नेपालमा मनसुनी प्रणाली देशभर फैलिइसकेकाले यस वर्षको मनसुन सुरु भइसकेको छ । नेपालमा सक्रिय हुने गृष्मकालीन मनसुनले अत्यधिक वर्षा गराउँछ । सामान्यतयाः असार–साउनलाई मनसुन बढी सक्रिय भएर धेरै वर्षा हुने मुख्य समय मान्ने गरिएको छ । तर, नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्ष एक दिन ढिला अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) मनसुन भित्रिएको थियो । पूर्वी नेपालबाट भित्रिएको मनसुनी प्रणाली शुक्रबारदेखि देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सरदर मितिभन्दा एक दिन ढिला नेपाल प्रवेश गरेको मनसुन ९ दिनपछि देशभर फैलिएको हो । देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेकाले आगामी तीन दिनसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । देशका ७ प्रदेशमध्ये मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ ।
बंगालको खाडीबाट सुरु भई नेपालको पूर्वी भागबाट प्रवेश गर्ने गृष्मकालीन मनसुनले झण्डै १ सय १० दिनसम्म मुलुकका सम्पूर्ण भू–भागमा वर्षा गराउने गर्छ । अत्यधिक वर्षाका कारण मनसुनको समयमा बाढी, पहिरो, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउनु आवश्यक छ । मनसुन भित्रिएको केही दिनमै पूर्वी नेपालमा परेको अविरल वर्षाले ताप्लेजुङ, पाँचथर र संखुवासभा जिल्लामा ठूलो क्षति गरेको छ । असार महिनाको पहिलो सातामै बाढीपहिरोबाट १० जनाको मृत्यु र २६ जना बेपत्ता भएका छन् । असार २ गते रातिदेखिको अविरल वर्षा, बाढी र पहिरोका कारण १० उत्पन्न भएका विपदका घटनामा १० जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका थिए । सोही घटनामा २६ जना बेपत्ता र ५४ घर पूर्णरुपमा क्षति भएको थियो । वर्षासँगै पूर्वी नेपालका विभिन्न खोलामा आएका बाढीले पक्की पुलहरु बगाएपछि ताप्लेजुङ र पाँचथरबीच यातायात अवरुद्ध एको थियो । बाढीले केही जलविद्युत् आयोजनाहरुमा पनि क्षति पुगेको छ ।
समयमै मनसुन सुरु हुँदा किसानको जीवनमा खुशीयाली ल्याउँछ । मनसुन सुरु हुँदा किसानहरु जति हर्षित हुन्छन्, मनसुनसँगै आउने बाढी, पहिरो, डुबान तथा कटानका कारण धेरै नेपालीमा डर र त्रास पनि उब्जन्छ । त्यतिमात्र होइन, मनसुनसँगै विभिन्न रोगको संक्रमण पनि बढ्दछ । मुलुकको खेतीयोग्य जमिनको आधा भागमा पनि सिंचाई सुविधा पुर्याउन नसकिएका कारण अधिकांश नेपाली कृषक खेतीपातीका लागि आकाशे पानीमै भर पर्नुपर्ने अवस्था छ । यसकारण मनसुनको विशेष महत्व छ । असारको पहिलो हप्ताबाटै गृष्मकालीन मनसुन नेपाल प्रवेश गरेको हुँदा देशका विभिन्न भागमा वर्षा भइरहेको छ । मुलुकको पहाडी क्षेत्रमा कमजोर भूधरातल भएका कारण पहिरोको जोखिम बढी हुने गर्दछ । पहाडी क्षेत्रमा विकासका संरचना निर्माण गर्दा भौगर्भिक अध्ययन नर्दा त्यसले ठूलो जोखिम बढाइरहेको छ । सडक, पुल, जलविद्युत्, सिंचाईलगायत पूर्वाधार निर्माण गर्ने क्रममा पर्याप्त अध्ययनबिना जथाभावी अवैज्ञानिकरुपमा जमिन खल्बल्याइँंदा र वन विनाश गरिँदा भूक्षयको जोखिम बढाएको छ । वर्षासँगै आउने बाढी–पहिरोले जमिन बगाउने, भत्काउने र बस्ती नै सखाप पार्ने समस्या बारम्बार भोग्नुपरेको छ ।
कमजोर भौगोलिक धरातलका कारण वर्षाको समयमा बाढी, पहिरोले प्रभाव पार्नु स्वभाविक हो । तर, असुरक्षित बसोबास, अव्यवस्थित खेती प्रणाली, अनियन्त्रित वन विनाश, भूमिको जथाभावी उपयोग, अवैज्ञानिक विकास निर्माणका कार्यजस्ता मानवीय कमजोरीकै कारणले पनि भूक्षय तथा बाढी, पहिरोको जोखिम बढ्दो छ । बाढी, पहिरोले पहाडी क्षेत्रका खेतीयोग्य जमिन र गाउँबस्ती पुर्ने तथा बगाउने गर्दा बर्षेनि थुपै्रले घरबारविहीन हुनुपर्छ । पहाडका खोला, नदी बग्दै तराईमा पुग्ने भएकाले पहाडमा बाढी, पहिरो आउँदा तराईमा डुबान र कटानको समस्या निम्तन्छ । मनसुनी प्रकोपबाट बच्न प्रकृतिमाथि मानिसले गर्ने अवैज्ञानिक क्रियाकलाप नियन्त्रणसँगै सम्भाव्य मनसुनी प्रकोपको पूर्वानुमान गरेर सावधानी अपनाउन सकेमा यस्ता प्रकोपका कारण हुने क्षति कम गर्न सकिन्छ ।