शिक्षा सबै पूर्वाधारको मुख्य आधार हो । शिक्षाको विकासबिना अन्य पूर्वाधारको विकास सहज हुँदैन । शिक्षाबिना कुनै पनि क्षेत्रमा सफलताको कल्पना गर्न सकिँदैन । कुनै पनि देशको विकासको अवस्थालाई मापन गर्ने मानव विकास सूचकाङ्कको एक महत्वपूर्ण सूचक शिक्षा हो । शिक्षित नागरिकलाई विकासको एउटा महत्वपूर्ण आधार मानिन्छ । अर्थात् देशको नागरिकको स्तर कस्तो छ भन्ने कुरा त्यस देशको शिक्षा प्रणाली कस्तो छ भन्ने कुरामा निर्भर रहन्छ । त्यसैले शिक्षालाई देश निर्माणको आधार पनि भन्ने गरिन्छ । तर, नेपालको शिक्षा प्रणाली र व्यवस्थापनमा थुप्रै समस्याहरु छन् । यसकारण शिक्षा क्षेत्रलाई सुधार्नु अनिवार्य छ । शिक्षा नसुध्री समाजका अन्य क्षेत्र सुध्रन सक्दैन । शिक्षा आफू सुध्रिएर समाजलाई सुधार्नु पर्छ । विश्वका विकसित देशहरु शिक्षामा सुधार भएरै विकसित र सम्पन्न बनेका हुन् । तर, हामीकहाँ भने शिक्षा नै भद्रगोल, लथालिंग र अस्तव्यस्त बनेको छ ।
नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । संविधानले दिएको अधिकारअनुसार कक्षा १२ सम्मको विद्यालयको व्यवस्थापन र शैक्षिक सुधारको जिम्मा गाउँ तथा नगरपालिकामा आएको हो । स्थानीय तहमा माध्यमिक तहसम्मको शिक्षाको अधिकार आएपछि शिक्षामा समयसापेक्ष सुधार र प्रभावकारिताको अपेक्षा गरिएको भए पनि व्यवहारमा त्यस्तो देखिँदैन । विद्यालय तहको शिक्षाको समग्र व्यवस्थापन र शैक्षिक सुधारका लागि अधिकांश स्थानीय तहले प्रभावकारी कार्यक्रम ल्याउन सकेको पाइँदैन । यसैको एउटा उदाहरण हेटौंडामा देखिएको छ । हेटौंडा उपमहानगरपालिकाको शिक्षा महाशाखाले गत शुक्रबार आयोजना गरेको नगरस्तरीय शैक्षिक सामग्री प्रदर्शनीले शिक्षामा भद्रगोलमात्र होइन, मजाक नै बनाउन खोजिएको आभाष भएको छ । गत असार १२ गते शैक्षिक सामग्री प्रदर्शनीको आयोजना गर्ने सूचना जारी गरियो । प्रदर्शनीमा सहभागी हुन चाहने विद्यालयले सामग्री विवरणसहित असार १३ गते नै नाम टिपाउन भनियो र असार १५ गते शैक्षिक सामग्री प्रदर्शनी नै गरियो । ३ दिनको सूचनामा आयोजना गरिएको प्रदर्शनीमा हेटौंडा उपमहानगरका १२ वटा विद्यालयको सहभागिता रह््यो, जबकि हेटौंडा उपमहानगरमा ७३ वटा सामुदायिक र ४८ वटा निजी गरी १ सय २१ वटा विद्यालय छन् ।
१ सय २१ वटा विद्यालयमध्ये १२ वटा विद्यालयको मात्रै सहभागिताले नगरस्तरीय शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम कति सफल र औचित्यपूर्ण बन्यो होला ? तै पनि आयोजकले तामझामका साथ कार्यक्रमको उद्घाटन र समापन ग¥यो । प्रदर्शनीमा सहभागी भएका अधिकांश विद्यालयले विद्यार्थीका परियोजना कार्यहरु र यसअघिका प्रदर्शनीमा राखिएका सामग्री ल्याएका थिए । ३ दिनको समय दिएर सामाजिक सञ्जालमा राखिएको सूचना सबै विद्यालयले थाहा पाएनन् भने थाहा पाएका विद्यालयका शिक्षक विद्यार्थीले सामग्री निर्माण गर्ने पर्याप्त समय पाएनन् । आर्थिक वर्षको अन्तिमतिर बजेट सक्ने कार्यक्रमका रुपमा यो प्रदर्शनी सिमित बन्यो ।
हेटौंडा उपमहानगरपालिकाको नेतृत्वले शैक्षिक व्यवस्थापनमा पर्याप्त ध्यान दिन सकेको पाइँदैन । शिक्षा क्षेत्रका लागि सान्दर्भिक र अत्यावश्यक गतिविधि खासै भएको छैन । सिमित कार्यक्रम पनि प्रभावकारी कार्यान्वयन नहुँदा उपलब्धी शून्यप्रायः बनिरहेको छ । उपमहानगरपालिकाले उपमहानगरको समग्र शैक्षिक व्यवस्थापनका लागि गर्नुपर्ने कार्य धेरै छन् । आफ्नो आवश्यकता, सान्दर्भिकता र अन्य पालिकाले गरेका असल अभ्यासका आधारमा उपमहानगरपालिकाले शैक्षिक नीति तथा कार्यक्रम तय गर्नुपर्छ । सामुदायिक तथा संस्थागत विद्यालयहरुको नियमित अनुगमन, नियमनका साथै संवैधानिक अधिकार प्रयोग गरेर शिक्षा क्षेत्र सुधारका लागि प्रभावकारी कार्यक्रम गरिनुपर्छ । शिक्षा क्षेत्रलाई भद्रगोल बनाउने, विद्यमान बेथिति अन्त्य गर्न नसक्ने र नवीनतम कार्यक्रम ल्याउन नसक्ने हो भने उपमहानगरको शिक्षा अस्तव्यस्त बन्नेछ । शिक्षाका योजना र कार्यक्रममा गम्भीर बनौं, शिक्षालाई मजाक नबनाऔं ।