हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले आउँदो २०८० मंसिर मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणाका लागि तयारी गरिरहेको छ । सोही क्रममा वडाहरुलाई पनि बालमैत्री बनाउने तयारी भइरहेको छ । हेटौँडा उपमहानगरलाई बालमैत्री पालिका घोषणाका लागि सहयोग पुग्ने उद्देश्यले वडाहरुलाई बालमैत्री बनाउने तयारी भइरहेको हो । तयारी अन्तर्गत डा सहजकर्ताको पहलमा बालबालिकाको हक, अधिकारबारे टोल अभिमुखीकरण, सचेतना र सुचना जारी गरिरहेको छ । बालविवाह, बालश्रम, लागुपदार्थ दुव्र्यसनविरुद्ध सचेतना दिइरहेको हेटौँडा–४ की वडा सहजकर्ता अमिसा अधिकारीले जानकारी दिनुभयो ।
बालमैत्री पालिका घोषणाका लागि बाल संरक्षण प्रमुख चुनौति रहेको छ । तर पनि बाल संरक्षणलाई विशेष जोड दिइरहेको छ । वडा सहजकर्ता अधिकारीले भन्नुभयो, “बालश्रमिक बालबालिकाको संरक्षण तथा व्यवस्थापनलाई प्राथमिकता दिइरहेको छ ।” वडामा रहेका होटल, ग्यारेज र फ्याक्ट्रीबाट श्रमिक बालबालिको उद्दार गरी अभिभावकलाई जिम्मा लगाइरहेको छ । गत असार २५ गते ८ वर्षीय बालिकालाई उद्दार गरिएको छ । सुनसरीकी बालिकालाई कुटपिट समेत गरेको अवस्थामा उद्दार गरिएको हो । पालनपोषणको जिम्मा लिन्छु भनी फकाएर श्रममा संलग्न गराएको बालिकाको भनाई छ । घरेलु कामदारका रुपमा लगाएको तर परिश्रमिक भने नदिएको पाइएको छ ।
यस्तै गत शुक्रबार हेटौंडा–४ मा रहेको ब्लक फ्याक्ट्रीबाट २ जना बालश्रमिकको उद्दार गरिएको छ । १२ वर्षीय र १६ वर्षीय बालकलाई उद्दार गरिएको हो । गत जेठ महिनामा वर्कशपबाट २ जना बालकको उद्दार गरिएको छ । १÷१ हजार जरिवानासहित बालकलाई अभिभावकको जिम्मा लगाइएको छ । हेटौंडा–५ का १५ वर्षीय एक बालकलाई लागुपदार्थ सेवन गरिरहेको अवस्थामा गत असार १९ गते उद्दार गरिएको छ । यस्तै गत शनिबार आन्दाजी २० वर्षीय अपाङ्ग महिलालाई मागिरहेको अवस्थामा उद्दार गरिएको छ । ती महिलाको घरमा बुझ्न जाँदा बहिनी पनि अपाङ्ग रहेको पाइएको र बाबुआमा पनि शारीरिक रुपमा अशक्त रहेको पाइएको थियो ।
उपमहानगर, बाल हेल्पलाइन र श्रम तथा रोजगार कार्यालयको समन्वयमा श्रमिक बालबालिकाहरुको उद्दार गरिँदै आइरहेको छौं सहजकर्ता अधिकारीले भन्नुभयो, “आफूहरु जोखिममा रहने भएपछि केही समयका लागि उपमहानगरको निर्देशनमा अनुगमन कार्यक्रमलाई निरन्तरता दिन सकिरहेको अवस्था छैन । दिगोपनाका लागि मात्र नभई दिगोपना विकासका लागि हामीले काम गर्नुपर्ने छ । जसले गर्दा जोखिममा रहेर पनि कामलाई निरन्तरता दिनुपर्ने छ ।” सुचना जारी गरेर श्रमिक बालबालिकालाई काममा नलगाउन १५ दिने म्याद दिने गरिएको छ । तर अटेर गर्दै रोजगारदाताहरुले श्रमिक बालबालिका राख्नुहुन्छ । दोहोर्याएर जाँदा हामीलाई टाढाबाट नियालेर हेरिरहेका हुन्छन् । हाम्रो हुलियालाई पहिचान गरी ऊ आयो फेरि भन्दै देखाएर श्रमिक बालबालिकाहरु लुकाउनतिर लाग्नुहुन्छ । यस्तै श्रमका लागि राखिएको बालबालिकालाई मेरो छोराछोरी हो भन्नुहुन्छ । यसरी हाम्रो आँखालाई छलाउन खोज्नुहुन्छ र थर्काउने तथा धम्काउने गरिरहेको उहाँको भनाई छ ।
कुनैले त भित्र नआउनुस् बाहिर बस्नुस् समेत भन्छन् । जसले अपहेलनाको महसुस पनि भएको अधिकारीले बताउनुभयो । जसले गर्दा श्रमिक बालबालिकाको पहिचान गर्न हामीलाई अपठ्यारोसँगै आफूहरु असुरक्षित महसुस भएको उहाँले बताउनुभयो । अहिले वडालाई बालमैत्री बनाउनका लागि काम भइसकेको छ । बाल समुह गठन, सचेतना र अभिमुखीकरणको काम सकिएसँगै ३५ प्रतिशत काम सकिएको उहाँले जानकारी दिनुभयो ।
वडालाई पनि बालमैत्री बनाउन नसकिरहेको अवस्थामा उपमहानगरलाई तोकिएको समयमा बालमैत्री बनाउन नसकिने बताउनुभयो । अधिकारीले भन्नुभयो, “बालमैत्री सहजकर्ताको रुपमा नियुक्त भएको २ महिना भयो । यसअघिका वडा सहजकर्ताले विशेष कारण राजिनामा दिनुभयो । जसले गर्दा एक महिना वडा सहजकर्ता नियुक्त हुन सकेन । त्यसले गर्दा अन्य वडाको तुलनामा ढिला काम भइरहेको छ ।”