हेटौँडाः हेटौँडामा यही चैत २४ गते स्वास्थ्य तथा पर्यटन प्रवद्र्धनका लागि साइकल भन्ने नाराका साथ प्रथम यु–१६ जिल्लास्तरीय साइक्लिङ प्रतियोगिता हुने भएको छ । हिमालयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा साइक्लिङ प्रतियोगिता हुन लागेको सोसाइटीका उपाध्यक्ष राजु थापा मगरले जानकारी दिनुभएको छ ।
नयाँ वर्षको अवसर पारेर आयोजना गर्न लागेको प्रतियोगितामा जिल्लाभित्रका ११ वर्षदेखि १६ वर्ष उमेर समूहका प्रतियोगीहरुले सहभागिता जनाउन पाउने उहाँले बताउनुभयो । आउँदो शुक्रबारको कार्यसमितिको बैठकपछि टिम दर्ता शुल्क, टिम सहभागी र प्रतियोगिताको पुरस्कारको राशिबारे निर्णय गरिने उहाँको भनाइ छ । प्रतियोगितामा २५ जना प्रतियोगीहरु सहभागी हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । सोसाइटीको खर्चबाट प्रतियोगिताको आयोजना गर्न लागेको बताउनुहुँदै उहाँले हेटौँडा उपमहानगरपालिकालगायत अन्य संस्थाबाट सहयोग नलिने जानकारी दिनुभयो ।
प्रतियोगिताका लागि दर्ताको प्रक्रिया आइतबारबाट सुरु भएर १ सातासम्म सञ्चालन हुने उपाध्यक्ष थापाले बताउनुभयो । मकवानपुर जिल्लामा साइकल चलाउँदा हुने फाइदाको बारेमा बुझाउन, जिल्लालाई साइकलको माध्यमबाट चिनाउन र साइकल चलाउने बानीको विकास गर्नकै निम्ति प्रतियोगिताको आयोजना गर्न लागेका उहाँले जानकारी दिनुभयो ।
सोसाइटीले यसअघि भेट्रान्स र खुला साइक्लिङ प्रतियोगिताको आयोजना गरिसकेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको पुरस्कार राशिबारे निर्णय नभएका कारणले खर्च रकमको अनुमान नगरिएको उहाँले बताउनुभयो । सोसाइटीले आगामी जेठ १४ गते भेट्रान्स साइकल दौड प्रतियोगिता गर्ने जनाएको छ ।