हेटौंडाः लकडाउनका कारण विद्यालयहरू बन्द छन् । वार्षिक परीक्षा सकिएलगत्तै सुरु भएको लकडाउनका कारण पूर्ववत् रुपमा नतिजा प्रकाशनमा समस्या भएपछि नतिजा प्रकाशनका लागि सकी–नसकी विद्यालयहरूले अहिले डिजिटल प्रविधि रोज्न थालेका छन् । मकवानपुरका अधिकांश विद्यालयहरूले अहिले सामाजिक सञ्जालका माध्यमबाट वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिरहेका छन् । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले नतीजा प्रकाशन गर्न भनेसँगै विद्यालयहरुले नतिजा प्रकाशनमा उत्साह देखाएका छन् ।

हेटौंडा उपमहागरपालिका वडा नम्बर १८ हर्नामाडीमा रहेको ज्योति माविले सबैभन्दा पहिला सामाजिक सञ्जाल फेसबुकमार्फत वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको सूचना निकाल्यो । विद्यालयले उतीर्ण अनुतीर्ण विद्यार्थीको नामभन्दा पनि रिजल्ट निस्किएको जानकारी दिँदै सम्बन्धित शिक्षकसँग सम्पर्क गर्न विद्यार्थी र अभिभावकलाई सम्पर्क नम्बरसहित अनुरोध गर्‍यो । त्यसपछि हेटौंडा अन्य विद्यालयहरूको धमाधम समाजिक सञ्जालका माध्यमबाट नतिजा प्रकाशनको लहर चल्न सुरु गर्‍यो । अहिले हेटौंडा ६ चौघडामा रहेको वंशगोपाल मावि, कर्रामा रहेको श्रमिक मावि, भुटनदेवी मावि, बस्तीपुरको निर्मल मावि, पदमपोखरीको महेन्द्र मावि, र बुद्ध मावि, मयुरधापको जनज्योति मावि, हटियाको जनप्रिय माविलगायतका अधिकांश विद्यालयले सामाजिक सञ्जालबाट नतिजा प्रकाशन गरिसकेका छन् ।

कतिपय विद्यालयले विद्यालयकै फेसबुकपेजमा विद्यार्थीको नामावलीसहित नतिजा प्रकाशन गरेका छन् भने कतिपयले नतिजा प्रकाशन भएको जानकारीसहित सम्बन्धित कक्षा शिक्षकको सम्पर्क नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन् । आधुनिक मावि, प्रगति मावि, जिएस निकेतनलगायतका कतिपय विद्यालयहरूले आफ्नो वेबसाइड निर्माण गरेर नतिजा प्रकाशन गरिरहेका छन् । जीएस निकेनले वेबसाइडबाट रिजल्ट प्रकाशन गरिसकेको छ भने आधुनिक र प्रगति माविले पनि वेब पेज निर्माण गरिसकेका छन् र नतिजा प्रकाशनको अन्तिम तयारी गर्दै छन् । प्रगति माविले हेटौंडा ९ ले बुधबार कक्षा नर्सरीदेखि ५ सम्मको नतिजा स्कुलको वेबपेजमा प्रकाशन गरेको छ भने कक्षा ६ देखि ८ बाहेक ९ सम्मको एकदुई दिनभित्रमा प्रकाशनको तयारी गरेको प्रधानाध्यापक निरन्जन ढकालले जानकारी दिनुभयो ।

सिद्धार्थ माविले भने पुरानै तरिकाबाट नतिजा प्रकाशन गर्न लागेको छ । एकदुई ओटामात्र कक्षाको नतिजा प्रकाशन गर्ने र थोरै थोरै अभिभावकलाई बोलाएर नतिजा जानकारी गराउने सहायक प्रधानाध्यापक गणेश हुमागाइँले जानकारी दिनुभयो । हेटौंडा–१५ मा रहेको चुरियामाई माविले पनि अनलाइन तथा अभिभावककै सानो समूह उपस्थित गराएर रिजल्ट निकाल्ने तयारी गरिरहेको सहायक प्रधानाध्यापक देवराज शर्माले बताउनुभयो ।

कक्षा ८ को परीक्षाको नतिजा भने स्थानीय तहले प्रकाशन गर्ने हुनाले विद्यालयले उत्तरपुस्तिका परीक्षण गरी प्राप्ताङ्क हेटौंडा उपमहानगरपालिकामा पठाइसकेका छन् । विद्यालयमा कहिलेबाट पठनपाठन सुरु हुने भन्ने कुरा भने टुङ्गो लाग्न नसके पनि नतिजा प्रकाशन र अन्य आन्तरिक तयारीमा विद्यालयका शिक्षक जुटेका छन् । केही विद्यालयहरूले अनलाइन कक्षा समेत सुरु गरेका छन् ।