थीले एसईई दिँदैछन् । जिल्लाका एक सय ३८ विद्यालयबाट ६ हजार एक सय ५६ जना विद्यार्थीले एसईईको परीक्षा फारम भरेका हुन् । मकवानपुर जिल्लामा २६ वटा परीक्षा केन्द्रमा एसईई परीक्षा हुनेछ ।

विद्यार्थीका लागि प्रत्येक शैक्षिक सत्रको अन्त्यमा लिइने परीक्षाको विशेष महत्व हुने गर्दछ । माथिल्लो कक्षामा जानका लागि शैक्षिक सत्रको अन्तिममा लिइने वा वार्षिक परीक्षा उत्तीर्ण हुनु अनिवार्य भएकाले महत्व बढी हुनु स्वभाविक हो । तर, एसईईलाई भने कक्षा १० बाट कक्षा ११ मा जाने परीक्षाको रुपमा मात्र नहेरी समग्र विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालयको स्तर र प्रतिष्ठासँग दाँज्ने आधार मान्ने गरिएको छ । यसैकारण विगतमा एसएलसीलाई जसरी राज्य, शैक्षिक प्रशासक, शिक्षक, विद्यालय, अभिभावक तथा विद्यार्थी सबैले उच्च महत्व दिएका थिए, अहिले एसईईलाई पनि उस्तै महत्व दिने गरिएको छ । अहिले एसईईमा सहभागी विद्यार्थीले यो परीक्षा उत्तीर्ण गरेपछि कक्षा ११ मा अध्यनका लागि योग्य हुने हो । यस वर्षबाट एसईईमा सहभागी विद्यार्थीका लागि पनि परिमार्जित लेटर ग्रेडिङ पद्दति लागू हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । प्रत्येक विषयमा ३५ प्रतिशत अंक ल्याउने विद्यार्थीमात्र कक्षा ११ अध्ययनका लागि योग्य हुनेछन् भने कुनै विषयमा ३५ प्रतिशत अंक ल्याउन नसक्ने विद्यार्थी ग्रेडिङमा पर्दैनन् र उनीहरुले उक्त विषयको पुनः परीक्षा दिनुपर्ने हुन्छ ।

कक्षा १२ सम्मलाई विद्यालय तह मानिएपछि कक्षा १२ को अन्त्यमा लिइने परीक्षालाई एसएलसी (स्कूल लिभिङ सर्टिफिकेट) परीक्षा हुनुपर्छ । यस आधारमा कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई अहिलेको जस्तो राष्ट्रियस्तरमा सञ्चालन गर्नु उचित देखिँदैन । आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा स्थानीय तहले सञ्चालन गर्ने भएका कारण एसईईलाई प्रदेशस्तरमा सञ्चालन गरिनु सान्दर्भिक हुनसक्छ । नभए यसलाई पनि कक्षा ९ वा ११ को जस्तै विद्यालयले नै सञ्चालन गर्नसक्ने बनाउन पनि सकिन्छ । एसईईलाई कक्षा १० उत्तीर्ण गरेर ११ कक्षामा जाने आधारमात्र मान्ने हो भने विद्यार्थीलाई अनावश्यक दवाव र अभिभावकलाई आर्थिक भार कम हुनेथियो । राम्रो नतिजा ल्याउनुपर्ने दवावका कारण कतिपय विद्यार्थीको परीक्षा बिग्रनसक्ने भएकाले परीक्षाको समयमा विद्यार्थीले यस्ता दबाब तथा त्रासबाट मुक्त हुनुपर्छ । परीक्षालाई सामान्यरुपमा लिएर राम्रो गर्ने प्रयास विद्यार्थीले गर्नुपर्छ । एसईईमा सम्मिलित विद्यार्थीलाई परीक्षा राम्रोसँग दिएर उच्च शैक्षिक उपलब्धी हासिल गर्न शुभकामना छ ।