हेटौँडाः रोजगारीको सिलसिलामा मलेसियामा रहेका मकवानपुरको बकैया गाउँपालिका–११, घट्टेखोलाका ३२ वर्षीय मीनबहादुर न्यासुरको मृत्यु भएको छ । आइतबार राती सुतेकै ठाउँमा न्यासुरको मृत्यु भएको उनका दाजु राजकुमार न्यासुरले जानकारी दिनुभयो । राजकुमार न्यासुर सोमबार जिल्ला प्रशासन कार्यालयमा रहेको सुरक्षित बैदेशिक रोजगारीसम्बन्धी सामी परियोजनामार्फत भाइ मीनबहादुरको शव नेपाल झिकाउनका लागि निवेदन दिन आइपुग्नुभएको थियो ।
चालु आर्थिक वर्षको २ महिनाको अवधिमा वैदेशिक रोजगारीमा गएका मकवानपुरका ३ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएका मकवानपुरका १३ जनाको मृत्यु भएको सुरक्षित बैदेशिक रोजगारीसम्बन्धी परियोजना (सामी) की सूचना तथा परामर्शकर्ता पार्वती बिकले जानकारी दिनुभयो । सामी परियोजनाले बैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा पत्राचार गरेर मृतक रहेको देशस्थित नेपाली दूतावासमार्फत शव ल्याउन आवश्यक पहल गर्ने गरेको छ । न्यासुरको शव पनि मलेसियास्थित नेपाली दूतावासमार्फत झिकाइने सामी परियोजनाकी सूचना तथा परामर्शकर्ता पार्वती बिकले जानकारी दिनुभयो । एकदेखि दुइ सातामा शव ल्याउन सकिने उहाँको भनाइ छ ।
श्रम स्वीकृतिको अवधि कायमै रहँदा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले ७ लाख रुपैयाँ र बीमावापत १४ लाख रुपैयाँ प्राप्त हुनेछ । न्यासुरको भने श्रम स्वीकृतिको अवधि पूरा भइसकेकोले बोर्ड र बीमामार्फत राहत रकम प्राप्त हुने अवस्था नरहेको बिकले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा १३ जनाको मृत्यु भएकोमा सम्बन्धित देशबाट १२ जनाको शव नेपाल ल्याउन सफल भएको थियो । अन्तर्राष्ट्रिय दातृ निकायसँगको सहकार्यमा हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेको सामी परियोजनामार्फत जिल्ला प्रशासन कार्यालयमा सूचना तथा परामर्श केन्द्र स्थापना गरिएको छ । प्रशासन कार्यालयमा राहदानी (पासपोर्ट) बनाउन आएका व्यक्तिलाई राहदानी बनाउनुको प्रयोजनका बारेमा सोधपुछ गर्ने र वैदेशिक रोजगारीका लागि जान राहदानी बनाउन आउनेलाई आवश्यक परामर्श दिने गरिएको छ ।
सुरक्षित वैदेशिक रोजगारीको अवसर रहोस् भनी परामर्श केन्द्रले आवश्यक सहजीकरण र अभिमुखीकरण गर्दै आएको छ । सोमबार पनि हेटौँडा–१८ की एक महिला मलेसिया जानका लागि म्यानपावर कम्पनिको एजेन्टले पैसा मागेको र दिँदा हुन्छ कि हुन्न भन्दै सोधपुछ गर्न आएकी थिइन् । ती महिलालाई परामर्श केन्द्रमा पार्वती बिकले आवश्यक परामर्श गरिरहनुभएको थियो । निशूल्करुपमै मलेसिया जान सकिने भए पनि म्यानपावर कम्पनिका एजेन्टले ३ लाख रुपैयाँ लाग्ने जनाउँदै अहिले ५० हजार रुपैयाँ रकम दिन भन्दै आएको ती महिलाले बताइन् । आफूसँगै हर्नामाडीका ४ जना महिला मलेसिया जाने भनी म्यानपावर कम्पनिलाई राहदानी बुझाएर आएको ती महिलाले बताइन् ।
वैदेशिक रोजगारीमा जाने प्रक्रियामा वा रोजगारीको गन्तव्य मुलुक पुगिसकेपछि ठगिएको भन्दै गत आर्थिक वर्षमा ६० वटा निवेदन सामी परियोजनाअन्तर्गत सूचना तथा परामर्श केन्द्रमा दर्ता भएको थियो । ती मध्ये २६ वटा निवेदनमाथि आवश्यक सहजीकरण गरी पीडितलाई ठगिएको रकम असुल गराउन सफल भएको बिकले बताउनुभयो । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा रहेर विभिन्न घटनामा परी जेलमा रहेका ६ जनामध्ये २ जनालाई सजायभुक्तानपछि स्वदेश फर्काउन सफल भएको थियो ।
वैदेशिक रोजगारीमा पुगेर त्यहीँ मृत्यु भएकाका परिवारलाई १ करोड ४२ लाख रुपैयाँ राहत रकम समेत उपलब्ध भएको छ । चालु आर्थिक वर्षको २ महिनाको अवधिमा ठगीका २५ वटा गुनासा केन्द्रमा दर्ता भएको छ । यस्तै रोजगार गन्तव्य मुलुकमा पुगेर तलब नपाएपछि उद्दारका लागि ८ जनाको निवेदन दर्ता भएको छ ।