हेटौंडाः मकवानपुर जिल्लाका ७ वटा पालिकाले आज आइतबार आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दैछन् । हेटौंडा उपमहानगरपालिका, कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिसकेका छन् ।
असार १० गतेसम्म देशैभरका स्थानीय तहहरुले संवैधानिक प्रावधानअनुसार आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । आइतबार दिउँसो १ बजे मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने भएको छ । गाउँपालिकाले अनुमानित ६२ करोड २५ लाख रुपैयाँको बजेट ल्याउने पालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले बताउनुभयो ।
चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको बजेट घटेर आउने उहाँले बताउनुभयो । चालु आर्थिक वर्षका लागि ६७ करोड ६७ लाख बजेट विनियोजन भएको थियो । यसपटक संघीय र प्रदेश सरकारबाट पनि बजेट घटेर आएसँगै पालिकाको पनि बजेट घट्ने भएको उहाँले बताउनुभयो । यसपटक उत्पादनकेन्द्रित बजेट आउने उहाँले बताउनुभयो । कृषि क्षेत्रलाई लक्षित गरेर साना किसानहरुलाई उत्पादनमा आधारित अनुदानहरु वितरण गरिने पाख्रिनले बताउनुभयो ।
थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले आइतबार बिहान ११ बजे हुने अधिवेशनमा आगामी आर्थिक वर्षका लागि ९८ करोड रुपैयाँ बराबरको बजेट ल्याउने बताउनुभयो । चालु आर्थिक वर्षमा पालिकाले १ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षमा भने बजेट घटेर आउने भएको उहाँले बताउनुभयो । पालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउने उहाँले बताउनुभयो ।
यस्तै, मनहरी गाउँपालिकाले आइतबार बिहान ११ बजे बस्ने बैठकमा ९० करोड रुपैयाँ बराबरको बजेट ल्याउने तयारी भएको पालिकाकी उपप्रमुख सीता पुलामी मगरले बताउनुभयो । चालु आर्थिक वर्षमा ९८ करोड बजेट विनियोजन भएकोमा यसपटकको बजेट घटेर आउने भएको हो । पालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याउने उपाध्यक्ष मगरले बताउनुभयो ।
बागमती गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६४ करोड रुपैयाँ बराबरको बजेट ल्याउने पालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिनाले बताउनुभयो । पालिकाले आगामी आर्थिक वर्षका लागि कृषि उत्पादनलाई प्राथमिकता दिएर कार्यक्रम ल्याउने उहाँले बताउनुभयो । यस्तै, बकैया गाउँपालिकाले आइतबार आगामी आर्थिक वर्षका लागि अनुमानित ७६ करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ ।