साङ्केतिक तस्बिर goole.com

हेटौंडाः इसाई धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ख्रिस्टमस (क्रिसमस डे) आज सोमबार मनाइँदैछ । क्रिसमस डेका अवसरमा सरकारले सोमबार सार्वजनिक बिदासमेत दिएको छ ।

विश्वभर हर्षोल्लासपूर्वक मनाइने ख्रिस्टमस नेपालमा पनि इसाई धर्मावलम्बीहरुले मनाउने गरेका छन् । विभिन्न चर्च (गिर्जाघर) तथा पर्यटकीय केन्द्रहरुमा ख्रिष्टमसको रमझम बढी हुने गर्दछ ।

करिब २ हजार वर्षअघि इजरायलस्थित जेरुसेलमको बेथलियमको एउटा गोठमा प्रभु येशु ख्रिष्टको जन्म भएको खुशियालीमा यो पर्व मनाउने गरिएको छ । ग्रेगोरियन पात्रोअनुुसार हरेक वर्षको डिसेम्बर महिनाको २५ तारिखका दिन इसाई (क्रिश्चियन) धर्मावलम्बीले ख्रिस्टमस मनाउने गर्दछन् ।

पिता स्वर्गदूत र माता मरियमका कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । क्राइस्टले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

यस दिन चर्च तथा सामूहिक कार्यक्रममा भेला भई इसाई धर्मावलम्बीहरुले प्रभु यसुको आराधना गर्दै भजन कीर्तन तथा विभिन्न सांगीतिक कार्यक्रम गर्ने गरिएको छ । क्रिसमस डेमा येशुको शिक्षा एवम् उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान पनि गरिन्छ ।

व्यापारिक केन्द्र तथा पर्यटकीय क्षेत्रमा क्रिसमस रुखलाई सजाएर राख्ने गरिएको छ । ख्रिस्टमसका अवसरमा सामूहिक भोजसमेत आयोजना गरिन्छ । बालबालिकाका लागि पनि क्रिसमस डे विशेष बन्ने गरेको छ । बालबालिकाका लागि क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लस हो । सान्टा क्लसको लुगा र टोपीले बालबालिकालाई आकर्षित गर्ने गरेको छ ।