हेटौंडाः समान्य भाषिक सीपमा समेत विद्यार्थी कमजोर रहेको पाइएको छ । हेटौंडा—१४, मयूरधापमा रहेको जनज्योति माध्यमिक विद्यालयका विद्यार्थी सामान्य भाषिक सीपमा कमजोर रहेको पाइएको हो ।
कक्षा—३ सम्मका विद्यार्थीले पाठ्यपुस्तकमा समावेश आधारभूत विषयवस्तु भन्न सक्ने हुनुपर्दछ । कक्षा—४ देखिका विद्यार्थीले पाठ्यपुस्तकममा समावेश आधारभूत विषयवस्तुबारे बुझिसकेको हुनुपर्छ । तर, कक्षा—९ पुगेका विद्यार्थीले नेपाली र अंग्रेजी भाषा पढ्न र लेख्न सकेका छैनन् ।
गत शनिबारदेखि जनज्योति माध्यमिक विद्यालयले विद्यार्थीको टोलटोलमा शिक्षण सिकाई सहजीकरण अभियान थालेको छ । कक्षा ४ देखि १० सम्मका कमजोर विद्यार्थीलाई सहजीकरण अभियान थालिएको हो । सहायक प्रधानाध्यापक हरि पौडेल भन्नुहुन्छ— ‘बिहानी कक्षा सञ्चालन भएपछि विद्यालयले टोलटोलमा शिक्षण सिकाई सहजीकरण अभियान थालेको छ ।’
हेटौंडा उपमहानगरपालिका १४ नम्बर वडाको कालोपानी टोलबाट शिक्षण सिकाई सहजीकरण सुरु गरिएको छ । अभिभावक, विद्यार्थी र शिक्षकको उपस्थितिमा उक्त अभियान सुरुवात गरिएको हो । सिकाई सहजीकरणमा १२ जना विद्यार्थी सहभागी हुने अनुमान गरिएकोमा ९ जना विद्यार्थी सहभागी भएको सहायक प्रधानाध्यापक पौडेलले बताउनुभयो ।
विद्यार्थीलाई कसरी पढ्न र लेख्न सक्षम बनाउने भन्ने पहिलो जिम्मेवारी विद्यालय र शिक्षकको हो । तर, सबैको एकै किसिमले मानसिक विकास नहुँदा सिकाई सहजीकरणमा कठिनाई भइरहेको उहाँले बताउनुभयो । शिक्षक पौडेलले भन्नुभयो—‘मानसिक स्वास्थ्यको पनि समस्या हुन्छ । उक्त समस्यालाई सम्बन्धित निकायले ध्यान दिनुपर्दछ । सोहीबमोजिम विद्यालयले कमजोर विद्यार्थीलाई एक घण्टा बढी पढाउँदै आइरहेको थियो । बिहानी कक्षा सञ्चालन भएपछि टोलहरुमा अभिभावक, विद्यार्थी र शिक्षकबीच शिक्षण सिकाई सहजीकरण सुरुवात गरिएको छ ।’ विद्यार्थीलाई कसरी पढ्ने र लेख्ने भन्ने कुरा सिकाउने र घरमा बालबालिकालाई पढ्ने र लेख्ने वातावरण अभिभावकले कसरी निर्माण गर्ने भन्ने कुरामा सहजीकरण गरिएको उहाँको भनाइ छ । सहजीकरणपछि धेरै विद्यार्थीले सहजै लेख्न र पढ्न सक्ने भएको बताइएको छ । यदि कसैले पढ्न र लेख्न अटेर गरे विद्यालयलाई सम्पर्क गर्न अभिभावकहरुलाई आग्रह गरिएको उहाँको भनाइ छ ।
विद्यार्थीमा पठन संस्कृतिको विकास छैन, जसले गर्दा विद्यार्थीको पढाइ कमजोर छ । कमजोर विद्यार्थीलाई सिकाउनकै लागि करिब १० वटा टोलमा शिक्षण सिकाई सहजीकरण सञ्चालन गरिने उहाँले बताउनुभयो । आज बुधबार विद्यालयले बँदेलधापमा सहजीकरण कक्षा सुरु गर्दैछ । आउँदो साउन ९ गतेदेखि सञ्चालन हुने प्रथम त्रैमासिक परीक्षा र भाषिक क्षमता विकासमा यसले सहयोग पुग्ने उहाँले बताउनुभयो ।
करिब ५० जना कमजोर विद्यार्थीलाई प्रथम त्रैमासिक परीक्षा सुरु हुनु अघिल्लो दिनसम्म टोलमै शिक्षण सिकाई सहजीकरण गरिनेछ । तर परीक्षा सकिएपछि दिवा कक्षा सञ्चालन गरिने भएकाले विद्यालयमै शिक्षण सिकाई सहजीकरण गरिने उहाँको भनाइ छ ।
विगतका वर्षहरुमा सरकारले उदार कक्षोन्नति पद्वति अपानएको थियो । विद्यार्थीमा नपढी पास हुन्छ भन्ने मानसिक विकास भयो । त्यसले विद्यार्थीको पठन संस्कृतिलाई कमजोर बनाएको उहाँले बताउनुभयो । सबैभन्दा बढी कक्षा ६ र ७ का विद्यार्थी कमजोर रहेको पाइएको शिक्षक पौडेलले जानकारी दिनुभयो ।
कक्षा ८ मा जिल्लास्तरीय परीक्षा हुने भएकाले प्रायः विद्यार्थी अनुत्तीर्ण हुने गरेको उहाँले बताउनुभयो । विद्यालयको कमी कमजोरीलाई सुधार गर्दै विद्यालयले सिक्षण सिकाई सहजीकरणलाई जोड दिएको छ । कमजोर विद्यार्थीमध्ये आधा विद्यार्थीको शैक्षिकस्तर अलिकति उकास्न सके विद्यालयको उपलब्धी हुने उहाँले बताउनुभयो । उक्त सहजीकरण अभियानले विद्यार्थी र अभिभावक पनि खुसी रहेका छन् । यसले अनुत्तीर्ण प्रतिशत घटाउनेमा विद्यालय विश्वस्त बनेको छ । विद्यालयमा करिब ६ सय विद्यार्थी अध्ययनरत् छन् ।